चिनियाँ मन्त्रीसँग प्रधानमन्त्रीले ओलीले भने : हामी एउटै हिमालको मूलको पानी खाएका छिमेकी हौँ

 कात्तिक २८, २०७५ बुधबार १४:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।

चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको बाटोमा हिँडेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ  । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ । त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौँ’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उहाँका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँ देखिको सम्बन्ध रहेको स्मरण गर्नु भएको छ । ‘हामी एउटै हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएका छिमेकी हौँ’, प्रधानमन्त्रीले ओलीले भन्नुभयो, ‘हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौँ ।’

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताउनुभएको छ । गएको वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराउनुभएको छ ।

‘नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँहरु बढी आकर्षित छन्’, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा.भट्टराईले भन्नुभयो, ‘भूकम्पपछिको पुनर्निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ ।  यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ ।’
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया