वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिले हुलाक र विद्युतीय माध्यमबाटै उजुरी दिन सक्ने

 चैत ७, २०७५ बिहिबार १६:६:८ | उज्यालो सहकर्मी

काठमाण्डौं – वैदेशिक रोजगारी क्रममा ठगिएमा अब हुलाक र विद्युतीय माध्यमबाट पनि उजुरी दिन सकिने भएको छ । 

केही नेपाल ऐन शंसोधन गर्न बनेको विधेयक मार्फत वैदेशिक रोजगार ऐन २०६४ मा गरिएको शंसोधनपछि अब हुलाक र विद्युतीय माध्यमबाट उजुरी दिन सकिने भएको हो । 

अहिलेसम्म ठगिमा परहेका व्यक्ति उजुरी दिन वैदेशिक रोजगार विभागमा आफैं उपस्थित हुनुपर्ने बाध्यता थियो । ऐनमा गरिएको शंसोधनले अब पीडितले हुलाक वा अनलाइन माध्यमबाटै उजुरी दिन सक्नेछन् । 

अहिलेको शंसोधनले प्रमुख जिल्ला अधिकारीलाई पनि उजुरी लिने र मेलमिलाप गराउने अधिकार दिएको छ । ऐनको दफा २१ को ‘क’ मा हुलाक र विद्युतीय माध्यमबाट उजुरी गर्न सकिने र त्यसरी प्राप्त भएको उजुरी जिल्ला प्रशासन कार्यालय र वैदेशिक रोजगार विभागले दर्ता गरी कारबाही गर्नुपर्ने उल्लेख छ । 

यदी प्रमुख जिल्ला अधिकारी समक्ष आएका उजुरी संस्थागत अर्थात इजाजत पत्र प्राप्त म्यानपवारका विरुद्धमा भए यस्ता उजुरी ७ दिनभित्र विभागमा पठाउनु पर्नेछ । यदी व्यक्तिका विरुद्धमा उजुरी गरिएको भए छानविन गरी पीडितलाई क्षतिपूर्ति दिलाएर मेलमिलाप गराउने र त्यसको जानकारी विभागलाई गराउनु पर्नेछ । 
 
 

तपाईको प्रतिक्रिया