‘आफ्नै गाउँ फर्की आएँ’

विदेशबाट रमाउँदै आफ्नै भूमिमा

 असोज १९, २०७६ आइतबार ९:३३:१० | बेदानन्द जाेशी

काठमाण्डौ – न गर्मी, न जाडोको मौसम । खुलेको आकाश । दशैँको शुभकामना लेखिएका विज्ञापन । त्रिभुवन विमानस्थलमा मान्छेको बाक्लो आउजाउ छ । कोही जहाज चढ्दै छन् भने कोही ओर्लिंदै छन् । जहाजबाट ओर्लनेहरु ट्रली गुडाउँदै ट्याक्सी भएतिर जाँदैछन् । 

यसैगरी ट्रली गुडाउँदै हुनुहुन्छ, सर्लाही इश्वरपुरका कमल पुडासैनी मगर पनि । हँसिलो अनुहार, कसैलाई देख्न हतारिएका आँखा । उहाँका नजर टक्क गएर विमानस्थल बाहिर उभिरहेकी एक महिलामा अडिए । उहाँ मुस्कुराउँदै उतैतिर जानुभयो । 

केहीबेर दुवै जनाले एकअर्कालाई हेरिरहे । निकै भावुक बने । दुवैको अनुहार खुशीले पुलकित भयो । धेरैपछि विदेशबाट फर्किएका श्रीमानलाई देखेर सुरुमा लजाउनुभयो मनिता कुमारी पुर्वाछाने । अनि कुरा सुरु गर्नुभयो, ‘आरामैसँग आइपुग्नुभयो नि ?’

कमल फिस्स हाँस्नुभयो । हाँसेरै जवाफ दिनुभयो, ‘अँ, आरामैसँग पुगेँ नि ।’

सन् २०१० मा कतार गएका कमल यसअघि तीन वर्ष पहिले आउनुभएको थियो घर । त्यतिबेला केही दिन बसेर फेरि कतार उड्नुभयो । वैदेशिक रोजगारीमा लामो समयदेखि कतारमा काम गर्दै आएका कमललाई घरको न्यास्रोले सताइरहन्थ्यो । 

कतार गएको यति लामो समयमा उहाँले दुई पटक मात्र घरमा दशैँ मनाउन पाउनुभयो । ‘यसपालिको दशैँ त घरमै मनाउँछु भनेर आएको’, उहाँले भन्नुभयो, ‘घरमै दशैँ मनाएजस्तो कहाँ हुन्छ र विदेशमा !’

धेरै वर्ष श्रीमानबिना नै दशैँ मनाउनुभयो मनिताले पनि । तर यसपटक श्रीमान् साथमै हुनुहुन्छ । उहाँ निकै खुशी देखिनुहुन्छ । खुशीले मनिताको मन ढकमक्क फुलेको छ । धेरै वर्षपछि श्रीमानसँगै दशैँ मनाउन पाउँदा कसको मन फुल्दैन र ?

वैदेशिक रोजगारीबाट दशैँमा घर फर्किन नपाएकाहरुका श्रीमतीलाई कस्तो लाग्दो होला ? कति खल्लो हुन्छ होला दशैँ ?आखिर जसले पीडा भोगेको हुन्छ, सुखको अनुभूति पनि उसैले लिन्छ । त्यही भएर त यस्ता प्रश्नहरुको जवाफ छ मनितासँग । 

‘उहाँ नहुँदा त कस्तो खल्लो खल्लो लाग्थ्यो दशैँ’, श्रीमानतिर हेर्दै भन्नुभयो, ‘योपालि त धेरै नै रमाइलो हुने भयो ।’

‘दशैँकै लागि काम छाडेर घर आएँ’ 

सन् २०१० मा कतार गएदेखि कमल एउटै कम्पनीमा काम गर्दै आउनुभएको छ । उहाँ टेकफ्यान कन्स्ट्रक्सन कम्पनीमा अफिस ब्वाइको काम गर्नुहुन्छ। महिनाको ५० हजार रुपैयाँ जति कमाइ हुन्छ ।

तीन वर्षदेखि घर आउन पाउनुभएको थिएन । त्यसमाथि घरमा दशैँ नमनाएको त चार/पाँच वर्ष भइसकेको थियो । त्यही भएर यस पटक दशैँ पनि मनाउने भनेर घर आउन खोज्नुभयो । तर कम्पनीले बिदा दिएन ।

मनै त हो नि ! धनभन्दा मन ठूलो भन्छन् । दशैँमा घर जाने कमलको मनको अगाडि कम्पनीको केही लागेन । ‘बिदा नदिए पनि म त जान्छु भनेर आएको नि’, उहाँले भन्नभयो, ‘छुट्टी मिल्दैन भन्यो, मैले क्यान्सिल हानेर आएँ ।’

देशको माया, परिवारको माया र मुखैमा आएको दशैँको मायाको अगाडि विदेशको जागिरको केही चलेन । दश वर्षदेखि काम गर्दै आएको जागिर दशैँको लागि भनेर चटक्कै छोडेर आउनुभयो । अब कम्पनीले बोलाएर भिसा पठायो भने जाने नभए नजाने सोच्नुभएको छ ।

‘आफ्नो देश भन्या आफ्नै देश हो नि’, उहाँ भन्नुहुन्छ, ‘पैसा धेरै कुरा हो तर पैसाकै लागि देश र परिवारको माया मार्न त भएन नि ।’

आएँ फर्केर विदेशबाट रमाउँदै आफ्नै भूमि

विदेश जानु हुँदैन, देशलाई माया गर्नुपर्छ, स्वदेशमै उद्यम गर्नुपर्छ भन्छन् । तर कमललाई भने यस्तो लाग्दैन । ‘परदेशिने मान्छेलाई देशको माया हुँदैन भन्ने छ र?’, उहाँ भावुक हुँदै भन्नुहुन्छ, ‘परदेशिनेलाई झन् बढी देशको माया हुन्छ ।’

‘बाध्यताले पो विदेश जाने हो त’, उहाँ थप्नुहुन्छ ।

परदेश जाँदा पीडा थाहा हुन्छ । देशको न्यास्रोले पिरोलेको हुन्छ । त्यही न्यास्रोलाई भुल्न गीत गुनगुनाउँछन् । दिनभरीको थकानलाई भुलेर राति कोठामा आएर देशको बारेमा दुई शब्द डायरीमा लेख्नेहरु पनि परदेशिएकाहरु नै हुन्छन् ।

कमल आफै गीत लेख्नुहुन्छ । गाउनु पनि हुन्छ । उहाँले तीन वर्ष पहिले ‘आफ्नै हो जन्मभूमि आफ्नै हो सुन्दर भूमि, आएँ फर्केर विदेशबाट रमाउँदै आफ्नै भूमि’ भन्ने गीत रेकर्ड गराउनुभएको छ । 

यो दशैँमा गाउँघरका कार्यक्रममा यो गीत गाउने निकै धोको छ कमललाई । कमल जस्तै दशैँमा घर आउनेहरु धेरै छन् ।

विमानस्थलमा वैदेशिक रोजगारीबाट घर फर्कनेहरुको दृश्यले जोकसैलाई एकपटक सोच्न बाध्य पार्छ, ‘खाडीमा पसिना बगाइरहेका सबै नेपाली युवाहरुले आफ्नै देशमा चाडपर्व मनाउन पाउने दिन कहिले आउला ?’

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया