कारोबार रकम तलमाथि परेको छैन : नेप्से

 कात्तिक २६, २०७५ सोमबार १६:३५:३८ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जले कारोबार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । 

कारोबार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालकोमा देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो आएपछि नेप्सेले आज एक विज्ञप्तिमार्फत् कारोबारमा फरक नपरेको जानकारी गराएको हो । नेप्सेले अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रणाली जडान गरी प्रचलनमा ल्याएको र त्यस्तो प्रणाली जडान गर्दा केही दुविधा उत्पन्न हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ । 

नयाँ कारोबार प्रणाली स्थापनापछि पनि बजार परिसूचक विधिमा परिवर्तन नगरिएको र त्यस सम्बन्धमा कुनै दुविधा नभएको नेप्सेले जनाएको छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले सामाना गरेको मुख्य समस्या कारोवारको विवरणको अवस्था थियो । त्यो समस्या कारोबार प्रणालीसँग नभई कारोबारको विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या रहेको नेप्सेले जनाएको छ । 

कारोबार प्रणाली र वेबसाइट छुट्टाछुट्टै ‘डेटा सेन्टर’मा सञ्चालन हुने भएकाले प्रसारण गर्दा केही समस्या आएको भन्दै त्यो समस्या हाल समाधान गरिएको नेप्सेले स्पष्ट पारेको छ । 

नेप्सेले कात्तिक २० गतेदेखि अनलाइनमा आधारित पूर्ण स्वचालित प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा आएपछि कारोबार रकम तथा तथ्याङ्क हेर्न समस्या देखिँदै आएको थियो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया