पर्यटन प्रवर्द्धनमा चीनको चासो, चीनमा नेपाली जहाज लैजान सकारात्मक

 कात्तिक २८, २०७५ बुधबार ६:१४:५३ | रासस

काठमाडौं - नेपालको पर्यटन प्रवर्द्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ । 

नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहनुभएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङ्गेङले पर्यटकीय पूर्वाधार बनाएर सघाउने बताउनुभएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा चिनियाँ पर्यटनमन्त्री लुले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ सहयोग अभिवृद्धिबारे चासो व्यक्त गर्नुभएको थियो । 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालको पर्यटन प्रवद्र्धनमा चीनले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न दुवै पक्षले अपनाउने रणनीतिबारे छलफल भएको बताउनुभयो । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । 

पर्यटन मन्त्रालको ‘नेपाल टुरिजम स्टाटिटिक्स–२०१७’ का अनुसार एक लाख ४६ हजार ६४ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा एक लाख चार हजार, सन् २०१५ मा ७७ हजार ९८४,सन् २०१४ मा एक लाख २३ हजार ८०५ र सन् २०१३ मा एक लाख १३ हजार १७३ चिनियाँ पर्यटक नेपाल आए । 

नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ को नौ महीनामा एक लाख २१ हजार ३७८ चिनियाँ पर्यटक आएका छन् । सोही अवधिमा सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डले पनि चिनियाँ भाषामा वेबसाइट बनाएर प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डको अभियानलाई मन्त्री लुले प्रशंसासमेत गर्नुभयो ।     

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनलाई पर्यटनको मुख्य स्रोत बजारका रुपमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउने र चिनियाँ पर्यटन बढीभन्दा बढी आउने वातावरण सिर्जना गर्ने सन्दर्भमा आवश्यक चिनियाँ भाषा र अरु प्रवद्र्धनका कामलाई प्रभावकारीरुपमा अघि बढाउनेबारे सहमति भएको पर्यटनमन्त्री अधिकारीले जानकारी दिनुभयो । 

“पर्यटन प्रवद्र्धनमा खास काम गर्ने, भ्रमण वर्षलाई सफल बनाउने सँगसँगै सन् २०३० सम्म एक दशकसम्म प्रवद्र्धनका गतिविधिलाई निरन्तरता दिनेबारे छलफल भएको छ”, उहाँले भन्नुभयो । 

विश्व सम्पदामा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनःनिर्माणमा चिनियाँ सहयोग अभिवृद्धि तथा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार नुवाकोट दरबार निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ । 

भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनःनिर्माणले गति लिई सातवटै सम्पदा क्षेत्र खुला भएकामा खुशी व्यक्त गर्दै मन्त्री अधिकारीले एक वर्षभित्र बाँकी पुनःनिर्माणको काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यसमा चिनियाँ सहयोगको प्रतिबद्धता आएको छ । 

चीनमा नेपाली जहाज लैजान सकारात्मक 

भेटका क्रममा नेपाली वायुसेवालाई चिनियाँ भूमिका सहजरुपमा प्रवेशका लागि सहजीकरण गर्ने सम्बन्धमा पनि दुई पक्षीय सकारात्मक कुराकानी भएको छ । 

पर्यटनमन्त्री अधिकारीका अनुसार नेपाली जहाज चिनियाँ भूमिमा जाने सन्दर्भमा आफ्नो विभागीय मन्त्रालय नभए पनि सहजीकरणका लागि जोडदार कुरा उठाउने चिनियाँ पर्यटनमन्त्रीले वचन दिनुभएको छ । 

उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन निर्माणाधीन पूर्वाधारको काम छिटोभन्दा छिटो सम्पन्न गर्न पनि चिनियाँ पर्यटनमन्त्रीले चासो जनाउनुभएको थियो । भ्रमणले दुई देशको सम्बन्धलाई प्रगाढ तुल्याउनका साथै दुईवटा मन्त्रालयबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाएर परिणाममुखी काम गर्न आपसी सहकार्यका साथ पारस्परिक लाभका विषयलाई अघि बढाउने समझदारी बनेको मन्त्री अधिकारीको भनाइ छ । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको दुई नयाँ वाइड बडी विमानले चीनका विभिन्न शहरमा उडान गर्न पाउने अपेक्षा गरिएको छ । यसले नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि हुनुका साथै चीन र नेपालको आवागमनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिइएको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । 

भ्रमणमा सहभागी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपालबाट चीन जाने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई कसरी सहजरुपमा प्रवेश गराउने भन्नेबारे चिनियाँ पर्यटनमन्त्रीले पहल गर्ने आश्वासन दिनुभएको जानकारी दिनुभयो । 

चिनियाँ महोत्सवमा सहभागी हुन मन्त्री लुको प्रतिनिधिमण्डल नेपाल आएको हो । मन्त्रिस्तरीय छलफलमा आपसी सहयोग द्विपक्षीय सम्बन्ध तथा विगतका भएका सहयोगसम्बन्धी सम्झौताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको थियो । छलफलमा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, मन्त्रालय मातहत निकायका प्रमुख तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका पदाधिकारीको सहभागिता थियो । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया