नेपाल र यूएईबीचको कुटनीतिक सम्बन्ध घनीभूत बनाउनु मुख्य प्राथमिकता : नवनियुक्त राजदूत ढकाल

 चैत ९, २०७५ शनिबार ८:४०:४४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - नेपाल र यूएईबीचको कुटनीतिक सम्बन्ध घनीभूत बनाउनु आफ्नो मुख्य प्राथमिकता रहेको यूएईका लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनु भएको छ ।

नेपाली दूतावास आबुधाबीमा शुक्रबार यहाँ कार्यरत नेपाली पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै ढकालले आफ्ना ४ मुख्य प्राथकिताबारे जानकारी गराउनु भएको हो ।  

यूएई र नेपालबीचको सम्बन्ध लाई थप उचाइमा पुर्‍याउने, श्रमिकको सुरक्षामा ध्यान दिने, आर्थिक कुटनीतिको विकास र दूतावासले दिने सेवासुविधा सरल र प्रभावकारी बनाउँदै सचेतनामुलक कार्यक्रम गर्नु आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभयो ।  

नेपाल सरकारको 'सुखी नेपाली, समृद्ध नेपाल' अभियानलाई सफल बनाउन दुईदेशबीच उच्चस्तरिय भ्रमण र दुई देशका नागरिकबीचको सम्बन्धसमेत स्थापित गराउन आवश्यक रहेको ढकालको भनाइ छ । ।  पर्यटन र आर्थिक क्षेत्रमा यूएईले गरेको विकासलाई नेपालले सदुपयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
 
व्यापार घाटा न्यूनिकरणको प्रयास   

गएको आर्थिक वर्षमा यूएईबाट २९ अर्ब १९ करोडको सामान नेपाल लगेको र नेपालबाट जम्मा १० करोडको सामान यूएई ल्याएको तथ्याङ्क प्रस्तुत गर्दै राजदूत ढकालले यूएईमा १ रुपैयाँको समान बेचेर २९१ रुपैयाको समान खरिद गर्ने अवस्थालाई न्यूनिकरणको प्रयास गर्ने बताउनुभयो । त्यसका लागि विभिन्न व्यापारिक साझेदारसँग समन्वयन गर्ने नभए यूएईमा कार्यरत नेपालीबीच नेपाली सामानको बजारीकरणको प्रयास गरिने बताउनुभयो । 

नेपाली उत्पादनको बजारीकरण गर्ने र नेपाली उत्पादन सामाग्रीको दूतावासमै सङ्ग्रहालय स्थापना गर्न दूतावासले काम सुरु गरिसकेको ढकालले बताउनुभयो । नेपाल सरकारले विदेशस्थित सबै नियोगहरुमा सामग्री पठाइसकेको भन्दै त्यसका लागि यूएईमा काम सुरु गरिसकेको जानकारी दिनुभयो । 

पर्यटन प्रबर्द्धनमा जोड 

नेपालमा पर्यटन प्रबर्द्धन गर्न यूएईमा दूतावासले काम गर्ने राजदूत ढकालले बताउनुभयो । 'यूएईबाट विश्वका विभिन्न देशमा जाने पर्यटकको सख्या धेरै छ', राजदूत ढकालले भन्नुभयो, 'गएको ५ वर्षमा युएईबाट जम्मा ४ हजार ७ सय पर्यटक मात्रै नेपाल गएको तथ्याङ्क प्रस्तुत गर्दै सुधारका लागि विभिन्न प्रचारात्मक काम गर्दैछाैँ ।'  अन्य देशका पर्यटकले १ रुपैयाँ खर्च गर्दा यूएईका पर्यटकले ६ रुपैयाँ खर्चिने तथ्याङ्क रहेकाले यूएईका नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउन सके देशलाई फाइदा पुग्ने राजदूत ढकालको दाबी छ । 

नेपालले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको भन्दै त्यसैलाई सहयोग गर्न पर्यटन प्रबर्दनका लागि यूएईका सार्वजानिक यातायातमा प्रचार पम्लेट प्रदर्शन गर्ने , विभिन्न सपिङ मलहरुमा डिजिटल होर्डिङ बोर्डहरु राख्ने योजनाअनुसार त्यसका लागि छलफल सुरु गरिसकेको ढकालले बताउनुभयो । संसारको अग्लो भवन बुर्ज खालिफामा नेपालका खास महत्वपूर्ण दिनमा नेपाली झण्डा, नेपाली पहिचान झल्किने सामग्री प्रदर्शन गर्न प्रयास गरिने राजदूत ढकालको भनाइ छ । 

यूएईको नेपाली पत्रकारिताको प्रशंसा 

राजदूत ढकालले प्रवासमा रोजगारीसँगै जोखिम मोलेर जनतालाई सूचना दिन पत्रकारहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । कामसँगै पत्रकारिता गर्नु सजिलो विषय नभएको भन्दै राजदूत ढकालले पत्रकार र दूतावासबीचको सम्बन्ध सकारात्मक हुनुपर्ने बताउनुभयो ।

दूतावासले दिने सेवा सुविधालाई व्यवस्थित बनाउन दूतावासले चाडैँ डिजिटल तथा भौतिक नागरिक वडापत्र र दूतावासको एप स्थापना गर्न लागेको जानकारी दिनुभयो । सेवाग्राहीलाई छिटो र सहज रुपमा सेवा तथा सूचना दिन दूतावासले पहल सुरु गरिसकेको ढकालको दाबी छ । 

कार्यक्रममा दूतावासकातर्फबाट राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँल र द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीको उपस्थिति थियो । कार्यक्रममा यूएईमा सकृय विभिन्न सञ्चारमाध्यममा कार्यरत नेपाली पत्रकारको सहभागिता थियो । 

यूएईमा रहेको नेपाली दूतावासमा २०७३ वैशाख ३ गतेबाट राजदूतविहीन थियो ।

ढकाल परराष्ट्र कुटनीति सेवामार्फत यूएईका लागि राजदूतको रुपमा नियुक्त भई दुई साता पहिले मात्रै यूएई आउनु भएको हो । राजदूतको रुपमा ढकाल यूएई आएको दुई हप्ता भनि ओहोदाको प्रमाणपत्र भने अहिलेसम्म बुझाउनुभएको छैन ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया