चलचित्रबाटै महंगा कार चढ्ने हैसियत बनाएका यी नेपाली कलाकार

 कात्तिक २९, २०७५ बिहिबार १५:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

केही वर्षयता नेपाली सिनेमाको बजार फैलिँदै गएको छ । सिनेमामा निर्माण पक्षले लगानी बढाउन थालेका छन् । लगानी बढेसँगै कलाकारले लिने पारिश्रमिक पनि आकासिँदै गएको छ । 

यता सिनेमाले पनि सफल कारोबार गर्न थालेका छन् । हिन्दी सिनेमा हेर्न जाने दर्शकहरुको मोह अहिले नेपाली सिनेमाप्रति जागेको छ ।

दर्शकले सिनेमालाई माया गर्न थालेसँगै सिने कलाकारहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै गएको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो पछिल्लो समय प्राय सेलिब्रेटी आफ्नै कारमा गुड्ने गरेका छन् ।

तर उनीहरुको आम्दानीको स्रोत सिनेमा मात्रै भने हैन । सिनेमासँगै विभिन्न विज्ञापन, स्टेज शोहरुमार्फत उनीहरुले आम्दानी गरिरहेका छन् । 
कतिले त म्युजिक भिडियोबाट पनि मनग्य आम्दानी गरिरहेका छन्  ।

आकाश श्रेष्ठ

सिनेमा रामकहानीको सफलतापछि अभिनेता आकाश श्रेष्ठले ४६ लाखको कार किनेका छन् । उनलाई यो कार सिनेमाको सफलतापछि निर्मात्री तथा अभिनेत्री पूजा शर्माले उपहार दिएको अनुमान धेरैले लगाए । 

तर कार आकाशले आफ्नै कमाईले किनेकोलाई बताएका छन् । 

दीपकराज गिरी

‘छक्का पञ्जा २’ को सफलतापछि कलाकार दीपकराज गिरीले नयाँ कार किने । यसअघि उनले हास्यकलाकारको रुपमा स्थापित हुँदा ३१ लाखको स्वीफ्ट डिजायर चढ्ने गरेका थिए । 

तर ‘छक्का पञ्जा २’ को सफलतापछि उनले विशेष सेवा र सुविधासहितको टाटाको हेक्जा कार किने । यसको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ । यससँगै दीपकराज गिरी महंगो गाडी चढ्ने सेलिब्रेटीको सूचीमा पनि परेका छन् ।  

भुवन केसी

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी हुन्डाइको क्रेटा चढ्दै आएका छन् । लगभग ५८ लाख रुपैयाँ मूल्य पर्ने यो कार उनले चढ्न लागेको धेरै भएको छैन । यसअघि उनले विभिन्न ब्राण्डका कारहरु चढ्दै आएका थिए ।

उनी सिनेमाका विशेष कार्यक्रमहरुमा छोरा अनमोललाई आफ्नै कारमा लाने गर्छन् । उनका छोरा अनमोललाई भने कार मोह छैन । उनलाई मोटरसाइकल मन पर्छ ।

यसै कारण उनी झण्डै कारको मूल्य बराबरको डुकाटी मोटरसाइकल चलाउँदै आएका छन् । अनमोलसँग तीनवटा बाइक छन् । 

आयुष्मान देशराज जोशी

पछिल्लो पुुस्तामा सबैभन्दा महंगो कार चढ्ने अभिनेतामा पर्छन् आयुष्मान देशराज जोशी । तर उनलाई उनको पुख्र्याैली सम्पत्तिले कार चढ्न सहज बनाएको देखिन्छ ।

त्यसैले त केही सिनेमाहरुमा मात्रै काम गरेका उनी मर्सिडीज बेन्ज २०० डी १९८४ र किया स्पोर्टेज २०११ चढ्छन् ।उनीसँग भएका दुईवटै कारहरु महंगा छन् । मर्सिडीजको बजार मूल्य १ करोड ६० लाख रुपैयाँभन्दा बढी पर्छ भने उनको दोस्रो कार कियालाई ८० लाखभन्दा बढी पर्छ । 

रमेश उप्रेती

अभिनेता रमेश उप्रेती पनि आफूले लिने सेवा सुविधामा कुनै किसिमको कन्जुस्याईँ गर्दैनन् । केही वर्ष अमेरिका बसेर आएपछि त झन् उनको जीवनशैलीमा आमूल परिवर्तन नै आएको देखिन्छ  ।

रमेश हुण्डाइको क्रेटा कार चढ्छन् । यसको बजार मूल्य झण्डै ५८ लाख पर्छ । उनले गएको वर्ष सिनेमा ‘ऐश्वर्य’ निर्माण गरेका थिए । जसले राम्रो कारोबार गर्न सफल रह्यो । 

यो सिनेमाको सफलतापछि उनी अर्को सिनेमा निर्माणको तयारीमा लागेको बुझिएको छ । 

निखिल उप्रेती

अर्का अभिनेता निखिल उप्रेती पनि महंगो कार चढ्दै आएका छन् । उनी अहिले हुण्डाईको क्रेटा कार चढ्दै आएका छन् । जसको बजार मूल्य ५० देखि ५३ लाख पर्न आउँछ ।

पछिल्लो समय निखिल सिनेमा ‘कमिटमेन्ट अफ सिक्स्टी आवर्स’को छायाँकनमा छन् । यो सिनेमालाई उनी आफैंले निर्देशन गरिरहेका छन् । 
निर्देशक तथा कलाकार दीपाश्री निरौलाले गएको वर्ष मात्रै हुन्डाईको आई ट्वेन्टी एक्टिभ किनेकी छिन् । 

दीपाश्री निरौला

‘छक्का पञ्जा’को सफलतापछि दीपाश्री निरौलालाई टिमले उपहारस्वरुप यो कार दिएको थियो । दीपाले किनेको हुन्डाईको आई ट्वेन्टी एक्टिभलाई ४०  देखि ४२ लाख पर्छ । यसअघि दीपा सिल्भर कलरको सेन्ट्रो चढ्दै आएकी थिइन् । 

प्रदीप खड्का

सिनेमा ‘प्रेम गीत २’ को सफलतापछि प्रदीप खड्काले निर्माता सन्तोष सेनबाट कार उपहार पाए ।  

सिनेमा बनाउने क्रममा सन्तोषले सिनेमा सफल भएको खण्डमा प्रदीपलाई ३० प्रतिशत सेयर दिने वाचा गरेका थिए । सिनेमा सफल भएपछि उनले वाचाअनुरुप प्रदीपलाई सेयरको रुपमा कार उपहार दिएका हुन् ।

प्रदीपले पाएको हुण्डाईको क्रेटा कारको बजारमूल्य ४२ लाख छ । यतिबेला प्रदीप रातो रंगको क्रेटा कारमा हुँइकिन्छन् । 

पल शाह

यस्तै महंगो कारमा हिँड्ने अर्का कलाकार हुन् पल शाह। पल शाह भन्छन्, ‘मैले सुरक्षित यात्राको लागि काठमाडौंमा घरभन्दा पहिले कार किनेको हूँ ।’

उनले आफ्नै कमाईले कार किने जुन उनको जीवनको एउटा खुशीको पल थियो । पल शाह निशानको सन्नी कार चढ्छन् ।

यसको बजार मूल्य लगभग ४० लाख पर्न आउँछ । पछिल्लो समय उनको अभिनय रहेको सिनेमा ‘शत्रु गते’ प्रदर्शनमा आएको थियो जसले कारोबार पनि राम्रै गर्न सफल रह्यो । 

पूजा शर्मा

सिनेमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेकी अभिनेत्री पूजा शर्माले फोर्ड कम्पनीको इको स्पोर्ट नामको कार चढ्दै आएकी छिन् । पूजाको  यो कारको मूल्य ३४ लाख  पर्छ । 

प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक कार किन्दा उनलाई भूकम्प पीडितका लागि उठाएको रकमले कार किनेको आरोप लाग्यो । यसै कारण पनि उनको कार किनाइले खुबै चर्चा बटुल्यो । तर प्रियंकाले भने आफूलाई लागेको यो आरोप बिल्कुलै गलत भएको बताइन् । 

मर्सिडिज कार चढ्दै आएकी प्रियंकाले गएको वर्ष सुविधायुक्त नयाँ कार किनेकी छिन् । उनले किनेको नयाँकार टाटा जेस्ट  हो । यसको मूल्य ३३ लाख ५० हजार पर्न आउँछ ।

विशेष स्रोतका अनुसार प्रियंकासँग पहिलो कार पनि छ । उनी आलोपालो दुईवटा कार प्रयोग गर्छिन् । 

सविन श्रेष्ठ

अभिनेता सविन श्रेष्ठ सुजुकीको स्विफ्ट कार चढ्दै आएका छन् । उनले यो कार किनेको लगभग ३ वर्ष भयो । यो कारको अहिलेको बजार मूल्य ३२ लाखको हाराहारी छ ।

पछिल्लो समय सविन सिनेमासँगै व्यवसायमा पनि लागेका छन् । उनले केही दिनअघि मात्रै आफ्नो मोबाइल पसलको उद्घाटन गरेका थिए । 
यसबाहेक उनको मुख्य भूमिका रहेको सिनेमा ‘हिरो रिटन्र्स’ प्रदर्शनको तयारीमा छ । 

शिल्पा पोखरेल

अभिनेत्री शिल्पा पोखरेलले गएको वर्ष मात्रै कार किनेकी छिन् । उनले भक्स वागेनको पोलो १.१ किनेकी हुन् जसको नेपाली बजारमूल्य ३३ लाख रुपैयाँ पर्छ । 
शिल्पाले पनि आफ्नै कमाईले यो कार किनेकी हुन् । म्युजिक भिडियो हुँदै सिनेमामा आएकी शिल्पा सिनेमा ‘मंगलम’ बाट निर्मात्री पनि बनेकी छिन् ।

उनको यो सिनेमाले सफलता पनिपायो । जसले उनलाई सिनेमामा अभिनयसँगै निर्माणका लागि थप हौसला पनि मिलेको छ । 

-उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया