यूएईबाट घर बिदामा आएका बेला नविनलाई कार उपहार

 असार २४, २०७६ मंगलबार ११:१५:४३ | उमाकान्त पाण्डे

यूएई – काठमाण्डौ थलीका नविन पाण्डे गएको हप्ता यूएईबाट बिदामा नेपाल फर्किनुभएको थियो । १० दिनको घर बिदामा रहेका बेला नविनको श्रीमती सरिताको मोबाइलमा यूएईको नम्बरबाट फोन आयो ।

फोन उठाउँदा ‘तपाईँहरुलाई बधाइ छ, नविन जीलाई यूएईमा कार उपहार परेको छ’ भनेको आवाज कानमा पर्‍यो । श्रीमान् घर विदामा आएका बेला यूएईबाट आएको फोनमा सुनेको कुरा एकछिन त सरितालाई पत्यार लागेन । 

‘फोनबाट कसैले ठग्न खोजेको पो हो कि’ भन्ने लाग्यो सरितालाई । फोनमा बोल्ने व्यक्तिले विश्वास दिलाउने प्रयास गरे ।

सरिता सुनिरहनुभयो । एक मनमा उहाँलाई सामाजिक सञ्जालमा विभिन्न उपहार परेको भन्दै ठगी गरेका खबरहरु सुनेको र पढेका झलझली याद आयो । तर यो खबर सत्य नै थियो । उहाँलाई फोन गर्ने यूएईको अल अहलिया एक्सचेन्जका नेपाल प्रमुख प्रतिनिधी बेनी ढकाल हुनुन्थ्यो । 

नविन घर बिदामा आएकाले यूएईको नम्बरमा फोन लागेन । त्यसपछि पैसा पाउने व्यक्तिको नम्बरमा एक्सचेन्जले फोन गरेको थियो ।  एक्सचेन्जले चलाएको समर ‘प्रोमोसन अफर’ अन्तर्गत पैसा पठाउनेमध्येबाट सोमबार भएको मेघा ड्रमार्फत नविनलाई कार उपहार परेको हो ।

बिदामा नेपाल जानुअघि उहाँले जुलाई १ मा दुबई अलकुजमा रहेको एक्सचेन्जको शाखाबाट श्रीमतीको नाममा नेपाल पैसा पठाउँदा यसपटक उहाँलाई कार उपहार पर्‍यो । नविनले ५ वर्षदेखि अल अहलिया एक्सचेन्जबाट नेपाल पैसा पठाउँदै आउनुभएको थियो ।

खबर नविनलाई पनि पत्याउन गाह्रो भयो

आफूलाई कार उपहार परेको खबर सुरुमा त नविनले पनि पत्याउनुभएन । विभिन्न माध्यमबाट चिठ्ठा परेको भन्दै यस् अघी पनि फोन र म्यासेज उहाँका मोबाइलमा आउने गरेकाले पत्याउन गाह्रो भए पनि एक्सचेन्ज प्रतिनिधिले पैसा पठाएको र उपहार पाएको आधिकारीक प्रमाणबारे जानकारी गराएपछि भने नविनलाई विश्वास भयो । 

झण्डै १५ लाख नेपाली रुपैयाँ बराबरको निशान सन्नीको  कार पाएपछि नविनको परिवारमा यतिबेला खुशी चुलिएको छ । यो कारको मूल्य ५० हजार दिर्हाम अर्थात झण्डै १५ लाख रुपैपाँ पर्छ ।

नविन यूएई फर्किएपछि मात्रै कार हस्तान्तरण गरिने एक्सचेन्जले जनाएको छ । बिजेताले कारको सट्टामा नगद लिन चाहेमा कार कम्पनीसँगको सम्झौता अनुसार नगद लिन पनि सकिने छ । 

नविन ६ वर्षदेखि दुबईको रिटर्ज कार्टनल होटलमा कार्यरत हुनुहन्छ । भाइको विवाहका लागि उहाँ १० दिनको जरुरी बिदा लिएर नेपाल फर्किनुभएको हो ।  

१ किलो सुन पाकिस्तानी नागरिकलाई 

सोमबार दुबई शाखामा स्थानीय निकायका प्रतिनिधि र एक्सचेन्जका विभिन्न शाखाका प्रमुखहरुको उपस्थितिमा लक्की ड्र गरिएको थियो ।

एक्सचेन्जले मे ५ देखि जुलाई ३ तारिखसम्म आफ्ना ग्राहक लक्षित ‘समर प्रोमोसन’ योजना ल्याएको थियो । यो योजनमा एक किलो सुन र १० वटा कार उपहार राखिएको थियो । एक किलो सुन पाकिस्तानी नागरिकले पाएका छन । 

नेपाली नागरिक पाण्डेसहित अरु ५ जना भारतीय, पाकिस्तान, बंगलादेश, श्रींलका र  फिलिपिन्सका एक, एक जनाले निशान कार जितेको एक्सचेन्जले जनाएको छ ।

यूएईमा रहेका विभिन्न रेमिट्यान्सको स्किममा अहिलेसम्म ४ जना नेपालीले उपहार पाएका छन् । कम्पनीका जनरल म्यानेजर कमल सुब्बाले वैधानिक बाटो प्रयोग गर्दा फाइदा हुने भन्दै सबैलाई वैधानिक तवरले पैसा पठाउन आग्रह गर्नुभयो । 

गएको वर्ष पनि यही योजना अन्तर्गत ईलाम ४ जमुनाका नरेन्द्र मगरले एक किलो सुन उपहार पाउनुभएको थियो । 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया