सिट्रस ग्रिनिङ्ग रोगले जुनार सखाप

 कात्तिक २८, २०७५ बुधबार १४:३८:२२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सिट्रस ग्रिनिङ्ग रोगका कारण मन्थली नगरपालिका वडा नम्बर–४ सालु, वडा नं–६ भलुवाजोर र रामेछाप नगरपालिकाको वडा नं–६ ओख्रेनी, वडा नं–७ सुकाजोर, रामेछाप–८ का स्थानमा लगाइएको जुनारमा बोटबाट झरेर सखाप भएको छ ।

अधिकाशं बगैंचामा लगाइएको जुनार र कतिपय कागती र निबुवामा पनि सिट्रस ग्रिनिङ्ग रोग देखिएको गुनासो कृषकहरुले गरेका छन् । रामेछाप नगरपालिका वडा नं ८ का विष्णुबहादुर शाहीले गएको वर्ष नै विरुवाहरुमा त्यो रोगको प्रकोप देखा परेको बताउनुभयो ।

तर यसपटक भने त्यसले थप असर पारेकाले गएका वर्षहरुमा जुनार र अमिलो जातको फलफूलबाट लाखौ रुपैयाँ आम्दानी गर्दै आएकाहरुलाई यसपटक निकै ठूलो क्षति पुगेको उहाँको भनाई छ ।

रामेछापभर कागती, निबुवा तथा जुनार खेतीमा सिट्रस ग्रिनिङ्ग फैलिएपछि जुनार खरिद गर्ने व्यापारीहरुले जुनार बेच्नलाई असहज महसुस गरिरहेका छन् । गएको तीन–चार वर्षदेखि रामेछापमा यस्तो रोगको प्रकोप फेलिएको भए पनि रोग निर्मुल गर्न सरोकारपक्षबाट कुनै चासो नदेखाइएको जिल्ला जुनार विकास संघ रामेछापका पूर्व अध्यक्ष समेत रहेका सुकाजोरका ढालबिक्रम कार्कीले बताउनुभयो ।

यद्यपी आफ्ना जुनार बगैँचालाई उचित समयमा काटछाँट, सरसफाई र औषधि उपचार गरी सचेत रहनेहरुको हकमा भने यो रोगले खासै ठूलो असर गरेको छैन् । रामेछापको साविक भलुवाजोर, सालु, रामेछाप फुलासीलगायतका गाविसहरुमा पनि कृषकहरुले व्यवासायीक रुपमा जुनार खेती गर्दै आएका छन् । तर क्षति हुँदा भने राज्यपक्षबाट सहयोग नपाएका कारण किसान चिन्तित छन् ।

मन्थली नगरपालिका कृषि ज्ञान केन्द्रका ऋषीकुमार सुवेदीले इमिडा विषादी छर्किएर जुनारको बगैँचा जोगाउने कृषकहरुले भने केही हदसम्म आफ्नो जुनारको बगँैचा जोगाएका छन् ।

म्याक्स नामको झिंगाबाट सर्ने यो रोग लाग्नासाथ जुनारमा किरा पर्ने र जुनार पाक्न थालेपछि रुखबाट कुहिएर झर्ने गरेको छ । यसका कारण गएको वर्षको तुलनामा यसवर्ष रामेछापभर जुनारको उत्पादन झण्डै ३० प्रतिशत घट्ने अनुमान कार्यालयले गरेको सुवेदीले जानकारी गराउनुभयो । 

    
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया