सद्भावको ठूलो पर्व छठ

 कात्तिक २७, २०७५ मंगलबार १३:५:५९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – मिथिलाञ्चललगायत देशैभर आज छठपर्व धुमधामसँग मनार्इंदै छ । चारदिनसम्म चल्ने छठपर्वको आज तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने छ भने भोलि चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको समापन हुन्छ । पहिले पहिले तराई मधेशमा मधेशी समुदायले मात्र मनाउने छठ पर्वप्रति पछिल्ला वर्षहरुमा अन्य समुदायको पनि आकर्षण बढेको छ ।

महोत्तरी बर्दिबास नगरपालिका १ की मिना रायमाझी पहाडी समुदायकी भए पनि परिवारिक सुखशान्तिको लागि उहाँले छठ पर्व मनाउन थालेको ३२ वर्ष भैसकेको छ । पहिला पहिला यस क्षेत्रमा आफू जस्तै एक दुईजना पहाडी समुदायका महिलाले मात्र छठपर्व गर्दा उहाँलाई छठ मधेसी समुदायको मात्रै हो कि जस्तो लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । तर केही वर्ष यता धेरै पहाडी समुदायले समेत छठ पर्व मनाउन थालेकाले यसले आपसी सदभाव बढाएको उहाँको बुझाई छ ।

‘परिवार र सन्तानको सुख समृद्धि र आत्म शान्तिका लागि चिताएको मनोकामना पूराभएपछि छठ पर्व मनाउन थालेको ३२ वर्ष भइसक्यो,’ तामाङले भन्नुभयो ‘सुरु सुरुमा छठ पर्व गर्दा यहाँ एक दुईजना मात्र पहाडी समुदायका थियौं ।’

छठ गर्न घाटमा जाँदा छठ त मधेशी समुदायको पर्व मात्र हो भनेर आफ्नो समुदायले भन्ने गरेको उहाँ बताउनुहुन्छ । केही वर्षदेखि भने धेरै जसो पहाडी समुदायले पनि छठ गर्न थालेको उहाँले देख्नुभएको छ ।  

३२ वर्ष अघि र अहिले धेरै फरक आएको तामाङको अनुभव छ । अहिले त म जस्ता अधिकांस पहाडी समुदायका व्यक्ति मधेशी समुदायका व्यक्तिसँगै मिलेर एउटै किनारमा छठ पर्व गरिरहेका छन् । अहिले त निकै रामाइलो र खुसी लागेको भन्दै उहाँले यसले आपसी भाईचाराको सम्बन्धलाई थप बलियो बनाएको विश्वास गर्नुहुन्छ ।

पहिले पनि जनकपुरमा पहाडी समुदायले छठपर्व नगरेका भने होइनन् । तर पछि आएर मधेश आन्दोलन र अन्य कारणले यहाँका केही पहाडी समुदाय बाहिर बसाई सरेपछि आहिले थोरै संख्यामा भए पनि सँगसँगै मिलेर एकठाउँमै छठ मनाउने गरेको जनकपुर उपमहानगरपालिका १ का राजेशप्रसाद सिंह बताउनुहुन्छ ।

विगत २५ वर्षदेखि जनकपुरको गंगासागरको उत्तरी किनारमा छठ पर्व गर्दै आउनु भएका सिंहले भन्नुभयो ‘संख्यात्मक हिसाबमा पहाडी समुदाय थोरैले छठ गरेपनि एकै ठाउँबसेर छठ पर्व गर्नुको सद्भाव नै बेग्लै छ ।’ यसले आपसी सदभावलाई थप मजवुत बनाएको उहाँ बताउनुहुन्छ ।

अरु समुदाय समेतको छठपर्वमा आकर्षण बढेपछि छठको महत्व अझै विस्तार भएको छ । छठपर्वलाई आपसी भाईचारा, सहिष्णुता र सदभावलाई बलियो बनाउने पर्वको रुपमा लिने गरिन्छ । त्यसैले पछिल्लो वर्षहरुमा छठपर्व झनै रौनक बन्दै गइरहेको सिंह बताउनुहुन्छ । 

छठ पर्वले एकआपसको समुदायका बिचमा पारस्परिक सद्भाव, सहिष्णुता र सिंगै समाजलाई एकताको सूत्रमा गाँस्न ठूलो भूमिका खेलेको जनकपुरका पत्रकार शन्तबहादुर क्षेत्रीको अनुभव छ ।

विशेष गरी मधेशी समुदायको पर्व भएता पनि यस पर्वमा पहाडी समुदाय लगायत अन्य समुदाय पनि सरिक हुनेहुँदा विभिन्न समुदायले एकअर्काको धर्म, संस्कृति र परम्परालाई स्वीकार गर्ने, सम्मान गर्ने संदेश छठपर्वले दिएको उहाँ बताउनुहुन्छ । सूर्य र पानी विना सृष्टिको कल्पना समेत गर्न नसकिने हुनाले यी दुईकुराको पूजा समेत छठपर्वमा हुने भएकाले यो पर्वको ठूलो महत्व रहेको उहाँको धारणा छ । 

छठ पर्वमा जस्तो उदारता र समावेशिताको अनौठो उदाहरण अन्य पर्वमा पाउन दुर्लभ रहेको साहित्यकार एवं मैथिली संस्कृतिविद् डा. राजेन्द्र विमल बताउनुहुन्छ । 

‘छठपर्वमा उच्चकोटीको मानिने व्राह्मण र तल्लो जात भन्ने गरिएकाको पनि छठ घाट संगै हुनसक्छ, टाँसिएरै रहेको हुन्छ,’ उहाँले भन्नुभयो, ‘चढाएको प्रसाद एकआपसमा वितरण गरेर खाने पनि गरिन्छ ।’ छठ घाटमा कुनै छुवाछुतको कुरै  नहुने भन्दै उहाँले त्यो प्रसादको रुपमा ग्रहण गरिने बताउनुभयो । त्यसैले छठपर्वलाई सहअस्तित्व, समावेशीता र मानवतावादी पर्वको रुपमा लिने गरिएको विमल बताउनुहुन्छ ।

यसरी मनाइन्छ छठ 

यस वर्षको छठपर्व आइतबारदेखि सुरु भएको हो । छठको मुख्य दिन आज मंगलबार साँझ अस्ताउँदो सूर्यको अर्घ्य दिँइदैछ ।

चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

छठ पर्वमा बाँस बाट बनाइएको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक बनाउनुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा पनि लिने गरिन्छ ।

उदाउँदाे सूर्यलाई अर्घ्य रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर खुवाउनुको साथै घरमा समेत पुर्‍याइदिने मिथिलाञ्चलमा प्रचलन रहि आएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया