छठको मुख्य दिन : साँझको अर्घ्य दिइयो

 कात्तिक २७, २०७५ मंगलबार १८:१६:१२ | धनवीर महतो

महोत्तरी – छठ पर्वको तेस्राे दिन आज साँझ अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सन्ध्या अर्घ्य दिएका छन् । 

महोत्तरीको गौशाला, जलेश्वर, बर्दिवाससहित ग्रामिण भेगमा रहेको इनार, पोखरी, नदीसहितका जलाशयको घाटमा मंगलबार साँझ अस्ताउदो सूर्यलाई एकसाथ अर्घ्य दिएका हुन् ।

सामाजिक पर्वको रुपमा परिचित रहेको यसपर्वमा घाट बेहुलीझैँ सिँगारिएका छन । कतिपय ठाउँमा रातभरि नै जाग्राम बस्ने भएकोले मनोरञ्जनको लागि नाच, नौटंकीको समेत व्यवस्था मिलाइएको छ । त्यस्तै घाटमा बत्ती, टेन्ट, पण्डालको समेत व्यवस्था गरिएकोले स्थानीयहरु रातभरि नै पूजास्थलमै बस्ने भएका छन् ।

छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा अनुसार अर्घ्य दिइएको हो । तराईमा यस विधिलाई साँझको अर्घ्य अर्थात ‘सझुका अर्घ्य’ भनिन्छ ।

पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । 

बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अर्घ्य’ भनिन्छ ।

आइतबारबाट विधिवत रुपमा सुरु भएको छठ पर्वको दोश्रो दिन ‘खरना’ विधि गरिएको थियो । जनकपुरधामसहित देशभरि भव्यतापूर्वक मनाइने छठ पर्वको दोश्रो व्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई ‘खरना’ भन्ने गरिन्छ ।

अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधाममा जोडतोडका मनाइरहेको छन् । भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ ।

त्यस्तै छठको अन्तिम दिन अर्थात भोलि एकाबिहानै उदाउदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको समापन गरिने भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया