इलाममा तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्न , २० लाख बराबरको कारोबार

 कात्तिक २७, २०७५ मंगलबार १९:५८:३९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा आयोजित तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । 

जिल्लाको देउमाई नगरपालिका वडा नम्बर ७, साविक सिद्धिथुम्कामा गएको कार्तिक २५ गतेबाट सुरु भएको महोत्सवमा तीनै दिन छुट्टाछुट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । 

पर्यटन प्रवर्द्धनलाई दिगो बनाउने उद्धेश्य सहित आयोजना गरिएको तीन दिने महोत्सवमा करिब २० लाखको कारोबार भएको महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागार्इंले जानकारी दिनुभयो । 

उहाँका अनुसार, महोत्सवमा विभिन्न २० वटा स्टलहरु राखिएका थिए । ती स्टलमा पूजा सामग्री, कृषि सामग्री, स्थानीय उत्पादनमा आधारित विभिन्न खाद्य परिकारहरु र ऐतिहासिक महत्वका विभिन्न सजावटका सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । 

यस्तै महोत्सवका अवसरमा बाह्य र आन्तरिक गरी दुई हजार पाँच सय पर्यटकले महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गरे । यसका साथै पर्यटकहरुले विभिन्न जातजातिका जातीय परिकारको स्वाद समेत लिए । 

छिमेकी देश भारतका विभिन्न स्थान, छिमेकी जिल्लाहरु झापा, मोरङ्ग, पाँचथर, इलाम जिल्लाका विभिन्न स्थान र काठमाडाैंका पर्यटकहरु महोत्सवमा सहभागी भएको बताइएको छ ।  

महोत्सवमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि सिद्धिथुम्का चुली पुग्ने र दृश्यावलोकन गर्ने साथै स्थानीयस्तरका अन्य पर्यटकीयस्थल घुम्ने व्यवस्था मिलाइएको थियो । 

यस्तै सिद्धिथुम्काको मुख्य आकर्षण समुद्री सतहबाट एक हजार छ सय ९३ मिटरको उचाईमा रहेको सिद्धिथुम्का चुलीबाट सूर्योदय, सूर्यास्तको दृश्य देखिनुका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खला पनि देख्न सकिने चुलीमा पनि पर्यटकको भीड लागेको थियो । 

चुलीबाट इलामका सबै भाग, झापा, सुनसरी, मोरङ, धनकुटा र पाँचथर जिल्ला सहित भारतीय क्षेत्रका पनि केही भागको समेत दृश्यावलोकन गर्न सकिन्छ । 

यसबाहेक महोत्सवमा पुगेका पर्यटकले सिद्धिदेवीस्थान, खान्द्रुङ गुफा, गुफाभित्र रहेका ५० मिटरभन्दा बढी लम्बाईका पाँच वटा सुरुङहरु, अजम्बरे डाँडा, देवीथुम्का डाँडा, ५० मिटरजति अग्लो दुईतले पङ्खेलुङ झरना, पाल्सेम डुब्लिङ गुम्बा, किराँतेश्वर शिवालय मन्दिर लगायतको अवलोकन गरे ।

पर्यटन प्रवर्द्धन दिगो बनाउने लक्ष्यका साथ वि.सं. २०६५ सालबाट सुरु गरिएको सिद्धिथुम्का पर्यटन महोत्सवको यो तेस्रो संस्करण भएको आयोजकले बताएका छन् ।  


 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया