अछाममा जामाको जात्रा सुरु

 कात्तिक २६, २०७५ सोमबार १८:८:६ | चन्द्र थापा
unn.prixa.net

अछाम – लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ ।

कात्तिक शुक्ल पञ्चमीदेखि चत्र्रुदशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारने गरिन्छ ।

अछामको कमलबजार नगरपालिका–७, जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको स्थानीय जानकारहरु बताउँछन् । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताले धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झंकरे ढोलीले बताउनुभयो ।

यसवर्ष तिथिको घटबढको कारण मंसर ५ गते खला नाच्ने र ६ गते केदार माडुँमा हुम गरिने पूजारी मनिराम खतिवडाले जानकारी दिनुभयो । डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलाली समेतबाट दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।

अछाम जिल्लामा १० दिनसम्म लाग्ने एकमात्र ऐतिहासिक महत्वको केदारनाथ मेलाको यस क्षेत्रमा महत्व थप बढ्दै गएको स्थानीयले बताएका छन । केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मीक एवम ऐतिहासिक विश्वास रहिआएको केदारनाथका मुल धामी इन्द्रे कामीले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचारपसार गरी पर्यटकलाई आर्कषण गर्न सके यस क्षेत्रको विकासले समेत गति लिन सक्ने भन्दै यसतर्फ स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने स्थानीय भीम खतिवडाको भनाई छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया