तपाईंलाई मधुमेह छ ? त्यसो भए बेलुकाको खाना चाख्नुहोस् मात्रै

 कात्तिक २८, २०७५ बुधबार १०:२८:७ | डा. अलर्क देवकोटा
unn.prixa.net

चिनी खाँदैमा मधुमेह अर्थात चिनी रोग लाग्ने होइन । धेरैको बुझाई चिनी धेरै खाएर लाग्छ भन्ने छ, त्यो धारण गलत हो । सबैभन्दा पहिले त्यो धारणा हटाउनु पर्छ । रगतमा सुगर बन्ने पदार्थ सबैको हुन्छ । यदि चाहिनेभन्दा बढी छ भने कोष भित्र शरीरमा पठाईदिन्छ । इन्सुलिनको माध्यमबाट कोषमा जान्छ । र रगत नाप्दा एउटै लेबलमा आउछ । जब यो गर्न सकिंदैन, त्यसपछि सुगर बढ्दै जान्छ अनि मधुमेह भनिन्छ । 

खाली पेटमा सुगर सयभन्दा कम सधैँ हुनै पर्छ  । खाना खाई सकेपछि एकसय ४० भन्दा कम हुनैपर्छ । यो हाम्रो शरीरले आफैंले ‘मेन्टेन गर्नुपर्छ’ । १२६ भन्दा बढी भयो भने सुगर भएको भनेर बुझ्नुपर्छ । 

शरीरको रगतमा सुगरको मात्रा धेरै गराउने मेटाबोलिक रोगलाई डायबेटिज अर्थात मधुमेह भनिन्छ । यस्तो हुनुमा शरीरमा पर्याप्त ईन्सुलिनको मात्रा उत्पादन नहुनु या शरीरका कोषले ईन्सुलिनप्रति उचित प्रतिक्रिया नदेखाउनु या दुवै कारण हुनसक्छ । मधुमेह धेरै प्रकारको हुने भए पनि धेरैमा देखिने भनेको ‘टाइप टु’ नै हो । यो ४० वर्षभन्दा माथिका, मोटोपना भएका, बिलासी जीवन बिताउनेमा तथा वंशाणुगत रुपमा पनि सर्ने हुन्छ  । ९० प्रतिशतमा देखापर्ने भनेको ‘टाइप टु’ नै हो । 

‘टाइप वान’मा प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन उत्पादन गर्छ । त्यो शरीरले निकाल्न सकेन भने त्यो ‘टाइप वान’ डायबेटिज हो । त्यो बाहेक गर्भावस्थामा हुने डायबेटिज पनि हो । औषधीको कारण र अरु रोगको कारणले पनि डायबेटिज हुने गर्छ । 

छिटो छिटो पिसाब आउने, छिट्टै भोक लागिरहने, धेरै तिर्खा लाग्ने, अपत्यारिलो रूपमा तौल बढ्ने या घट्ने, अत्याधिक थकान महसुस भयो भने मधुमेहको समस्या भएको भनेर बुझ्नु पर्छ । कतिपयलाई खुट्टा झम्झमाउने, आँखा धमिलो हुने हुन्छ । कतिपयलाई हृदयघात भएर अस्पताल लगेपछि मात्रै थाहा हुन्छ । कतिपयको आँखाको ज्योति नै गुम्न सक्छ । 

त्यसैले नियमित जाँच गर्नुपर्छ । एकपटक ठीक छ भने कम्तिमा दुई वर्षमा सुगरको अवस्था के छ भनेर जाँच गर्नुपर्छ । अस्पताल गएर रगत जाँच गरेर मात्रै सुगर थाहा हुने होइन । त्यसको लागि त ८ घण्टाको खाली पेटमा जाँच गर्ने, त्यसपछि खाना खाएको २ घण्टामा जाँच गर्नु पर्छ । तीन  महिनापछि  ‘एचबीएवानसी’ जाँच गर्नुपर्छ, अनि मात्रै थाहा हुन्छ । 

मधुमेह हुने बित्तिकै केही पनि जटिलता आउँदैन । जब जटिलता आउँछ, त्यसपछि केही गर्न सकिंदैन । पहिला नै औषधी खाएन भने पछि गएर रक्तचाप, मृगौला ,मुटु, आँखामा  असर गर्ने हुन्छ । मधुमेह भएका व्यक्तिको शरीरमा बोसो र प्रोटिन टुक्रिने क्रिया पनि प्रभावित हुन्छ । मधुमेहले शरीरको हरेक अंगलाई असर पुर्याउँछ । 

लामो समयको मधुमेहले आँखालाई बढी असर गर्छ । चाँडै मोतिबिन्दु हुनु, रेटिनामा समस्या आउनु र अन्धोपना यसका उदाहरण हुन् । भविष्यमा मधुमेहले एकातिर रक्तचाप, मुटु दुख्ने र हृदयघात निम्त्याउँछ भने अर्कोतिर मृर्गौलाको कार्य क्षमतालाई असर गराउँछ । मधुमेहले मस्तिष्क र स्नायु प्रणालीमा असर गरी संवेदनाको कमी गराउने, रिंगटा लाग्ने, स्मरण शक्ति ह्रास र पक्षघात पनि गराउन सक्छ । त्यसैले पहिला नै खानपान, औषधी सेवनमा विचार पुर्याउनु पर्छ । 

मधुमेहका बिरामीले सकेसम्म मैदाले बनेको परिकार खानु हँुदैन । तारेको, फ्राई गरेको खानेकुरा पनि खान हुँदैन । सागपात, काँक्रो, गोलभेंडा, प्याज, लसुन, कागती, चना वा गहुँको पीठोको रोटी बढी फाइदाजनक हुन्छ ।  खाना खानुभन्दा अगाडि सलाद खाने गर्नु पर्छ । खाना खाएको दुई घण्टासम्म सुत्नु हुँदैन ।  बिहान खाँदा ठिकै खाने, बेलुका चाख्ने मात्रै गनु पर्छ ।  ठिक्क मात्रामा नरिवल, काजु जस्ता ड्राईफ्रुड्स, मासु, अण्डा खानुपर्छ । मधुमेह प्रभावित व्यक्तिले रक्तचाप, रगतमा चिनी, बोसो (कोलेस्टेरोल) र मिर्गौलाको काम गराईको नियमित परीक्षण गराउनु त अनिवार्य नै हुन्छ । त्योसँगै आँखा र मुटु परीक्षण गराउनुपर्छ ।

मधुमेह हुनै नदिनको लागि सबैभन्दा पहिला नियमित व्यायाम गर्नु पर्छ । मोटोपनामा नियन्त्रण गर्नुपर्छ  । बिहानको तुलनामा बेलुका खाना कम खानुपर्छ । चिल्लो, मैदाको परिकार, सूर्तिजन्य पदार्थ तथा जाँडरक्सी खान हुँदैन । पानी र सलाद धेरै खानुपर्छ । फाइबरयुक्त खानामा जोड दिनुपर्छ । 

पछिल्लो समय बिलासी जीवनकै कारण मधुमेहको समस्या बढेको हो । सामान्यतया ४० कटेपछि मधुमेह हुने गरेको शटाइप टु’ डाइबेटिज अहिले १२/१४ वर्षका बालबालिकामा पनि देखा परेको छ । किनभने मोटोपना र आलस्य बढेको छ भने व्यायामको कमी भएको छ । 

जंगफुडको अत्याधिक प्रयोग, मःम, चाउमिन, पिज्जा, बर्गर, कोल्ड ड्रिंक्सको सेवनले गर्दा नराम्रो असर देखा परेको छ । त्यसैले यस्तो कुरामा ध्यान दिनुपर्छ ।

(डा. देवकोटासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया