नेपाली युवाहरुमा बढ्दाे युराेप माेह : ठगिने क्रम खाडीबाट युरोपतिर

 पुस २७, २०७६ आइतबार १४:२:८ | बेदानन्द जाेशी

घटना नम्बर १ : युरोपेली देश भनेर अफ्रिकी देश

पर्वतका विशाल विश्वकर्माले युरोपेली देशमा धेरै कमाइ हुन्छ भन्ने सुन्नुभएको थियो । त्यही भएर उहाँले पनि युरोपेली देशमै जाने निर्णय गर्नुभयो ।

गएको असारमा युरोपेली देश पठाउने म्यानपावरको खोजीमा उहाँ पर्वतबाट काठमाण्डौ आउनुभयो ।बानेश्वरमा रहेको बीएनबी एचआर प्राइभेट लिमिटेड म्यानपावरसँग उहाँको सम्पर्क भयो ।

म्यानपावरले युरोपेली देश हो भन्दै घाना पठाइदिने कुरा गर्यो । विदेशको बारेमा केही जानकारी नभएका विशाललाई अफ्रिकी देश घाना युरोपेली देश जस्तै ठान्नुभयो ।

सरकारले वैदेशिक रोजगारीमा जान खुला गरिएका देशको बारेमा पनि उहाँलाई थाहा थिएन । सरकारले श्रम स्वीकृति नै नदिएको देश घाना जानको लागि उहाँ तयार हुनुभयो ।

म्यानपावरले १५ सय ७० डलर तलब र ६ देखि ७ सय डलर ओभरटाइम कमाई हुन्छ सम्झौता पत्र बनायो । नेपाली दुई लाख रुपैयाँभन्दा बढी कमाई हुने विश्वास दिलाएपछि विशाल उत्साहित हुनुभयो । त्यसपछि उहाँ म्यानपावरले मागेजति रकम १२ लाख बुझाएर घाना जान राजी हुनुभयो । त्यतिबेलासम्म म्यानपावरले पैसा मागेको थिएन । तर भिसा आउनेबित्तिकै पैसा बुझाउनुपर्छ भनेको थियो । उहाँसँगै अरु २२ जना पनि घाना जानको लागि तयार थिए ।

त्यसपछि सबैको भिसा आयो । दुई वर्षको वर्किङ भिसा थियो । श्रम कार्यालय ताहाचलमा लगेर अभिमुखीकरण कक्षा पनि दियो । एक हप्ताभित्र उड्ने भन्दै म्यानपावरले सबैसँग पैसा माग्यो ।

धेरैले पुरै पैसा बुझाए भने केहीले आधा मात्र बुझाए । विशालले पनि भिसा नआएसम्म सबै रकम नबुझाउने भनेर आधा रकम अर्थात ६ लाख ५० हजार रुपैयाँ मात्र बुझाउनुभयो । 

त्यसपछि सबै घाना उड्ने पर्खाइमा थिए । म्यानपावरले गएको असोज १७ गते उडान हुन्छ भनेको थियो तर त्योबेला दशैंको बहाना पारेर उडान रद्द भएको कुरा गर्यो । त्यसपछि पनि पटकपटक गरेर उडान रद्द भएको भन्दै म्यानपावरले कसैलाई पनि पठाएन । आफूलाई नपठाएपछि सबैले पैसा फिर्ता माग्न थाले । तर म्यानपावरले पैसा फिर्ता दिन आनाकानी गरिरह्यो ।

विशाल तीन महिनादेखि काठमाण्डौमै हुनुहुन्छ । म्यानपावरले पैसा दिन्छ र आफू घर फर्किन्छु भनेर उहाँ भाैतारिरहनुभएको छ । 

यही म्यानपावरले यसअघि पनि ११ जनालाई भिजिट भिसामा घाना पठाएको थियो । तर काम नपाएर खाना बस्नको पनि समस्या भोगेपछि उनीहरु दुई महिनामै नेपाल फर्किए । कम्पनीले काममा नलगाएपछि म्यानपावरले नै उनीहरुलाई नेपाल ल्याएको थियो । 

 

घटना नम्बर २ : पोल्याण्ड पठाइदिने भन्दै पैसा लिएर एजेण्ट फरार

नुवाकोटका राजन भट्टराई पनि युरोपेली देश जाने लोभमा ठगिनुभयो । सन् २०१२ देखि १६ सम्म ४ वर्ष कतारमा काम गरेर स्वदेश फर्किएका राजनको अढाई वर्ष गाउँमा त्यत्तिकै बित्यो । 

बिस्तारै उहाँलाई खाडी देशभन्दा युरोपेली देशमा कमाइ बढी हुने र त्यहाँ जान पाए उतैको ग्रिनकार्ड पाउन सकिन्छ भन्ने लाग्यो । त्यसपछि उहाँ गएको जेठमा युरोप पठाइदिने म्यानपावरको खोजी गर्न काठमाण्डौ आउनुभयो । फेसबुकबाट उहाँको भेट मणिकुमार राई नाम गरेका एजेण्टसँग भयो । 

एजेण्टले राजनलाई आठ लाख रुपैयाँमा पोल्याण्ड पठाइदिने भनेर ढुक्क बनायो । मणिकुमारको कुरा पत्याएर राजनले जे जे उसले भन्यो त्यही त्यही गर्नुभयो । मणिकुमारले सुरुमै राजनबाट दुई लाख रुपैयाँ लिए ।

भिसा लगाउने समय भइसक्यो भनेर पैसा मागेपछि नदिने कुरा पनि भएन । युरोप जान पाउने आशमा खुशी हुँदै राजनले ऋण गरेर असारको अन्तिममा मणिकुमारको हातमा दुई लाख रुपैयाँ थमाउनुभयो ।

हातमा दुई लाख रुपैयाँ परेको दुई दिनमै मणिकुमारले कुरा फेरे । पोल्याण्डको लागि अहिले काम नभएको भन्दै माल्टा पठाइदिने भने । माल्टा पनि युरोपेली देश नै त हो भनेर राजनलाई कुनै आपत्ती भएन ।

तर माल्टा पठाइदिने कुरा पनि दुई दिनमै असफल भयो । माल्टामा अहिले नहुने भयो भन्दै फेरि घाना पठाउने कुरा गरे मणिकुमारले । मणिकुमारमार्फत त्यही देशमा जान लागेका अरु पाँचजना पनि थिए । सबैबाट मणिकुमारले भिसा लगाउनको लागि भनेर पहिले नै दुई–दुई लाख रुपैयाँ मागिसकेका थिए ।

त्यसपछि उनले घानाको भिसा लागिसक्यो अब उडान हुन्छ चाँडै पैसा जम्मा गर्नुपर्यो भनेर मोबाइलमा भिसा लागेको फोटो पनि देखाए र बाँकी पैसा उठाउन सुरु गरे ।

भिसा लागिसकेको भनेपछि पैसा नदिने कुरा भएन, त्यसपछि सबैले पैसा दिन सुरु गरे । साउन १२ गतेसम्म सबैले रकम बुझाइसकेका थिए ।

‘मैले दुई लाख रुपैयाँ पहिले नै दिएको थिएँ, पछि आईएमई गरेर ६ लाख रुपैयाँ दिएँ’, राजनले भन्नुभयो, ‘कसैकसैबाट त १० लाख रुपैयाँ पनि मागेको रहेछ ।’ सबैबाट यति धेरै रकम संकलन गरिसकेपछि भदौ ८ गते बिहान ११ बजेको फ्लाइट छ भनेर मणिकुमारले सबैलाई तयार हुन भने । भदौ ८ गते सबैजना बिहानै एयरपोर्ट पुगे ।

तर भिसा र टिकट लिएर बिहानै एयरपोर्ट आइपुग्छु भनेका एजेण्ट मणिकुमार ११ बजिसक्दा पनि पुगेनन् । न उनी आए, न त उनले आउँछ भनेको जहाज नै आयो । त्यसपछि नक्कली भिसा देखाएर मणिकुमारले आफूलाई ठगेको भन्ने थाहा भयो राजनलाई ।

‘उसको सबै कुरा झुटो रहेछ’, पछुताउँदै राजनले भन्नुभयो ‘डुप्लिकेट भिसा देखाएको रहेछ, बल्ल पो थाहा भयो ।’ 

त्यसपछि राजनले पटकपटक सम्पर्क गर्न खोज्दा मणिकुमारसँग सम्पर्क हुन सकेन । अहिले राजन ठगिएको रकम फिर्ता र एजेण्टलाई कारवाही गरिपाउँ भन्दै सम्बन्धित कार्यालय धाइरहनुभएको छ । तर आवश्यक प्रमाणको अपुग हुँदा न्याय पाउनमा उहाँलाई समस्या भइरहेको छ ।

‘पैसा लिँदा वैदेशिक रोजगारीमा पठाइदिने भनेर कागज पनि बनाइदिएन’, राजन भन्नुहुन्छ, ‘अहिले यता उजुरी गर्दा प्रमाण चाहियो भन्छ, म के देखाउँ ?’

घटना नम्बर ३ : मकाउको आश देखाएर ग्रीस, प्रहरी देखि अपहरणकारीको फन्दा

कञ्चनपुर बेलडाँडीका राम चौधरी र लक्ष्मण चौधरी दुईजना जुम्ल्याहा दाजुभाइ पनि युरोेपेली देश जानलाग्दा ठूलै ठगीमा पर्नुभयो । उहाँहरु त ठगीमा मात्र पर्नुभएन ग्रीसमा अपहरणकारीको फन्दामा पनि पर्नुभयो र जसोतसो ज्यान जोगाएर घर फर्किनुभयो ।

२०७२ को मंसिर महिना । मकाउ जाने तयारीमा रहेका दुई दाजुभाइको भेट अर्जुन अधिकारी भन्ने एजेण्टसँग भयो । काठमाण्डौमा उहाँहरुको भेट भएको तीन दिनमै अब भिसा लगाउनुपर्छ भनेर अर्जुनले तीनलाख रुपैयाँ मागे । रामलक्ष्मणले पनि मागे जति पैसा बुझाउनुभयो ।

पैसा बुझाएको तीन महिनामा भिसा आउँछ भनको थियो । तर पाँच महिना बितिसक्दा पनि आएन ।  पछि एजेण्ट अर्जुनले कुरा फेरे । मकाउको लागि अहिले बाटो बन्द भएको र १५ लाख रुपैयाँमा जापान पठाइदिने कुरा गरे । जापान जान दुवैजना राजी भए ।

जापानको भिसा आइसक्यो भन्दै एजेण्टले २०७२ साल माघ ३ गते राम लक्ष्मणलाई काठमाण्डौ बोलाए । रामलक्ष्मण परिवार र गाउँबाट टिकाटालो लगाएर जापान जानको लागि बिदा भएर काठमाण्डौ आए र १३ लाख रुपैयाँ बुझाए ।

दिल्लीबाट जापान जाने भनेर एजेण्टले दिल्ली पुर्यायो । तर दिल्ली ल्याइसकेपछि जापान पनि रद्ध भयो त्यही पैसामा अब ग्रिस पठाइदिने भन्न थाल्यो । सुरुमै त्यत्रो पैसा फसिसकेकोले राम लक्ष्मण ग्रीस जान तयार भए । 

टर्कीको बाटो भएर ग्रीस जानुपर्ने भनेर सुरुमा टर्की पठायो । टर्कीमा उहाँहरुले निकै दुख पाउनुभयो । एजेण्ट अर्जुनको सञ्जाल टर्कीमा पनि थियो । त्यहाँ रामलक्ष्मण जस्तै ग्रीस जानको लागि भनेर आएका पाकिस्तानी र बंगालीहरु पनि थिए । 

चोर बाटो अपनाएर बल्ल दुई महिनापछि उनीहरुलाई एजेण्टले टर्कीबाट ग्रीस पुर्याए । त्यहाँ अर्का पाकिस्तानी एजेण्ट थिए । एकहप्तासम्म त्यहाँ राखेपछि राम लक्ष्मणसहित ८ जना बंगाली र पाकिस्तानीहरुलाई टिकट काटेर एथेन्सको रेलमा चढाइदिए । 

एथेन्स पुगेपछि अवैधानिक बनेका राम लक्ष्मण त्यहाँबाट टाढाको गाउँमा काम गर्न थाल्नुभयो । त्यहीबेला स्थानीय गुण्डाहरुले अपहरण गरे । घाँटीमा चक्कु तेर्साएर अपहरणकारीले उनीहरुसँग पैसा माग्न थाले । रामका बुवाले पनि बाँकी रहेकोे आफ्नो जग्गा पनि बेचेर छोरालाई बचाउनको लागि पैसा पठाउनुभयो । एक हप्ता अपहरणमा पर्दा पटकपटक गरेर घरबाट ८ लाख रुपैयाँ पठाउनुपर्यो । उनीहरु बल्लबल्ल अपहरणकारीबाट भाग्न सफल भए ।

निकै दुःखकष्टका साथ बसेका उनीहरुलाई नेपाल फर्काउन अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले सहयोग गर्यो । झण्डै तीन वर्षको कष्टदायी विदेशको बसाइ पछि २०७५ सालको मंसिरमा राम लक्ष्मण नेपाल आउनुभयो । 

.............

यी तीन त प्रतिनिधि घटना मात्र हुन् । पछिल्ला दिनहरुमा युरोप जाने आशमा धेरै नेपालीहरु यसैगरी ठगिएका छन् । पहिले खाडी जाने धेरै नेपाली ठगीमा पर्थे । अहिले यूरोप जानेहरु बढी ठगीमा पर्न थालेका छन् ।

खाडी देशमा २०/३० हजारदेखि १/२ लाख रुपैयाँसम्म ठगी हुन्छ भने युरोपेली देश जाने क्रममा एक लाख देखि १० लाख रुपैयाँसम्म ठगिनु सामान्य नै भएको छ । 
युरोप भनेपछि आँखा चिम्लेर एजेण्टमाथि विश्वास गर्दा नेपाली युवायुवतीहरु ठगिने गरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालीहरु कामको लागि पोल्याण्ड, न्युजिल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, फीनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, ग्रीस, टर्की , रसिया, माल्टा, स्पेन र नर्वे पुग्ने गरेका छन् ।

यी १४ देशमा आर्थिक वर्ष २०७३/७४ मा  २ हजार १ सय ४५ जना रोजगारीको लागि गएका थिए । आर्थिक वर्ष २०७४/७५ मा यो संख्या ४ हजार ८ सय २१ ले बढेर ६ हजार ९ सय ९९ पुग्यो । आर्थिक वर्ष २०७५/७६ मा ६ हजार ३४ नेपाली कामदार युरोपका यी देशहरुमा पुगेको तथ्याँक छ ।

म्यानपावर कम्पनीमाथि कडाइ गरेका कारण गएको आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कम कामदार गएको हुनसक्ने विभागको अनुमान छ । यीमध्ये कुन देशमा कति ठगी भए भन्ने विभागसँग तथ्याँक छैन । तर पछिल्लो समय यी देशहरुमा हुने ठगी बढीरहेको विभागले जनाएको छ ।

युरोपेली देशमध्ये पनि रोजगारीको लागि माल्टा, पोर्चुगल, पोल्याण्ड, टर्कीमा नेपालीहरु बढी जाने गरेको र ठगी पनि यिनै देशमा बढी हुने गरेको वैदेशिक रोजगार विभागका निर्देशक हरिप्रसाद ज्ञवाली बताउनुहुन्छ ।

