घरजस्तै परदेश

 साउन २४, २०७६ शुक्रबार १८:१५:३८ | बेदानन्द जाेशी

काठमाण्डौ – कतार भिसा सेन्टर, महाराजगञ्ज । हातमा कागजपत्र बोकेका युवा यताउता गर्दैछन् ।

एकजना अधबैंसे काम सकेर भिसा सेन्टर बाहिर आए । अलि पर रुखको छहारीमा उभिए । हातमा बोकेको कागज पट्याएर कमिजको गोजीमा राखे र चुरोट सल्काए ।

‘कतारमा त यसरी चुरोट खान मिल्दैन होला नि ?’ मैले कुरा गर्ने मेसो मिलाउन खोजें । 

‘मिल्छ, म त साहुकै अगाडि पनि खान्छु’, उनले फूर्तिका साथ भने ।

‘अनि केही भन्दैनन् त साहुले ?’ भन्ने प्रश्नमा उनले थपे, ‘उहाँ त मेरो मालिक हो । पाँचतारे होटलमा लगेर रक्सी खाने भए खाउ भन्नुहुन्छ, तर म रक्सी चाहिँ खान्नँ ।’ 
उनको कुरा सुन्दै जाँदा लाग्यो, विदेशमा अरुको गाली सुन्नुपर्छ, दुःखैदुःख हुन्छ भन्ने मात्रै पनि होइन रहेछ । 

पोखरा नौडाँडाका इन्द्र भण्डारीले आफूले काम गर्ने कम्पनीमा कहिल्यै पनि गाली सहनुपरेन । विदेशी नागरिककोझैं व्यवहार भोग्न परेन । त्यसैले त एउटै घरमा १५ वर्षदेखि काम गरिरहनुभएको छ । घरजस्तै प्यारो भएको छ परदेश पनि ।

कतारको कथा 

विदेश जानुअघि इन्द्र पोखरामा ट्याक्सी चलाउनुहुन्थ्यो । गाउँको एकजना साथीले आफू काम गरिरहेको कम्पनीमा काम छ, गर्ने भए आइज भने ।

विदेशमा निकै दुःख गर्नुपर्छ भन्ने सुन्नुभएको थियो । सुरुमा विदेश जाने भनेपछि इन्द्रको मन ढुकढुक भयो । तर नेपालको कमाइले जे गरे नि पुग्ने होइन भन्दै बरु दुई चार वर्ष दुःख गर्छु भनेर इन्द्र विदेश जाने निर्णयमा पुग्नुभयो ।

कतारबाट साथीले नै भिसा पठाइदिए । १४ वर्षअघि सन् २००५ मा इन्द्र कतार उड्नुभयो । साथी काम गरिरहेकै कम्पनीमा काम थाल्नुभयो । इन्द्रलाई गाडी चलाउन राम्रोसँग आउँथ्यो । साहुले आफ्नै कार चलाउने जिम्मा दिए । जहाँ जहाँ साहु पुग्थे, कार लिएर त्यहीँ पुग्नु हुन्थ्यो इन्द्र पनि । 

‘एकदमै रमाइलो भएको छ मेरो कतार बसाइ’, सन्तुष्टीको भावमा उहाँले भन्नुभयो, ‘मलाई भारत टाढा लाग्छ, तर कतार आफ्नै देश जस्तो लाग्छ ।’

उहाँ कतार गएको १५ वर्ष पुग्यो । तर यो बीचमा १० पटक नेपाल आइसक्नुभयो । बिदा सजिलै पाइन्छ। कम्पनीले कहिले छुट्टि दिन्छ र जाउँला भनेर पालो कुरेर बस्नु पर्दैन । घर आउने मन लागे भैहाल्यो, पैसाको चिन्ता छैन ।

‘मलाई बिदा चाहियो भन्नै पर्दैन, घर जान मन लाग्यो भने भैहाल्यो’, इन्द्र भन्नुहुन्छ, ‘साहुले नै टिकट बुकिङ गरिदिन्छन् ।’

त्यति मात्र होइन छोराछोरीको लागि लत्ताकपडा र फर्किनको लागि भनेर खर्चसमेत दिन्छन् साहुले । त्यही भएर त उहाँलाई कतार गएपछि कहिल्यै अभावको महशुस भएन । 

‘जे भए पनि साहु छँदैछन् भन्ने लाग्छ’, उहाँ भन्नुहुन्छ, ‘म भाग्यमानी हुँ, परदेशमा पनि आफ्नोपन भेटें ।’ 

घरजस्तै परदेश

भण्डारी अहिले उमेरले ४७ वर्षको हुनुभयो । एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । छोरा पोखरामै ईञ्जिनियर पढ्छन् । कतारमा उहाँ अटोमोबाइल्स व्यवसायी  खलिल अलजैदाको कार चलाउनुहुन्छ ।

उहाँले लामो समयसम्म एउटै व्यक्तिसँग काम गर्नुभयो, एउटै कम्पनीमा । कहिलेकाहीँ रातिको समयमा पनि गाडी चलाउनुपर्छ। हतारमा  ‘नाइट ड्रेस’मै पनि गाडी कुदाउनु पर्छ ।  

एकपटक यस्तै भयो । हतारमा उहाँ ‘नाइट ड्रेस’मै गाडी चलाउँदै हुनुहुन्थ्यो । कसैले ड्राइभर पनि कस्तो भनेर कुरा काट्यो । त्यतिबेला साहुले  ‘मेरो ड्राइभरले जे लगाए पनि तिमीलाई के मतलब’ भनेको इन्द्र सम्झिनुहुन्छ । 

यस्ता रोचक प्रसङ्ग धेरै छन् । पाँचतारे होटेल कार्यक्रममा जाँदा साहुले पनि इन्द्रलाई सँगै लैजान्छन्, साथीहरुसँग परिचय पनि गराउँछन् । सँगै बसेर खाना खान्छन् ।
इन्द्रलाई विदेशमा हुँदा पनि आफू विदेशमा भएको अनुभव नै हुँदैन । पारिवारिक वातारणमा काम गर्नुपर्छ । त्यो परिवारको एक सदस्यजस्तै हुनुभएको छ । 

‘जति नेपालमा आफ्नो परिवारमा घुलमिल छैन, उति त्यो परिवारमा घुलमिल छु’ उहाँ भन्नुहुन्छ, ‘अब कुनै म्यानपावरले तीन लाख रुपैयाँ दिन्छु भने पनि यो साहुलाई छाडेर अन्त जान्नँ ।’

वैदेशिक रोजगारीमा गएकाहरुको पीडा सुनेपछि इन्द्रलाई लाग्छ, ‘विदेश सोचेजस्तो राम्रो छैन, तर आफ्नै अनुभवले भन्छ, ‘घरभन्दा प्यारो परदेश ।’

जान्न भन्दा पनि जानै पर्ने

महिनाको तीनहजार कतारी रियाल अर्थात ९० हजार रुपैयाँ तलब थियो इन्द्रको । खान बस्न सबैै साहुकै । चाडपर्व आउँदा पाइने बोनससमेत गरेर राम्रै बचत हुन्थ्यो ।
वर्षैपिच्छे नेपाल आइरहनुहुन्थ्यो ।

त्यो पनि दुई, तीन महिनाको बिदामा । दशैंमा घर आएको बेला त झनै दशैँ खर्च भनेर साहुले कतारबाटै पैसा पठाइदिन्थे । उपचार गर्नुपर्ने भएमा जति खर्च भए पनि चिन्ता लिनुपर्ने केही थिएन । आफू नेपालमै भए पनि कतारबाट पैसा आइपुग्थ्यो । 

पाँच कक्षा मात्र पढाइ । राम्रोसँग जानेको सीप ड्राइभिङ । नेपालमा काम गरे बढीमा २०÷३० हजार रुपैयाँको जागिर पाइन्थ्यो । तर पनि उहाँ अब विदेशमा नबस्ने भनेर अघिल्लो वर्ष नेपाल फर्किनुभयो ।

‘लामो समय विदेश बसियो, घरको आर्थिक समस्या पनि टरिसकेको थियो, अब परिवारसँगै बस्नुपर्यो भनेर नेपाल फर्केँ’, उहाँले नाक खुम्च्याउँदै भन्नुभयो, ‘तर त्यसो भएन, जान्नँ भन्दा पनि फेरि जानैपर्ने भयो ।’

साहुले पटक पटक फोन गरेर बोलाएपछि उहाँकोे फेरि उतै जाने तयारीमा हुनुहुन्छ । नेपालमा पनि भनेजस्तो काम नपाएर त्यत्तिकै बसिरहनुभएको थियो । साहुले भिसासमेत पठाइदिए । इन्द्रले आउँदिन भन्न सक्नुभएन ।

‘मालिकले फोन गरेर बोलाएको बोलाई गर्नुभयो, नाईँ भन्नै सकिएन’, उहाँले भन्नुभयो, ‘अब त उता पनि आफ्नै घर जस्तो लाग्छ ।’
 

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया