युएई पुर्‍याएर अरु देशमा बेच्न लागिएका दुई महिलाको उद्धार, तस्करीमा महिलाकै प्रयोग

 असार २८, २०७५ बिहिबार १३:५१:४७ | उमाकान्त पाण्डे

युएई – भारतको बाटो हुँदै अरु देशमा बेच्न लागिएका दुई जना महिलाको युएईबाट उद्धार गरिएको छ । नेपालको पूर्वी नाका हुँदै भारत र भारतको बाटो हुँदै युएई ल्याएर अन्य देशमा बेच्न लागिएका बर्दियाकी रेनुका विक र उदयपुरकी भुपकुमारी कार्कीको उद्धार गरिएको हो ।

योसँगै मानव तस्करले अरु देशको बाटो हुँदै युएई, कुवेत, ओमान लगेर नेपाली महिला बेचिरहेको तथ्य सार्वजनिक भएको छ । खाडीमा घरेलु महिला कामदारको रुपमा जान बैधानिक बाटो बन्द भए पनि तस्करहरुले अरु देशको बाटो हुँदै युएई, कुवेत, ओमान पुर्‍याउने गरेका हुन् । 

केही समय युएईका बिभिन्न ठाउँमा काममा लगाएपनि पछिल्लो समय अलऐनको टाउनसेन्टरमा रहेको घरेलु महिला कामदार सप्लाई कम्पनीमा बन्धक बनाएर खाडीमा बेच्न  राखिएका उनीहरुलाई बुधवार नेपाल फर्काइएको हो । 

आफूहरुलाई बन्धक बनाएर राखेको भन्दै उनीहरुले सामाजिक सन्जालमार्फत भिडियो सार्वजनिक गरेपछि एनआरएन युएई अलऐन क्षेत्रीय समितिको सहयोग तथा नेपाली दुतावास आबुधाबीको समन्वयमा उद्दार गरिएको हो ।

भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि अलऐनमा रहेकी एनआरएन केन्द्रिय सदस्य तथा महिला सेलकी कुमारी तामाङको अगुवाइमा महिला बन्धक बनाएको स्थानसम्म पुगेर उद्दार गरिएको हो । 

दूतावास र एनआरएनको दबाबपछि पोल खुल्ने डरले यहाँको स्थानीय एजेन्टलेनै गोप्य रुपमा हवाई टिकट बनाएर आबुधावी विमनस्थलमार्फत विक र कार्कीलाई नेपाल पठाएको एनआरएन अलऐन क्षेत्रीय अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । 

उद्दार गरिएका महिलालाई नेपालमा रहेका एनआरएन युएईका युवा संयोजक नविन पौडेलले विमान्स्थलबाटै पौरखी नेपालका प्रतिनिधिको जिम्मा लगाउनुभएको छ । 

महिला तस्करीमा महिलाकै प्रयोग 

विभिन्न बाटोबाट अवैधानिक रुपमा महिला बेचबिखन कार्यमा महिलाले नै संलग्न रहेको खुलेको छ । युएईको अजमान र अलऐनमा रहेको महिला सप्लाई कम्पनीमा झापाकी गीता रोका, अन्जली र अनिता नाम गरेका महिला कर्मचारीको रुपमा काम गर्ने र उनीहरुकै सहयोगमा महिलाहरु यहाँ ल्याउने गरेको पीडितले बताएका छन । 

तर उनीहरुले भने आफूले घरेलु महिला कामदार सप्लाई गर्ने भएपनि अवैधानिक रुपमा महिलाहरुलाई बेच्ने काममा संलग्न नभएको दावी गरे । आफु कार्यरत कम्पनीमा नेपाली महिला धेरै आउने र अलऐन तथा अजमानमा महिलाहरुलाई रोजेर बेच्न राखिने स्वीकारे पनि उनीहरुले आफू त्यसमा संलग्न नभएको बताएका हुन् ।

गीता रोकाले आफूले समस्यामा परेकाहरुलाई उद्धार गर्न सहयोग गरेको दावी गरिन् । केही दिन अघि पनि सोही स्थानबाट एनआरएन युएईले बर्दियाकी सीमा चन्द ठकुरीको उद्धार गरेको थियो । 

स्थानीय प्रशासन मार्फत दूतावासले पहल गरे युएई हुँदै अबैध रुपमा हुने गरेको महिला बेचबिखन रोक्न सकिने उद्दारमा खटिनेहरुको भनाइ छ ।
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया