खाडी र मलेसियाका जेलमा अझै ५४५ नेपाली : २५ जनालाई मृत्युदण्डको सजाय

 असार ५, २०७६ बिहिबार १५:८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडाै – वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै साढे ५ सय नेपाली कामदार अहिले पनि बिभिन्न देशमा जेल जीवन बिताइरहेका छन् ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसिया र खाडीका देशमा धेरै नेपाली जेलमा छन् । मलेसियासहित कुवेत, यूएई, ओमान, साउदी अरब, कतार र बहराइनमा धेरै नेपाली कामदारले जेल सजाय भोगिरहेका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्याँकअनुसार गएका चैत मसान्तसम्म यी देशका जेलमा ५ सय ४५ जना नेपाली रहेका छन् । यीमध्ये १९ जना महिला छन् । जेल जीवन बिताइरहेकामध्ये २ सय ९३ जनाको सजाय तोकिन बाँकी छ ।

गएको चैत मसान्तसम्म २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ भने ७ जना आजीवन काराबासमा छन् । यस्तै जरिवाना तोकिएका कामदारहरुको संख्या १८ छ ।

मलेसियामा दुई महिला सहित २ सय ५ नेपाली कामदार जेलमा छन् । तीमध्ये १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने १ सय ९० जनाको सजाय तोकिन बाँकी छ ।

मलेसियापछि धेरै नेपाली कामदारहरुले जेल सजाय भोगिरहेको देश हो, यूएई । यूएईमा १२ महिला र १ सय ७३ पुरुष गरी १ सय ८५ नेपाली कामदार कारागारमा छन् । तीमध्ये एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने ४ जनाले आजीवन काराबासको सजाय भोगिरहेका छन् । 

यस्तै ४ जनालाई १५ वर्षभन्दा कम, ५ जनालाई १० वर्षभन्दा कम र १ सय ६ जनालाई एक वर्षभन्दा कम समयको जेल सजाय सुनाइएको छ । ७ जनालाई जरिवाना तोकिएको छ भने ४८ जनाको सजाय तोकिन बाँकी छ ।

यस्तै कुवेतका कारागारमा ३ महिलासहित ५८ जना नेपाली कामदार छन् । यसमध्ये ३ जनालाई मृत्युदण्डको सजाय र ९ जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । १ जनालाई १५ वर्ष, ३१ जनालाई १ वर्षभन्दा कम र १० जनालाई १० वर्षभन्दा कमको सजाय सुनाइएको छ ।  ४ जनाको भने सजाय तोकिन बाँकी छ ।

कतारमा जेल सजाय बिताइरहेका ३५ जना पुरुषमध्ये ३ जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ भने १८ जनाको सजाय तोकिन बाँकी छ । १५ वर्ष सजाय भोग्ने एक जना, १० वर्षभन्दा कम समयको सजाय भोग्ने १० जना तथा २ जनाले एक वर्ष र योभन्दा कमको सजाय भोगिरहेका छन् । एक जनालाई जरिवाना तोकिएको छ ।

साउदीको जेद्दामा रहेको जेलमा ४ सय ३१ नेपाली कामदार छन् । यस्तै साउदीको रियादका विभिन्न जेलमा २३ जना नेपाली कामदार छन् । यसमध्ये ५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

यस्तै बहराइनमा पाँच जना नेपाली कामदारले जेल सजाय भोगिरहेका छन् । यीमध्ये दुई जनालाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

ओमानमा दुई महिला सहित तीनजना नेपाली कामदार जेलमा छन् । 

जेल पर्ने कारण

नेपाली कामदारहरु जेल पर्ने कुनै एउटा मात्र कारण छैन । विभिन्न कारणले गर्दा नेपालीहरु जेल परिरहेका छन् ।

‘रक्सी तथा लागुपदार्थकाे सेवन तथा बेचबिखन र भिसा सम्वन्धी मुद्दामा धेरै नेपाली खाडी देशमा जेल पर्ने गरेका छन्’, ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा साउदी बसेर फर्किएका प्रवासी नेपाली समन्वय समिति (पीएनसी)का अध्यक्ष्य कुलप्रसाद कार्की भन्नुहुन्छ, ‘कसैको लहलहैमा अन्त राम्रो काम पाइन्छ भनेर आफूले काम गरिरहेको कम्पनी छाड्दा त्यो अवैधानिक ठहरिन्छ र जेल पर्ने सम्भावना हुन्छ ।’

यस्तै विभिन्न सरकारी कागजातहरु केरमेट गरेर आफू अनुकूल आफ्ना प्रमाणहरु आफै बनाउने गरेमा तथा नक्कली कागजातहरु पेश गरेमा पनि त्यस्ता व्यक्ति कारबाहीमा पर्ने गर्छन् । 

सुरुक्षाको दृष्टिकोणले प्रवेश निषेध गरिएका ठाउँहरुमा प्रवेश गर्ने तथा फोटो खिच्ने काम गरेमा पनि प्रहरीले समातेर जेल पुर्याउने गर्छन् ।

‘खाडी राष्ट्रहरुमा धर्मको बारेमा वादविवाद गर्न पनि निषेध गरिएको छ । यस्तै सार्वजनिक स्थलमा दिसापिसाब गर्ने, थुक्ने गरेको पाइएमा पनि जेलसम्मको सजाय हुन्छ’, कार्कीले भन्नुभयो, ‘नेपालीहरु धेरै झैझगडा तथा कुटपिटमा संलग्न हुने, बिना लाइसेन्स गाडी चलाउने  काराणले जेल पर्ने गरेका छन् ।’

जेल परेका नेपालीलाई सरकारले गर्ने सहयोग

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरु भूलबस वा जानजान गल्ती गरेर त्यहाँका जेलमा पर्ने गरेका छन् । उनीहरुलाई जेलबाट छुटाउन तथा सजाय कम गराउन नेपाल सरकारले विभिन्न प्रयास गर्दै आएको छ । 

तर सरकारले गर्ने यस्तो प्रतिरक्षा जेलमा रहेका सबैका लागि हुने छैन । यस्तो प्रतिरक्षा हत्या र लागुऔषध ओसारपसार जस्ता गम्भीर प्रकृतिका मुद्दा लागेका र अदालतबाट आदेश भइसकेका बाहेकका लागि गरिने वैदेशिक रोजगार बोर्डले बताएको छ ।

‘हत्या र लागुऔषध ओसारपसार जस्ता गम्भीर  प्रकृतिका मुद्दा लागेका र अदालतले फैसला गरिसकेकाको हकमा हामीले केही गर्न सक्दैनौं’ बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उज्यालोसँग भन्नुभयो, ‘हामीले सहयोग गर्ने भनेको आरोप लागेका तर निर्दोष रहेकाहरुका लागि हो ।’

हत्या आरोप लागे पनि प्रमाणित नभएको तर निर्दोष रहेको देखिएमा त्यस्ता व्यक्तिलाई पनि कानुनी प्रतिरक्षा गरिनेछ । आरोप लागेको व्यक्ति निर्दोष भए÷नभएको चाहिँ सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले निक्र्योल गर्नेछन् ।

‘दूतावासहरुले समय समयमा गर्ने जेल भ्रमणमा जेलमा रहेको व्यक्तिको गल्ती छैन भन्ने निष्कर्ष निस्कियो भने त्यस्ता व्यक्तिलाई हामीले कानुनी प्रतिरक्षाका लागि सहयोग गर्ने हो’ श्रेष्ठले थप्नुभयो । 

दूतावास र नियोगहरुले सिफारिस गरेपछि बोर्डले कानुनी प्रतिरक्षाका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । अहिले बोर्डमा दूतावासहरुबाट विभिन्न देशमा रहेका ७/८ जना नेपालीलाई कानुनी प्रतिरक्षाका लागि सिफारिस आएको बोर्डले जनाएको छ ।

यी सिफारिसका बारेमा बोर्डले अध्ययन गरेपछि कानुनी प्रतिरक्षाका लागि सम्बन्धित देशमै अधिवक्ता नियुक्त गर्न रकम उपलब्ध गराइने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया