कोरियन भाषा परीक्षामा फेल, कोरियन शब्दको मःम व्यवसायमा पास !

 फागुन २, २०७५ बिहिबार ९:९:४९ | सन्जिता देवकोटा

काठमाडौं – कोरियन भाषा परीक्षामा लगातार दुईपटक फेल । तर कोरियन भाषाकै नाम दिएर सुरु गरेको मःम व्यवसायमा चाहिँ पास । आफ्नो ‘उरी मःम’ व्यवसायको कुरा गर्दा झापाका सन्देश रिजाललाई तीन वर्षअघि रत्नपार्कमा मःम खाएको क्षण याद आउँछ ।

उमेरले २४ वर्ष मात्रै पुगेका । आफ्नै गाउँठाउँमा २८ जनालाई रोजगारी दिन सफल मःम व्यवसायी हुन्, झापाका सन्देश रिजाल । सन्देशले यही सफलताको पोको फुकाउँदै गर्दा आफ्नो सफलतासँग जोड्नुभयो, रत्नपार्कको मःम पसलको कुरा ।

तीन वर्षअघि २०७२ सालको कुरा हो, उहाँ दोस्रो पटक कोरियन भाषा परीक्षा दिनका लागि झापाबाट काठमाण्डौ आउनुभएको थियो । परीक्षा सकेर खाजा खान रत्नपार्कको एक होटलमा छिर्नुभयो । मःम अर्डर गरेर बसिरहेका बेला होटलमा बाहिरबाट मःम ल्याएको देख्नुभयो ।

‘मलाई त्यसरी बाहिरबाट मःम ल्याएको देख्दा अचम्म लाग्यो, होटलमा बनाउने ठाउँ नभएर घरमा बनाएर ल्याएको रहेछ, यस्तो समस्या अरुलाई पनि पक्कै होला भन्ने त्यतिबेलै लाग्यो’ सन्देशले त्यो क्षण सम्झनुभयो । होटलमा ठाउँ नभएर बाहिरबाटै मःम बनाएर ल्याउनुपर्ने होटल सञ्चालकको त्यो समस्याले उहाँलाई झापा फर्किएपछि पनि पोलिरह्यो ।

रत्नपार्कको मःम सम्झेर बसिरहेको बेला कोरियन भाषा परीक्षाको नतिजा आयो । तर सन्देशले सोचेजस्तो भएन दोस्रो प्रयासको नतिजा पनि । कोरिया जान एक नम्बर पुगेन । कोरिया जाने प्रयास असफल भएपछि सन्देशलाई रत्नपार्कमा मःम बोकेर ल्याइरहेको दृश्यले  भविष्यको बाटो देखायो । ‘त्यो होटलमा मःम खान छिर्दाको एक दृश्यले मेरो जिन्दगीको बाटो मोडिदियो’ उहाँले भन्नुभयो । 

यात्रा उरी मःमको

कोरियन भाषा परीक्षामा असफल हुँदा सन्देशलाई कमाउने बाटो खोज्दै अरु देश जान मन नलागेको हैन । तर उहाँको विदेश जाने मनलाई रत्नपार्कको होटलमा मःम बोकेको दृश्यले जित्यो ।

कोरिया जान पाएको भए महिनामै लाख रुपैयाँ कमाइ हुन्थ्यो होला । खाडीका देशमा पसिना बगाएर ३० /४० हजार रुपैयाँ कमाइ हुने बाटोतिर पनि उहाँको खुट्टा मोडिएन । मनमा बिझेको त्यही मःम बोकिरहेको दृश्यलाई आफ्नो कर्म बनाउने योजना बनाउनुभयो सन्देशले ।

रत्नपार्कको होटल साहुले घरमा बनाएर होटलमा मःम ल्याएजस्तै उहाँले होटल होटलमा मःम बनाएर बेच्ने योजना बनाउनुभयो । तर उहाँको व्यवसायिक योजनालाई धेरैले विश्वास गरेनन् ।

‘बुवाआमालाई सुनाउँदा पनि होटलका मान्छेले मःम आफैं बनाएर बेच्छन्, अब तैंले बनाएको मःम कसले किन्छ भन्नुभयो, मैले जे भए पनि म त्यही काम गर्छु, मलाई विदेश जाँदा लाग्ने पैसा यही काममा लगानी गरिदिनु भनेर आग्रह गरें,’ सन्देश नयाँ काम सुरु गर्दाका अप्ठ्यारा सुनाउनुहुन्छ ।

एक त गाउँठाउँमा कसैले नगरेको व्यवसायको योजना, अर्को सन्देशको आफ्नै उमेर । २२ वर्षको केटोले अरु कसैले गर्दै नगरेको व्यवसाय कसरी सुरु गर्न सक्ला भन्नेमा उहाँका बुवाआमा विश्वस्त हुन सकेनन् । तर सन्देशले मनाउने प्रयास गर्नुभयो ।

छोराको कुरा मान्दै बुवाआमाले थोरै लगानी गरिदिए । सन्देशले केही रकम साथीभाइबाट जुटाउनुभयो । अनि २०७२ साउनदेखि चार लाख ५० हजार रुपैयाँको लगानीमा सुरु गर्नुभयो उरी मःम व्यवसाय ।

उरी कोरियन शब्द हो । जसको अर्थ हामी वा हाम्रो भन्ने हुन्छ । मःमको नाम उरी राखे पनि मःम चाहिँ नामको अर्थ जस्तै नेपाली पाराकै हो । सामान्यतया बजारमा पाइने मःम भन्दा फरक छैन । मात्र व्यवसाय गर्ने तरिका फरक अपनाउनुभएको छ उहाँले ।

सर्टिफिकेट बोकेर जागिर खोज्न भन्दा मःम बोकेर बजार खोज्न सजिलो

सन्देशले सागपात राखेर बनाइने ‘भेज’ र कुखुराको मासु राखेर बनाउने ‘चिकेन’ मःम तयार पार्नुहुन्छ । काँचो मःम बनाएर होटल, रेष्टुरेन्ट र भोजभतेर भएका ठाउँमा बेच्नुहुन्छ ।

उरी मःम व्यवसाय थाल्नुअघि पनि सन्देशले मःम बनाउन जान्नुभएको थियो । आमाबुवाले होटल चलाएकाले मःम बनाउनु सन्देशका लागि नयाँ काम थिएन । तर बजार खोज्नु चाहिँ उहाँका लागि सजिलो थिएन ।

‘आफैंले मःम बनाएर बेचिरहेकाहरुलाई मैले बनाएको मःम किन र बेच भनेर मनाउन गाह्रो भयो नि, एक वर्षसम्म त म लगभग घाटामा नै चलें,’ सन्देशले व्यवसाय सुरु गर्दाको दिन सम्झनुभयो ।

बजार खोज्न गाह्रो थियो । तर सन्देशलाई स्नातक गरेको सर्टिफिकेट लिएर तलब खोज्दै हिँड्नुभन्दा आफ्नो उत्पादन बिक्री हुने बजार खोज्न सजिलो लाग्यो ।

‘सर्टिफिकेट बोकेर जागिर देउ भन्नुभन्दा त व्यवसायमा साझेदारी गरौं, मैले बनाएका मःम बेचिदिनुस् भन्दा मलाई सहज भयो,’ सन्देशले गर्व गर्दै आफ्नो अनुभव सुनाउनुभयो ।

सन्देशले बनाएको मःम बजारका सबै होटल तथा खाजा घरमा हुँदा ग्राहकलाई पनि एउटै स्वाद हुने । त्यसैले उहाँलाई ग्राहक मनाउन पनि गाह्रो पऱ्याे । बजार खोज्न र आफ्नो उत्पादलाई चिनाउन उहाँले साथीभाइसँग पनि सहकार्य गर्नुभयो ।

मेहनतको फल पक्कै पनि मीठो हुन्छ । सन्देशलाई आफ्नै मेहनतमाथि विश्वास र भर थियो । र भयो पनि त्यस्तै । एक वर्षसम्म घाटाकै व्यवसाय गरे पनि समय उहाँकै पक्षमा भइदियो । एक वर्षपछि बजार बढाउनुभयो । उहाँको उत्पादनको माग बढ्न थाल्यो । झापाको बिर्तामोडमा उरी मःम अर्थात सन्देश रिजाल भनेर बिस्तारै अरुले चिन्न थाले ।

स्वदेशमा पनि सुन फलाउन सकिन्छ

‘मैले भाषा परीक्षामा फेल भएको झोंकमा विदेशको मोह त्यागेको थिएँ, भाग्यमै रहेनछ विदेश जान भन्ने झैं लाग्थ्यो,’ सन्देश भन्नुहुन्छ, ‘अहिले त कोरियन भाषा परीक्षामा पास भइनँ, म भाग्यमानी रहेछु जस्तो लाग्छ ।’

उहाँलाई व्यवसाय सुरु गर्दा समेत आफ्नै गाउँठाउँमा काम गरेर केही होला र भन्ने आशंका थियो । आफ्नो व्यवसायमा असफल भइन्छ भन्ने डर थियो । साथीभाइ सबैले विदेशमा कमाएका र रमाएका थिए ।

त्यही बाटो आफूले तय गर्न खोज्दा बाटोमै अड्किएको जिन्दगीले के लय समात्ला र भन्ने थियो मनको एउटा कुनामा । तर नसोचेकै भयो उहाँको जीवनमा ।

मःम खाना जाँदा देखेको दृश्य उहाँको जीवनमा गाँसियो । अनि फेरियो उहाँको सोच र जीवन पनि ।

हिजोआज सन्देशलाई लाग्छ – ‘विदेशमा जत्तिकै दुःख गर्ने हो भने स्वदेशमा पनि सुन फलाउन सकिन्छ ।’ यो उहाँको आफ्नै भोगाइ र मेहनतको फलबाट प्राप्त सिकाइ र पाठ हो ।

उहाँले उरी मःमलाई चिनाउन रातमा निद्रा र दिनमा भोक भन्नुभएन ।

बजारमा मःम पुऱ्याउनका लागि बिहानको तीन बजेदेखि नै काममा खटिनुपर्छ । बिहान सात आठ बज्दा मःम तयार बनाएर बजारमा पुऱ्याउनु पर्छ ।

‘बेलुका १० /११ बजे सुत्छु, अनि बिहान तीन बजेदेखि काममा जुट्छु, यो मेरो दैनिकी हो, तपाईँलाई अचम्म लाग्ला मेरो त बानी भैसक्यो’ सन्देशले आफ्नो दैनिकी सुनाउनुभयो ।

विदेशका दुःख नभोगे पनि सन्देशले कोरियन भाषा यति नै मेहनत गरेर पढ्नुभएको थियो । तर त्यो दुःख त्यसै खेर गयो । त्यही लगाव काममा दिँदा उहाँलाई नाम र दाम दुवै मिल्यो ।

‘नेपालमा काम गर्न सक्ने हो भने पैसा छ, नगर्दा केही पनि छैन, विदेशमा साहुको काम गर्छौंं, महिनामा पैसा आउँछ र कमाएझैं लाग्छ, तर स्वदेशमा कमाउन आँट चाहिन्छ,’ कामप्रति सन्देशको आफ्नै बुझाइ छ । त्यसो त उहाँको आफ्नै मेहनत र सफलताले यसको पुष्टी पनि गरेको छ ।

अहिले सन्देश महिनामा सरदर एक लाख प्लेट मःम बनाएर बजार पुऱ्याउनुहुन्छ । २८ रुपैयाँ प्लेटमा उहाँले बजारमा पठाएका मःम होटलले ६० रुपैयाँसम्ममा बेच्छन् । यसरी मःम बजारमा पुऱ्याउँदा दुवै पक्षलाई फाइदा हुन्छ भन्नुहुन्छ सन्देश ।

उहाँले उरी मःमको यात्रा सुरु गरेको तीन वर्ष भयो । यी तीन वर्षमा उरी मःमको शाखा पनि विस्तार गर्नुभएको छ । झापाको बिर्तामोड र भद्रपुरबाट मःम उत्पादन हुन्छ ।

२८ जनालाई रोजगारी दिनुभएको छ, सन्देशले । उरी मःममा काम गर्ने २८ जनामध्ये धेरै कतिपय विदेशबाट फर्किएका छन् भने कतिपय परदेशीका श्रीमतीहरु पनि छन् ।

‘तीन वर्ष अघिको कुरा त हो, मैले यो काम गर्छु भन्दा अस्तिको फुच्चेले यस्तो काम कसरी गर्ला र भनेर धेरैले पत्याउँदैन थिए,’ सन्देश सुरुवाती दिन सम्झँदै भन्नुहुन्छ, ‘आज त्यही फुच्चे २८ जनालाई रोजगारी दिन सक्ने हैसियतको भएको छ ।’ सन्देशलाई आफ्नो पौरखमा गर्व छ ।

दामसँगै नाम

खर्च सबै कटाएर सन्देशले महिनाको ५० हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । महिनामा कमाइ हुने आधा लाखले भन्दा बढी आफ्नै गाउँठाउँमा मिलेको नामले खुशी मिलेको छ, उहाँलाई ।

सफलता मानिसको उमेरमा हैन, उसले गर्ने मेहनतमा भर पर्छ । सन्देश कमाउनका लागि देशमा भन्दा पनि मानिसले गर्ने मेहनतमा विश्वास गर्नुहुन्छ । र उहाँलाई आफ्नो मेहनतमा विश्वास पनि छ  । डिग्री पास गरेर पनि जागिरका लागि डुल्नेका लागि सन्देश उदाहरणीय बन्नु भएको छ ।

थोरै लगानीमा धेरै गर्न सकिने बाटाहरु थुप्रै छन् नेपालमा पनि । आफूले गरेका साना कामबाट आफूजस्तै युवालाई स्वदेशमा भएका अनगिन्ती सम्भावनाहरु खोज्न प्रेरित गर्नुछ सन्देशलाई ।

‘मेरो बुवाआमाले पैसाको माया मारेर मलाई लगानी गर्न दिनुभएको थियो, तर आज त्यही माया मारेका चिजले बुवाआमाको अनुहारमा मुस्कान छाएको छ,’ सन्देश गर्व गर्दै भन्नुहुन्छ ‘सायद म विदेश गएको भए बुवाआमाको अनुहारमा यो खुशी देख्न पाउँदिन थिएँ होला ।’

कामलाई हिजोआज प्रविधिले सहज बनाइदिएको छ । तर आफूले गर्ने काम र प्रविधिका बारेमा ज्ञान हुन पर्छ । हरेक कुराले आकार लिन समय लाग्छ । त्यसका लागि खट्नु पर्छ । 

‘भाग्यमा छ भन्दैमा हुँदैन, कर्म गर्नुपर्छ,’ सन्देशको मन्त्र यही हो । कर्म गर्ने मानिस असफल हुँदैन ।

सन्देश भन्नुहुन्छ, ‘विदेश गएको भए परदेशी भन्थे होलान्, तर अहिले मेरो नाम पछाडि झापाकै कान्छो व्यवसायी भन्ने उपनाम झुण्डिएको छ ।’

विदेश जाने कोशिस गरे पनि विदेशको दुःख उहाँको पोल्टोमा परेन । थोरै लगानीमा गर्ने ठाउँहरु आफ्नै गाउँठाउँमा हुँदाहुँदै साहुको ऋण काढेर कोही पनि विदेश जान नपरोस् भन्नुहुन्छ सन्देश ।

सात समुद्र पारी पसिना बेचेर किनेको लाखभन्दा स्वदेशमा परिवार र आफ्नाको साथ ठूलो हुन्छ जस्तो लाग्छ, सन्देशलाई । दुई पटक भाषा परीक्षामा व्यहोरेको असफलतापछि सन्देशले विदेश जाने बाटो मोडेर कोरियन नाम दिएर मःम व्यवसाय थाल्नुभयो । कोरियन भाषा परीक्षामा फेल भए पनि सन्देश कोरियन नाम दिएर सञ्चालन गरेको मःम व्यवसायमा पास हुनुभयो ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया