निष्ट लिटिल फ्लावर प्रिमियर लिग : कैलाली मोडेल र एबीसी नेपालगञ्ज विजयी

 कात्तिक २८, २०७५ बुधबार १९:१३:१५ | उज्यालो सहकर्मी

कैलाली – धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको विद्यालयस्तरीय तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत दोस्रो दिन भएका खेलमा कैलाली मोडल इंग्लिस बोर्डिङ स्कुल धनगढी र एबीसी स्कुल नेपालगञ्ज विजयी भएका छन् । 

आज भएको पहिलो खेलमा विज्डम एकेडेमी कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै कैलाली मोडेल विजयी भएको हो भने एबीसी स्कुल नेपालगञ्जले काठमाडौंको मोक्षदा स्कुलाई ७ रनले किनारा लगाएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको विज्डम एकेडेमी कञ्चनपुरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनायो । विज्डमको लागि प्रकाश जोशीले ५७, किरन ठगुन्नाले ४० ,कप्तान लोकेश बमले २७, वसन्त सिंह कार्कीले १७, सुशील पन्तले १४ रन बनाए । कैलाली मोडेलका कैलाश खातीले ३ र वसन्त थापाले २ विकेट लिए । विज्डमले जितको लागि दिएको १७२ रनको लक्ष्य कैलाली मोडलले ३ बल अगावै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । कैलाली मोडेललाई जिताउन सुवोध ऐरले सर्वाधिक रन ७४, कप्तान अजय बिष्टले ३७, अभिषेक पालले १९ र शोभित महताले १३ रनको योगदान दिए । अविजित ७४ रन वनाएका सुवोध म्यान अफ् द म्याच भए । 

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा धनगढीमा भइरहेको प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा  मोक्षदा स्कुल काठमाडौंमाथि एबीसी नेपालगञ्जले ७ रनको रोमाञ्चक जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एबीसी आवासीय स्कुलले १९.३ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । एबीसीका लागि विशाल केसीले २८, लवकुश यादवले २१, अमन अन्सारीले १४, कप्तान सदाव अन्सारी र सहिल बस्नेतले १३-१३ र बुद्ध अधिकारीले १२ रनको योगदान दिए । मोक्षदाका अनिश कार्कीले ४, विपिन खत्रीले ३, दिपक बोहराले २ विकेट लिए । 

१३८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्षदा स्कुल काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो । उसका लागि दिपक बोहोराले ३६, विशाल लिम्बूले ३४, कप्तान विपिन खत्रीले २७ र सुदिप बस्नेतले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । एबीसीका लागि सुभम, कप्तान सदाव अन्सारी र सोनु थापा मगरले २-२ विकेट लिए । एबीसी स्कुल नेपालगञ्जका कप्तान सदाब अन्सारी खेलको म्यान अफ् द म्याच भए । 

प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा सरस्वती मावि गेटा र निष्ट भक्तपुर तथा दोस्रो खेलमा लिटिल बुद्ध महेन्द्रनगर र एबीसी स्कुल नेपालगञ्ज प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाइनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।  

प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निस्ट कलेज लैनचौरको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा देशभरिका १२ टिमले सहभागिता जनाएका छन् ।

फोटोः महेन्द्र बम

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया