दुबई आइपुग्यो नेपाली पानी, अदुवा र अलैँची !

 फागुन ९, २०७५ बिहिबार ९:३०:९ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब एमिरेट्स ‘यूएई’मा नेपाली खानेपानी बोतल आइपुगेको छ । 

नेपाली खानेपानी बोतल तत्काल बजारमा आम सर्वसाधारणले खरिद गर्न पाउने गरी नभई यूएईको दुबईमा चलिरहेको गल्फ फूड प्रदर्शनीमा नेपाली उत्पादनसँगै ल्याइएको हो । प्रदर्शनीमा नेपालमा उत्पादन हुने पाँचवटा सामग्री राखिएको छ । प्रदर्शनीमा अलैँची, अदुवा, चिया, खानेपानी र कफी छन् । तीे नेपाली सामग्रीमा विभिन्न देशका अवलोकनकर्ता आकषिर्त देखिएका छन् । 

खानेपानी मन्त्री बिना मगरले नेपालको पानी खाडीमा बेच्ने उद्घोष गरेअनुरुप बजार बुझ्न र नेपाली पानी चिनाउन नेपाल बोटल वाटर उद्योग संघले प्रदर्शनीमा सहभागिता जनाएको हो । दुबईको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको प्रदर्शनीमा नेपालको प्रतिनिधित्वका लागि सांसद योगेश भट्टराईको पहलमा सरकारले स्टलको व्यवस्था गरेको हो । नेपाली उत्पादन सबै एउटै स्टलमा राखिएको छ । एउटा स्टलको १५ हजार अमेरिकी डलर सरकारले व्यवस्था गरिदिएको र बाँकी अन्य खर्च व्यक्तिगत रुपमै व्यवसायीले खर्च गरेर यूएई  आएका हुन् । 

अरबका विभिन्न देशका अवलोकनकर्ताले नेपाली उत्पादनप्रति विशेष चासो देखाएका छन । बहराइन, ओमान, कुवेत, साउदी अरबलगायतका राष्ट्रका अवलोकनकर्ताले नेपाली उत्पादन आफ्नो देशसम्म पुर्याउन चाहेको प्रदशनीमा आउनु भएका नेपाल अलैँची व्यवसायी महासंघका कोषाध्यक्ष सुवास भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । ‘नेपालको अलैँची तथा अदुवामा धेरै अवलकोनकर्ताले चासो देखाएका छन्’, भट्टराईले भन्नुभयो । अन्य देशको तुलनामा नेपाली उत्पादनप्रति विदेशीको चासो भए पनि बजार प्रवर्द्धन गर्न नसक्दा क्रेता र बिक्रेताबीच सम्बन्ध विकास हुन नसकेको भट्टराइले बताउनुभयो । 

खाडीमा नेपालमा उत्पादित सामग्रीको माग भए पनि बजारमा समान पुराउनु पहिले प्रयोगयोग्य समान हुन्, होइनन भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । 

यस पटकको प्रदर्शनीमा त्यसरी प्रमाणीकरण गर्न यूएई सरकारले निर्धारण गरेका कम्पनीहरुले समेत स्टल राखेर जानकारी गराइरहेको सेवा प्रदायक कम्पनी गल्फटेकका प्राविधिक म्यानेजर एर्लिनी लिआमाडोले बताउनुभयो । उत्पादक र बजार व्यवस्थापक दुवै एउटै प्रदर्शनीमा भेट हुने र छलफल गरिने भएकोले नेपाली उत्पादन सामग्रीको प्रचारमा फाइदा पुगेको नेपाल अलैँची व्यवसायी महासंघ अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । 

१ सय २० देशका झण्डै ४५ सय स्टलहरुमध्ये नेपाली उत्पादन स्टल नम्बर १ सय ६६ मा राखिएको छ । फागुन ५ गते आइतबारबाट सुरु भएको प्रदर्शनी आज बिहीबार सकिँदै छ । 

प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, कोषाध्यक्ष सुवास भट्टराई र केन्द्रीय सदस्य निमेश मित्तल, चिया तथा कफी विकास बोर्डका तर्फबाट डिल्ली गौतम, अदुवा उत्पादन व्यवसायी संघका तर्फबाट सञ्जीव घिमिरे र नेपाल बोटल वाटर उद्योग संघका प्रतिनिधि परशुराम सापकोटा सहभागी हुनुहुन्छ ।

नेपाली प्रतिनिधि टोली शनिबार नेपाल फर्किने कार्यक्रम छ ।
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया