आप्रवासन दिवस : वैदेशिक रोजगारीले भित्रिएको मानसिक समस्यामा कसले ध्यान दिने ?

 पुस ३, २०७५ मंगलबार १५:२८:३९

रामकुमार थापा/धादिङ ।

वैदेशिक रोजगारमा गएका धादिङको थाक्रे गाउँपालिकाका रामबहादुर विसुङखे कडा खालको मानसिक रोगी भएर फर्किनुभयो ।

१ लाख ५० पैसाका लागि घर खेत धितो राखेर २०६५ सालमा विदेश जानुभएका उहाँ एक महिनामै फर्किनुभयो । रोगी भएर फर्किएपछि उहाँले न पैसा तिर्न सक्नुभयो न त खेतबारी नै आफ्नो नाममा बनाउन सक्नुभयो । 

१ लाख ५० हजारमा बन्दकी राखेको खेतबारी फर्काउन अहिले ९ लाख रुपैयाँ बुझाउनुपर्ने भएको छ । साहुको पैसा तिर्नको लागि उहाँका श्रीमती र छोरी पनि विदेश गएका छन् । उहाँले मानसिक रोगको औषधी खाइरहनुभएको छ । तर पैसा नहुँदा उहाँले नियमित औषधी किन्न सक्नुभएको छैन् । 

धादिङकै निलकण्ठ नगरपालिका–११ का हरिप्रसाद रेग्मी मलेसियाबाट फर्केपछि मानसिक रोगी हुनुभयो । घरका एक्ला छोरा हरि सानै उमेरमा मलेसिया जानुभएको थियो । मलेसिया फर्किंएपछि उहाँ मानसिक रोगी हुनुभयो । खुकुरी बोकेर हिँड्ने, हाँस्ने, रुने र एक्लै राती पनि हिड्ने जस्ता समस्या देखियो हरिलाई । 

सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरेको चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाजका अनुसार पछिल्लो तीन वर्षमा रामबहादुर र हरि जस्तै धादिङका तीन सय जना भन्दा धेरै वैदेशिक रोजगारीका कारण मानसिक समस्याको सिकार भएका छन् ।

धादिङबाट वैदेशिक रोजगारमा गएका मध्ये ६० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या देखिएको छ । जसमा सबैभन्दा बढी चिन्ताका रोगी रहेका छन् । त्यस्तै दिक्दारीपन र रक्सी खाने पनि रहेका छन् । 

वैदेशिक रोजागरी सुरक्षित, भरपर्दो र मर्यादित बन्न नसक्दा परदेश गएका र घरमा भएकाहरुमा मानसिक समस्या बढ्दै गएको छ ।कामदार तथा उनीहरुका परिवारका सदस्यहरुलाई मनोसामाजिक समस्याले सताउँछ ।

विदेश गएकाहरु रोगी भएर फर्किएपछि उनीहरुको चिन्ताले परिवारका सदस्य पनि मनको रोगी भएका छन् । परिवारको सदस्य वैदेशिक रोजगारमा गएपछि घरका परिवारमा पनि धेरै समस्याहरु आइपर्छ ।

विदेशमै मृत्यु हुनु, अंगभंग हुनु, अलपत्र पर्नुु, पारिवारिक तथा कामको बोझ, बालालिकाको हेरचाह तथा उनीहरुलाई समय दिन नसक्नु, दैनिक घर व्यवहार चलाउनका लागि पैसाको जोह गर्न नसक्दा पनि मनोसामाजिक समस्या पर्न सक्छ ।

 त्यस्तै समाजका व्यक्तिहरुले हेप्ने, सामाजिक तथा धार्मिक कार्यमा सहभागी नगराउने, विदेश गएकाको  पनि कमाई राम्रो नहुनु, काम राम्रो नहुनु र परिवारको सम्पर्कमा नआउँदा नेपालमा रहेका परिवारलाई मनोसामाजिक समस्या देखापर्छ । 

विदेश गएकाहरुले घरमा फोन नगर्ने, घरका परिवारलाई शंका गर्ने जस्ता क्रियाकलापले पनि परिवारका सदस्यहरुलाई मनोसामाजिक समस्या देखा परेको पाइएको छ ।

विदेशिने व्यक्तिप्रति परिवारका सदस्यले धेरै अपेक्षा राख्नु, मुख्य सदस्य विदेशिएपछि बढेको भूमिका व्यवस्थापन गर्न नसक्नु र विदेश गएकाहरु सम्पर्कविहीन हुनुले मनोसामाजिक समस्या बढाएको छ ।

 त्यति मात्रै होइन मानसिक रोगप्रति गलत धारणा हुनुले पनि रोग बढीरहेको छ । सरकारले ‘सुखी नेपाली सम्बृद्ध नेपाल’को कल्पना गरेको छ । यसका लागि सबै नेपालीको मन पनि स्वस्थ्य हुनु जरुरी छ ।

तर मानसिक समस्याप्रति न त राज्यको ध्यान जान सकेको छ न त नागरिक समाजको । हरेक वर्ष अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँछौं तर यसप्रति कसैको पनि ध्यान पुग्न सकेको छैन । 

वैदेशिक रोजगारीले रेमिट्यान्स भित्रिएको छ । धेरैको जीवन सुखी पनि भएको होला । तर सँगै मानसिक समस्या पनि बढ्दो छ ।

सरकारले भनेजस्तै सुखी नेपाली सम्बृद्ध नेपालका लागि सबैभन्दा पहिला प्रत्येक नागरिकको मानसिक अवस्था ठिक हुन आवश्यक छ । । मानसिक रुपमा स्वस्थ्य मानिसले मात्र हरेक काम सहि ढंगले अघि बढाउन सक्छ ।  

लेखक थापा धादिङमा रहेको नीलकण्ठ एफएमका स्टेशन म्यानेजर तथा मनोविमर्शकर्ता हुन । 

 

तपाईको प्रतिक्रिया