जमुनाह–सुर्खेत–हिल्सा फाष्ट ट्रयाकको प्रारम्भिक सर्वे सुरु

 कात्तिक २७, २०७५ मंगलबार १९:२८:९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले पहिलो प्राथमिकतामा रहेको जमुनाह–सुर्खेत–हिल्सा फाष्ट ट्रयाकको प्रारम्भिक सर्वे सुरु भएको छ ।

मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चिनियाँ रेलवे कम्पनीको इञ्जिनियरको टोली हिल्सा पुगेको थियो । जमुनाह–सुर्खेत–हिल्सा जोड्ने सडकको प्रारम्भिक सर्वेका लागि चीनको सिचुवाङ्ग प्रान्तको रेलवे कम्पनीसँग कर्णाली प्रदेश सरकारले सम्झौता गरेको छ ।

त्यसै सम्झौता अनुसार चीनको सिचुवाङ्ग प्रान्तको रेलवे कम्पनीको इञ्जिनियर टोलीले जमुनाहदेखि हिल्सासम्म हेलिकप्टर मार्फत प्रारम्भिक सर्वे गरेको हो । जमुनाह–हिल्सा फाष्ट ट्रयाकको सर्वेका लागि रेलवे कम्पनीका इञ्जिनियर, विज्ञसहित १३ जनाको टोलीले अब ६ महिनासम्म सम्भव्ययता अध्ययन गर्नेछ ।

मंगलबार पहिलो पटक प्राविधिक टोलीसहित प्रदेश सरकारले हेलिकप्टर मार्फत सर्वे गरिएको र अब प्राविधिक टोलीले स्थलगत अध्ययन गर्ने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । उहाँले भोलीदेखि नैै स्थलगत अध्ययन गर्ने  बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा जमुनाह–हिल्सा फाष्ट ट्रयाकलाई प्राथमिकता दिएको र यसको काम अगाडि बढाउन पूर्व सम्भाव्यता अध्ययनको काम सुरु गरिएको मन्त्री रावलको भनाई छ ।

‘यो फाष्ट ट्रयाक हाम्रो मात्र प्राथमिकतामा नभएर चीनको पनि प्राथमिकतामा परेको छ । मानसरोबर कैलाशसम्म जाने पर्यटकीय गन्तव्य भएकाले पनि यसमा चीनको चासो पनि रहेको छ’, सामाजिक विकास मन्त्री रावलले भन्नुभयो, ‘प्राविधिक टोलीले अबको ६ महिनाभित्र सर्वे गरिसकेपछि प्रतिवेदन हामीलाई बुझाउँछ र हामी यसको काम अगाडि बढाउँछौँ ।’

जमुनाह–सुर्खेत–हिल्सा फाष्ट ट्रयाकको प्रारम्भिक सर्वे सुरुको पहिलो दिन मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार मन्त्री खड्क खत्री, सामाजिक विकास मन्त्री दलरावल र नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीसहित चीनका इञ्जिनियरको टोलीको सहभागिता रहेको थियो  । टोली हिल्सा पुगेर वीरेन्द्रनगर फर्किसकेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया