नेकपाको तल्लो तहसम्मको एकता लम्बिएको लम्बियै

 कात्तिक २९, २०७५ बिहिबार १०:५८:५४ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं - राष्ट्रिय सभागृहबाट जेठ ३ गते पार्टी एकताको घोषणा गर्दै गर्दा नेकपाका नेताहरुले अबको तीन महिनाभित्र तल्लो तहसम्मको एकता सक्ने बताएका थिए । तर ६ महिना हुँदासम्म पनि तल्लो तहको एकताले कुनै पनि गति लिन सकेको छैन ।  

माथिल्लो तहकै एकताले पूर्णता पाउन नसकेको अवस्थामा तल्लो तहको एकता अघि बढ्न नसकेको हो । केन्द्रीय सचिवालयमै पनि तल्लो तहसम्मको पार्टी एकताका विषयमा नेताहरूबीचमा नै एक मत छैन । तल्लो तहसम्मको एकताले पूर्णता नपाउँदा पार्टी संगठनको काम भद्रगोल बनेको नेताहरुले बताउँदै आएका छन् । 

नेकपाका नेता झलनाथ खनालले पार्टीको तल्लो तहसम्मको एकतालाई जतिसक्दो छिटो पूर्णता नदिए पार्टी नै अस्तव्यस्त बन्ने बताउनु भयो । नेतृत्वमा बसेकाले बुझेर जतिसक्दो छिटो सबै तहको एकता सक्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । पार्टी विधि र नीतिबाट नचल्दा लथालिङ्ग बनेको खनालको भनाई छ । 

पार्टीको स्थायी समितिको बैठक नबस्दा महत्वपूर्ण कामहश्र अघि बढाउन नसकिएको नेताहरुले नै बताउँदै आएका छन् । नेकपाको स्थायी समिति बैठक असार २१ यता बस्न सकेको छैन । विधानअनुसार स्थायी समिति बैठक हरेक ३ महिनाभित्र बस्नुपर्ने भनिएको छ । तर विधि र नीतिबाट नचल्दा नै यस्तो अवस्था आएको खनाल बताउनु हुन्छ । 

पार्टीको नीति निर्माण गर्ने महत्वपूर्ण निकायको रुपमा स्थायी समितिलाई लिने गरिन्छ । तर स्थायी समिति बैठक नै लामो समयदेखि बस्न नसक्दा पार्टी अस्तव्यस्त बनेको उहाँले बताउनुभयो ।  

कार्यदलले काम गर्दै  

गृहमन्त्री समेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई प्रदेश सदस्यको टुंगो र केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पार्न जिम्मेवारी दिइएको थियो ।

कात्तिक ७ गते बसेको नेकपा सचिवालय बैठकले कार्यदललाई कार्य विभाजनको प्रस्ताव तयार पार्न एक साताको समय दिएको थियो । तर कार्यदलले अझैसम्म प्रस्ताव तयार पार्न सकेको छैन । प्रस्ताव तयार नहुँदा एकता प्रकृया अझै लम्बिरहेको हो ।

प्रदेश पदाधिकारीसँग एक चरण छलफल गरी अन्तिम प्रस्ताव तयार पार्ने प्रयासमा कार्यदल रहेको छ । केही दिन भित्रैमा प्रतिवेदन तयार पार्ने गरी काम भइरहेको महासचिव विष्णु पौडेलले बताउनुभयो ।

तिहार बिदामा प्रस्ताव बनाइसक्ने भनिए पनि केही कुरा नमिलेकाले अब त्यसलाई पूर्णता दिने काम भइरहेको उहाँको भनाइ छ । प्रस्ताव तयार भएपछि बैठक बसेर प्रदेश सदस्यको टुंगो लाग्नुका साथै केन्द्रीय सदस्यको कार्य विभाजन पनि हुने छ ।  

बैठक सरेको सर्यै  

पार्टीको स्थायी समिति बैठक बस्न नसक्दा नेताहरुबीच आक्रोश बढ्दै गइरहेको छ । पार्टी बैठक नबस्दा पार्टीको गतिविधिका साथै सरकारको काममा समेत असर पुगेको भन्दै अहिले युवा नेताहरुले जतिसक्दो छिटो स्थायी समिति बैठक डाक्न माग गर्दै आएका छन् । 

योगेश भट्टराई, देवेन्द्र पौडेल लगायतका युवा नेताले स्थायी समिति बैठक डाक्न शीर्ष नेताहरुलाई दबाब दिन थालेका छन् । नेता झलनाथ खनालले समेत पार्टीको स्थायी कमिटीको बैठक जति सक्यो छिटो बस्नुपर्ने र त्यसैबाट सबै समस्याको निराकरण गर्नुपर्ने बताउँदै आउनुभएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अस्वास्थ्यताका कारण पनि बैठक केही लम्बिएको हुनसक्ने नेताहरु बताउँछन् । तिहारअघि अनिश्चितकालका लागि स्थगित गरिएको स्थायी समिति बैठक अब यो महिना बस्ने सम्भावना छैन । अर्को महिना पनि बस्छ, बस्दैन अझै मिति तय भइसकेको छैन । 

पटक पटक बस्ने भनेर तोकिएको मितिमा समेत स्थायी समिति नबसी स्थगित हुँदै आएको छ । असार २१ मा बैठक बसेदेखि पटक पटक गरेर अहिलेसम्म पाँच पटक बैठक सरिसकेको छ । तर त्यसपछि बैठक बस्न सकेको छैन । 

एकता नहुँदा समस्या 

पार्टीको तल्लो तहसम्मको एकताले पूर्णता नपाउँदा अहिलेसम्म पनि गाउँ, नगर र जिल्ला तहको विभिन्न भागवण्डामा तत्कालीन एमाले र माओवादी भनेर छुट्याइने गरिएको छ । 

चुनावी प्रतिष्पर्धा नै हुने भए पनि नेकपाको नाममा प्रतिष्पर्धामा सामेल हुन नपाइने अवस्था छ । अहिले पनि एमाले र माओवादी केन्द्रकै नाममा भिड्नु पर्ने बाध्यात्मक अवस्था रहेको कार्यकर्ताहरु बताउँछन् । 

समयमै एकताले पूर्णता पाएको भए अहिले त्यो अवस्थाको अन्त्य हुने थियो । नेकपाको केन्द्रमा समेत केन्द्रीय सदस्यको अझै कार्य विभाजन भइसकेको छैन । पोलिटब्युरो गठन गर्ने काम पनि त्यसै थाती छ ।

प्रदेश पदाधिकारी चयन भएको भए पनि सदस्य चयन गरेर त्यसलाई पूर्णता दिन सकिएको छैन । जिल्ला र गाउँ तहसम्म र जनवर्गीय संगठनमा अझै पूर्ववत् पार्टीका आ–आफ्नै संगठनात्मक संरचना यथावत छन् ।  

किन लम्बियो ?

माथिल्लो तहकै एकतालाई पूर्णता दिन नसकिरहेको अवस्थामा तल्लो तहसम्म एकता गर्न नेताहरुलाई कठिन भइरहेको छ । नेकपाले सातै प्रदेशका इञ्चार्ज, सह–इञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएपछि आधारभूत तहसम्मको एकता प्रक्रिया सहज हुने विश्वास लिएको थियो ।  तर त्यस अनुरुप काम भने हुन सकेन । 

जिल्ला र स्थानीय तहको एकीकरण गर्ने जिम्मा प्रदेश इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवलाई दिएको थियो । त्यो जिम्मा पनि उनीहरुले पूरा गर्न सकेका छैनन् । 

पूर्व एमाले र पूर्व माओवादी पृष्ठभूमिबाट एकता गर्नुपर्ने अवस्था रहेकाले जुन जिल्लामा जसको बहुलता थियो, त्यसैको नेतृत्व हुने गरी कार्यदलले एकताको प्रतिवेदन तयार पारेको थियो । तर त्यो प्रतिवेदनका आधारमा पनि प्रदेशले एकतालाई अगाडि बढाउन सकेको छैन ।

गाउँ नगर र जिल्लामा नेतृत्व विवाद तिव्र रहेकाले एकतालाई पूर्णता दिन कठिनाइ आएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनकै आधारमा एकतालाई टुंग्याउने प्रयास भइरहेको भए पनि भने अनुसार काम हुन नसकेको प्रदेश ३ का सह–इन्चार्ज नारायण दाहालले बताउनुभयो ।  

अहिलेसम्म एकताको काम हुँदै नभएको होइन । ४४१ केन्द्रीय सदस्य, ९ सदस्यीय सचिवालय केन्द्रमा बनिसकेको छ । नेकपाको एकता गर्ने पहिलो भ्रातृ संगठन इन्जिनियरहरुको संगठन हो । उसले साउनमै एकता टुंग्याएको हो । 

प्रोग्रेसिभ इन्जिनियर प्रोफेसनल एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन एकता भएर एकीकृत संगठनको नाम प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन) भएको छ । 

यस्तै कानुन व्यवसायीहरुको संगठनको पनि एकता टुंगिएको छ । एकताको काम हुँदै नभएको होइन तर केही ढिलाई भने भइरहेको नेकपा प्रदेश ३ का सह–इन्चार्ज दाहालले बताउनुभयो । उहाँका अनुसार धेरैजसो जिल्लाको नेतृत्व टुंगो लागिसकेको भए पनि औपचारिक रुपमा सार्वजनिक भने हुन नसकेको हो । 

अन्तिम अपडेट: चैत १, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया