आफन्तलाई दुवईमै बोलाएर दसैं मनाउँदा नेपालीले गरे २० करोड बढी खर्च

 कात्तिक २९, २०७५ बिहिबार ११:५५:४० | उमाकान्त पाण्डे

युएई – नवलपरासीका रमेश पाण्डे दुवई पुगेको १८ बर्ष भयो । विदेश गएपछि चाडबाड मनाउन घरै आउने रमेशले यो वर्षको दसैं युएईमै मनाउनुभयो, त्यो पनि परिवारसँगै । रमेशले यो वर्षको दसैं मनाउन आमाबुवालाई नै युएई बोलाउनुभयो । 

काठमाडौंकी ललिता श्रेष्ठको दसैं पनि परिवारसँगै बित्यो युएईमा । एक्लै होइन परिवारसँगै । ५ वर्ष अघि युएई पुगेकी ललिताले विदेश गएपछिका ५ वटा दसैं नेपाल आएरै मनाउनुभएको थियो । तर यो वर्षको दसैंमा आमाबुवा मात्रै होइन ८ वर्षका छोरा र सासु ससुरालाई पनि दुवई नै ल्याउनुभयो ललिताले । 

धेरै जसो नेपाली दसैं तिहार मनाउन परदेशबाट घर फर्किन्छन । रोजगारीका लागि परदेश आएकाहरु देशमा परिवारसँग भेटघाट गर्ने तथा चाडबाड मनाउन नेपाल फर्किन्छन । तर पछिल्ला केही वर्ष यता विदेशमा रहेका नेपालीहरुले परिवारलाई विदेशमै बोलाएर चाडबाड मनाउने क्रम बढ्दै गएको छ । 

नेपाली दूतावास आबुधाबीको तथ्याङ्क अनुसार यस वर्ष अघिल्ला बर्षहरुमा भन्दा धेरै नेपाली परिवारसँग चाडबाड मनाउन दुवई आएका छन् । गएको असोज दोस्रो हप्ताबाट दसैंको फूलपातीको दिनसम्म दैनिक झण्डै ४० जनाले भिजिट भिसामा आफन्तलाई दुवई बोलाएका छन् । 

आफन्तले विदेश देख्न र घुम्न पाउने अनि आफूले गर्ने काम र ठाउँका बारेमा जानकारी गराउन पाइने भएकाले परिवारलाई बोलाएको नवलपरासीका रमेश पाण्डे बताउनुहुन्छ । दुवईको भिजिट भिसा सजिलै पाउन सकिने भएकाले पनि आफन्तलाई दुवई ल्याउन सहज भएको दूतावासको भनाई छ । 

२० करोड भन्दा धेरै खर्च 

परिवार तथा आफन्तलाई दुवई ल्याउँदा एक महिनादेखि ३ महिनाको भिसा बापत लाग्ने खर्च, आउने जाने हवाइ टिकट, बसुन्जेलको खाना र यातायात खर्च जोड्ने हो भने एक जनालाई कम्तिमा  पनि २ लाख रुपैयाँ खर्च हुन्छ । 

त्यसमा विदेश आएको बेला गरिने सामान किनमेलको हिसाब जोडिएको छैन । यो वर्ष दैनिक २५ देखि ४५ जनासम्म भिजिट भिसामा आएका छन् । यही तथ्याङ्कका आधारमा १ हजार जना युएई आएको देखिन्छ । एक हजार जनाले २ लाखका दरले खर्च गर्दा दसैं मनाउन युएई आएका परदेशीका परिवारले २० करोड रुपैयाँभन्दा धेरै खर्च गरेको देखिन्छ । 

दसैंअघि झण्डै १५ दिन दूतावासमा आउने सेवाग्रहीमध्ये धेरै जसो आफन्तलाई ल्याउने कागजात बनाउन आउनेहरु रहेको दूतावासले जनाएको छ । सिफारिस पत्रका लागि १ सय ५० दिर्हाम राजश्व दूतावासमा बुझाउनुपर्छ ।

त्यही पत्र बनाउन सम्बन्धित व्यक्ति युएईका विभिन्न राज्यबाट दूतावास रहेको ठाउँ आबुधाबीसम्म पुग्दा थप १ सय दिर्हाम खर्च हुन्छ । दसैं तिहारका बेला आफन्तलाई बोलाउने कागजातका लागि दुतावासमा आउने सेवाग्रहीले दुतावासमा भीड बढेको थियो । दुतावासका एक जना कुटनीतिक कर्मचारीलाई सिफारिस पत्र लेख्ने जिम्मा दियो ।

यो अवधिमा दैनिक सिफारिस पत्र लेखेरै दिन बितेको दूतावासकी प्रथम सचिव तथा भिजिट भिसा सम्बन्धी कागजात हेर्दै आउनु भएकी शिवानी बस्नेतले बताउनुभयो । 

नेपालीको आयमा बृद्धि

पछिल्लो समय नेपालीहरुको कमाइको स्तर बढेकाले उनीहरुको खर्च गर्ने क्रम पनि बढेको देखिन्छ । सुरुमा अदक्ष कामदार मात्रै जाने खाडीका देशहरुमा अहिले दक्ष कामदारहरु पनि गइरहेका छन् । उच्च आय भएका नेपालीको सख्या पनि दुवईमा बढेको युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया