इंग्ल्याण्ड र चेल्सीका पूर्व मिडफिल्डर जो कोलकाे फुटबलबाट सन्यास लिने घोषणा

 कात्तिक २७, २०७५ मंगलबार १९:२२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्ड र चेल्सीका पूर्व मिडफिल्डर जो कोलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 

इंग्लिस क्लब वेष्टह्यामको युथ एकेडेमीका उत्पादन कोलले आफ्नो करिअरमा वेष्टह्याम र चेल्सीबाहेक लिभरपुल, लिली, एष्टन भिल्ला, कोभेन्ट्री सिटी र अमेरिकी युनाइेड सकर लिग क्लब ताम्पा बे रोडिजबाट पनि खेले ।

३७ वर्षीय कोलले सन् २००१ देखि २०१० सम्म इंग्लिस राष्ट्रिय टोलीबाट ५६ खेलमा १० गोल गरेका छन् । 

सन्यासको घोषणापछि कोलले फुटबल करिअरमा आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘मेरो जीवनको पछिल्लो २० वर्षजस्तै आगामी २० वर्ष पनि बित्नेमा आशावादी छु ।’

कोलले १७ वर्षको उमेरमा वेष्टह्यामबाट डेब्यु गरेका थिए । त्यसको चार वर्षपछि उनी टिमको कप्तान बनेका थिए । 

सन् २००३ मा चेल्सीमा अनुबन्ध भएयता उनले तीन पटक प्रिमियर लिग र २ पटक एफए कपको उपाधि जितेका थिए भने सन् २००७-०८ को सिजनको च्याम्पियन्स लिगमा फाइनलमा पुगेका थिए । त्यस्तै उनले चेल्सीमा रहँदा लिग कप र कम्युनिटी शिल्डको पनि उपाधि जितेका थिए। 

स्टाम्फोर्ड ब्रिजमा सात सिजन बिताउँदा उनले चेल्सीका लागि सबै प्रतियोगितामा गरी २८० भन्दा बढी खेल खेलेका छन् । 

‘चेल्सीमा रहँदा जितेको ट्रफी मेरो खेल जीवनकै सबैभन्दा विशेष पल हो,’ कोलले भने, ‘ती यादहरु सधैं मसँगै रहनेछन् ।’

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया