मन्त्रिपरिषद बैठक : सबै निर्णय बाहिरिसकेपछि केका लागि औपचारिकता ?

 कात्तिक २७, २०७५ मंगलबार १९:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आइतबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १६ वटा निर्णय गर्‍यो । तर बैठकको निर्णयबारे भने सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले कुनै जानकारी नै दिनुभएन । 

बैठक सकेर बाहिरिँदै प्रवक्ता बास्कोटाले अबदेखि बैठकलगत्तै निर्णय सार्वजनिक नगरी व्यवस्थित र नयाँ विधिसहित सार्वजनिक गरिने प्रचलन स्थापित गर्ने बताउनुभएको थियो ।  

बैठक लगत्तै सार्वजनिक गर्दा कतिपय निर्णयहरु विवादमा परेको र ती निर्णय लागू नहुने अवस्था आएकाले अबदेखि बैठकको निर्णय केही दिनपछि मात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उहाँले बताउनुभएको थियो । 

बैठकको निर्णय परिपक्व नभएसम्म सार्वजनिक नगर्ने नीति लिइएकाले बैठकका निर्णयहरुको  आधिकारिक जानकारी नदिइएको स्रोतले जनाएको छ ।

नेपाल सरकार (कार्य सम्पादन) नियमावलीमा बैठक बसेको २४ घण्टापछि मात्रै निर्णयहरु सार्वजनिक गर्ने कुरा उल्लेख रहेकाले त्यसैलाई व्यवस्थित गर्न निर्णयहरु सार्वजनिक नगरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताउनुभयो । 

तर नियमावलीमा भएको व्यवस्था बमोजिम २४ घण्टा नाघिसक्दा पनि त्यो बैठकको आधिकारिक जानकारी भने अझै गराइएको छैन । निर्णयका बारेमा औपचारिक जानकारी नदिई बाहिरिएका प्रवक्ता बास्कोटा घर नपुग्दै केही निर्णयहरुका बारेमा मिडियाहरुमा खबर सार्वजनिक भए । आजसम्ममा अधिकांश निर्णयहरु बाहिरिसकेको छ । तर औपचारिक निर्णय भने गराइएको छैन । 

औपचारिक निर्णय नगराइए पनि अनौपचारिक भन्दै मन्त्रीहरुले नै निर्णयहरु सार्वजनिक गरे । बैठकका अधिकांश निर्णय बाहिरिसकेको अवस्थामा औपचारिक निर्णय कुरेर बस्नुको औचित्य अब के रह्यो र ? 

नेपाल पत्रकार महासंघले मन्त्रिपरिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनायो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया