मलेसियामा अलपत्र १६ नेपालीको उद्धार, उद्धार गर्छौं भन्नेलाई रकम नदिन दूतावासको आग्रह

 चैत ८, २०७५ शुक्रबार १४:२२:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले अलपत्र परेका १६ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । घर फर्किनको लागि टिकट काट्ने खर्च नभइ जुरु घरफिर्ती केन्द्र र जोहरवारु घरफिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपालीलाई दूतावासले घर फर्काएको हो । 

मोरङका महेन्द्र खवास, कमल मगर, बलराम खरेल, इलामका राम लिम्बू, किशोर राई, दाङका हरिद्वारप्रसाद यादव, रुपन्देहीका दिलिपकुमार मल्ल, पाँचथरका अनिल आङ्थापो, स्याङ्जाका राजु कार्की, नवलपुरका राम दरस कोहर, तनहुँका टेकबहादुर थापालाई दूतावासले नेपाल फर्काएको हो । 

त्यसैगरी, उदयपुरका लालश्री राई, नवलपरासीका दिपक कुमार यादव, रोल्पाका अशोक पुन मगर, ताप्लेजुङका भरतकुमार लिम्बू र महोत्तरीका अरबिन्दप्रसाद साहलाई घर फर्काइएको दूतावासले जनाएको छ ।

फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र चैत ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जनालाई उद्धार गरी दूतावासले स्वदेश पठाएको हो । 

कसैलाई पनि पैसा नदिन परिवारलाई दूतावासको आग्रह

जेलमा रहेका नेपालीहरुले विभिन्न मुद्दा झेलिरहेको भन्दै झुटो त्रास देखाएर कसैले पैसा मागेमा नदिन दूतावासले सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

जेलमा रहेका पीडितले मुद्दा झेलिरहेको भन्दै त्रास देखाएर उद्धार गरिदिने बहानामा परिवारबाट धेरै पैसा असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएकाले अपरिचित व्यक्तिले उद्धार गर्छौं भन्दै पैसा मागेमा नदिन दूतावासले आग्रह गरेको हो । 

विभिन्न मनिट्रान्सफरबाट  रमक बुझेपछि एजेन्ट सम्पर्कविहीन हुँदा समस्या भएको भन्दै दूतावासले जेलमा परेका व्यक्तिको कानुनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयबाट मात्रै पठाउन पनि अनुरोध गरेको छ । 

घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्धारका लागि नेपालबाटै कन्सुलर सेवा विभागबाट जानकारी लिई एकतर्फी हवाई टिकटको व्यवस्थासहित मलेसियामा रहेको नेपाली दूतावासमा पठाउन सकिन्छ । आफन्त जेलमा अथवा घरफिर्ती केन्द्रमा भएमा कन्सुलर सेवा विभागमा गएर सम्पर्क गर्न सकिन्छ ।

त्यस्तै मलेसियामा घरफिर्ती केन्द्र तथा जेलमा रहेका नेपालीको उद्धारको जानकारीका लागि दूतावासको टेलिफोन नम्बर ०३२०२०१८९८ ९९ मा सम्पर्क गर्न सकिन्छ। 
 

तपाईको प्रतिक्रिया