ललितपुर विश्वको ३५ औंँ कला नगरी घोषित

 कात्तिक २८, २०७५ बुधबार २०:८:३ | रासस
unn.prixa.net

काठमाडाैं - विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५ औंँ कला नगरीका रुपमा घोषणा गरेको छ । 

विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा. घादा हिज्जाबी कदामीले बुधबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभयो ।

परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई कला नगरी घोषणा गर्दै आएको छ । परिषद् विश्वभरमा छरिएका रहेका कलामा संलग्नहरुको प्रवद्र्धनमा स्थापित संस्था हो । संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरहरुलाई यस्तो घोषणा गर्दै आएको छ । यसअघि विश्वका ३४ मुलुक कला नगरी घोषणा भएका थिए । नेपालमा भने ललितपुर महानगरपालिका नै पहिलो नगर भएको छ । 

तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप पाटनमा छन् । त्यसैगरी पाँचाैं शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार पुरातात्विक महत्वको सम्पदा हो ।

यसलाई १२ औँ शताब्दीमा भाष्करदेवले जीर्णोद्धार गरेको इतिहास पाइन्छ । रातो मत्छेन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ ।

सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७ औँ शताब्दीमा निर्माण भएको हो । ललितपुर–२० स्थित पिम्बहाल पोखरी १२ औँ शताब्दीको उपलब्धि हो । उक्त पोखरी राजारजौटाले नभएर लाखेले निर्माण गरेको विश्वास गरिएको छ ।

स्थानीय सुन्धारा र कृष्ण मन्दिर प्राचीन कला तथा कौशलबाट निर्माण गरिएको अर्को महत्वपूर्ण सम्पदास्थल हो । तीन सय वर्षदेखि चलेको खड्गजात्रा २४ वर्षदेखि रोकिएकामा यसै वर्ष असोजमा पुनः सञ्चालन भएको छ । 

परिषदमा महानगरले केही समय पहिले कला नगरीमा पार्नका लागि आवेदन दिएको थियो । परिषद्का पदाधिकारीले महानगरपालिकाका विभिन्न स्थानमा घुमेर यहाँको मौलिकताका बारेमा अध्ययन गरेको परिषद्ले जनाएको छ । प्राविधिकले यहाँ अध्ययन गर्दा उपयुक्त छ-छैन भन्ने विभिन्न चरणमा अध्ययन गरेको थियो । उनीहरुले उपयुक्त रहेको प्रतिवेदन दिएपछि नै प्रक्रिया अघि बढेको हो । 

करिब चार लाख जनसङ्ख्या रहेको महानगरपालिकामा ८० प्रतिशत हस्तकलामा संलग्न रहेको प्रमुख महर्जनले बताउनुभयो । ललितपुरको दरबार क्षेत्र मात्र विश्वसम्पदा सूचीमा सूचीकृत रहेकामा अब अन्य प्राचीन महत्वका सम्पदा तथा पुरातात्विकस्थललाई पनि विश्वसम्पदामा अङ्कित गर्न वातावरण मिलेको महानगरले जनाएको छ । 

आगामी दिनमा अरु खालका कार्यक्रममार्फत कलाको विकासमा लाग्ने उपप्रमुख गीता सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा यहाँका उत्पादन देश र विदेशसम्म प्रवद्र्धनका लागि यो घोषणाले सहयोग पुग्ने छ ।’ महानगरपालिकाले कला नगरी घोषणा भएपछि यसलाई कायम राख्नका लागि विभिन्न काम गर्दै जाने योजना बनाएको छ ।

महानगरले कलाको विकासका लागि शाखाहरु बनाउने तयारी गरेको छ । यहाँबाट उत्पादित सामग्रीलाई प्रतीकचिह्नसहित छाप लगाउने तयारी भएको छ । गुणस्तरीय सामग्रीका रुपमा यहाँबाट उत्पादित सामग्रीले मान्यता पाउनेछ । महानगरले स्थानीय हस्तकलालाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका लागि विश्वका सरोकार पक्षसँग समेत सहकार्य बढाउने भएको छ । 

यहाँको हस्तकलामा पाइएको मौलिकताले गर्दा शहर कला नगरी घोषणा गरिएको परिषद्का एशिया प्रशान्त अध्यक्ष कदामीले बताउनुभयो । यहाँको कला विशिष्ट रहेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘यो थप विकास र विस्तारका लागि आजको घोषणाले सहयोग पुग्नेछ ।‘

महानगरका धेरै स्थानमा विभिन्न खालका हस्तकलाका मुख्य क्षेत्र छन् । काष्ठकला, मूर्तिकला, थान्कालगायत कलामा स्थानीयवासी पुस्तौंँदेखि लाग्दै आएका छन् । ललितपुरमा टोलैपिच्छे फरक फरक खालका हस्तकला पाइन्छ । मौलिकतामा कति पनि परिवर्तन आउन नदिई ललितपुरवासीले हस्तकला बचाउँदै आएका छन् ।

ललितपुरवासीले लामो समयदेखि सरकारलाई ‘हस्तकलाको जिल्ला’ घोषणाको मागसमेत गर्दै आएका थिए । ललितपुरको हस्तकलामा पाइएको मौलिकताले गर्दा शहर कला नगरी घोषणा गरिएको परिषद्ले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Dipak Ratna shakya

    Nov. 16, 2019, 6:04 p.m.

    Well done. Keep it up

  •  0 Reply

तपाईको प्रतिक्रिया