‘युवाहरुमा बढ्दो युरोप मोहका कारण ठगिने क्रम पनि बढेको देखिन्छ’, उहाँले भन्नुभयो, ‘खाडी देशको भन्दा बढी कमाइ हुने र युरोप भनेपछि समाजमा हेर्ने दृष्टिकोण पनि अलि सकारात्मक हुने भएकाले म्यानपावरमाथि आँखा चिम्लेर विश्वास गर्दा धेरै नेपाली ठगिने गरेको देखिन्छ ।’

एजेण्टको ठगी र ठगिनेमा पढेलेखेका धेरै 

सरकारले वैदेशिक रोजगारीमा हुने ठगीलाई रोक्न एजेण्ट खारेज गरे पनि ठगिने क्रम रोकिएको छैन । युरोपेली देशमा जाँदा समस्यामा परेर कानुनी परामर्शको लागि आउनेमध्ये एजेण्टको ठगीमा परेकाहरु धेरै भएको पिपुल फोरममा आवद्ध अधिवक्ता सुदिप देवकोटा बताउनुहुन्छ  । 

उहाँका अनुसार पहिले खाडी देशमा कामदार पठाउन सक्रिय एजेण्टहरु अहिले युरोपेली देशमा पठाउने नाउँमा ठगी गरिरहेका छन् । 

‘एजेण्ट खारेज भएका छैनन्, उल्टै उनीहरुले बलियो बाटो अपनाएका छन्’, उहाँ भन्नुहुन्छ, ‘पहिले खाडीमा पठाउने निहुँमा कम रकम ठगी गर्थे भने अहिले युरोप पठाउने बहानामा बढी रकम ठगी गर्न पाइरहेका छन् ।’

युरोपेली देशमा काम गर्न जाने भनेपछि थोरै भए पनि अंग्रेजी बोल्न र लेख्न जान्ने हुनुपर्छ । म्यानपावरले पनि सामान्य अंग्रेजी बोल्न र लेख्न जान्ने भनेर विज्ञापन गरेको हुन्छ । अलिकति पढेलेखेका र अंग्रेजी फरर बोल्न जान्नेहरु एजेण्टको निशानामा पर्छन् ।

यति राम्रो अंग्रेजी बोल्न जान्नेले त सजिलै काम पाउनुहुन्छ भनेर प्रलोभनमा पार्दै उनीहरुबाट ठूलो रकम असुलेर फरार हुने गरेको र पठाइहाले पनि अवैधानिक बाटो भएर पठाउँदा गन्तव्य देशमा पुगेर दुःख पाउने गरेको देवकोटा बताउनुहुन्छ ।

ठगीबाट बच्ने उपाय 

युवाहरुमा युरोपको आकर्षण बढेको छ । यही मौकालाई ताकेर बसेका हुन्छन् एजेण्ट र म्यानपावर पनि । यस्तो अवस्थामा हतारमा निर्णय लिँदा ठगीमा पर्न सक्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसाल बताउनुहुन्छ । 

पछिल्लो समय भारतको बाटो हुँदै युरोपेली देश पठाउने गरेका कारण कतै एजेण्ट वा म्यानपावरले अवैधानिक बाटो अपनाइरहेको पो छ कि भनेर सुरुमै आफू सचेत रहन उहाँको सुझाव छ ।

‘कुन देश पठाउँछु भनेको छ त्यो देशको बारेमा आफै‌ंले इन्टरनेटमा सर्च गरेर, नेपाल सरकारले स्वीकृति दिएको छ या छैन भन्ने राम्रोसँग बुझेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्छ’, महानिर्देशक भूसाल भन्नुहुन्छ, ‘कसैले दुईमुखे कुरा गरेर भारतको बाटो हुँदै युरोप पठाउने भन्ने कुरा गरे पनि विश्वास गर्नु हुँदैन ।’


 

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया