श्रम मन्त्रीले केही गरेन नभन्नुहोस्, स्वदेश फर्काउनको लागि गृहकार्य गर्दैछौं :  श्रम मन्त्री यादव

 बैशाख २३, २०७७ मंगलबार १२:१६:५८ | सन्जिता देवकोटा
unn.prixa.net

नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमणको जोखिम बढेसँगै त्यहाँ रहेका नेपालीमा पनि डर र त्रास बढेको छ । समस्याहरु थपिएका छन् । अन्तर्राष्ट्रिय उडान रोकिंदा घर आउन झोला पोको पारेर ठिक्क परेकाहरु समेत उतै रोकिएको महिना दिनभन्दा धेरै भैसकेको छ । त्यसैले पनि परदेशमा रहेका धेरैको मनमा सरकारले कहिले स्वदेश फर्कने बाटो खोलिदेला भन्ने खुल्दुली छ । परदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन सरकारको तयारी चाहिँ के छ त ? यिनै विषयमा सन्जिता देवकोटाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसित कुराकानी गर्नुभएको छ ।

तपाईंले केही पहिले वैदेशिक रोजगारीमा रहेकाहरुलाई नआत्तिनुहोस्, लकडाउन खुकुलो भएपछि उनीहरुको घरफिर्तीको लागि प्रक्रिया थाल्छौं भन्नुभएको थियो ? अहिले वैदेशिक रोजगारीमा रहेका धेरै श्रमिकले हामी कहिले आउन पाउँछौं भनेर सोधिरहेका छन् । उनीहरुको स्वदेश फिर्तीका लागि सरकारको तयारी के छ  ?

अहिलेको परिस्थितिमा नेपालमा मात्र लकडाउन छैन, विश्वभरी नै छ । दुनियाँमै लकडाउन भएको बेला नेपालमा खोलेर मात्र हुँदैन । नेपालीलाई कहाँ कस्तो समस्या परेको छ, त्यसको पहिचान हामी गर्दैंछौं र विभिन्न कुटनीतिक प्रतिनिधिसँग कुराकानी पनि गरिरहेका छौं । कसको अवस्था के छ भनेर हामी सम्पर्कमै छौं ।

र उनीहरुलाई कहिलेसम्म बोलाउने भनेर देशभित्र र बाहिर पनि जस्तै कुवेतको सरकार, यूएईको सरकारसँग पनि कुरा भइरहेको छ । व्यवस्थापकीय पक्षको लागि पनि छलफल भइरहेको छ । 

व्यवस्थापकिय पक्षको लागि पनि हामीले सोच बनाइरहेका छौं । उताबाट ल्याउनेबित्तिकै घर पठाउनु भएन । क्वरेण्टीनमा राख्नुपर्यो । अब हाम्रै नेपालभित्र पनि सङ्क्रमणको अवस्था बढ्दैछ ।

यस्तो अवस्थमा बाहिरबाट ल्याउँदा पनि स्वास्थ्य परीक्षण गरेर मात्रै ल्याउनुपर्यो । यस्तो अवस्थामा त्यहाँ पनि स्वास्थ्य परीक्षण गर्ने र यहाँ पनि क्वेरण्टीनमा राखेर ठीक भएपछि मात्र समुदायमा पठाउने हो । त्यसको पनि व्यवस्थापनको लागि हामीले उच्चस्तरीय समितिदेखि सरकार सबै निकायसँग छलफल  गरिरहेका छौं र पूर्ण तयारी भएपछि हामी ल्याइहाल्छौं ।

म्रो प्राथमिकता भनेको नेपाली नै हो । तर नेपालको समस्या उनीहरुको पनि समस्या हो । उनीहरुको समस्या हाम्रो पनि समस्या हो ।

हामीले यहीबेला ल्याउने भनेर मिति नै तोकेका छैनौं ।  गन्तव्य देशबाट रोजगारदाताले बिदा दिएको छ र हाम्रा श्रमिक दाजुभाइ दिदीबहिनीहरुको जहाज व्यवस्थापन भएको छैन ।

त्यहाँ रहेका कुटनीतिक प्रतिनिधिहरुले पनि व्यवस्थापन गर्न नसकेको अवस्थामा ल्याउने मिति तय नभएको हो, तर सोच भइरहेको छ । छलफल भइरहेको छ । कुनै नेपालीलाई कुनै पनि किसिमले दुःख अप्ठ्यारो पर्न दिंदैनौ ।

तपाईंले कुटनीतिक पहल गरिरहेका छौं भनिरहँदा अहिले कतिपय नेपाली श्रमिकहरुलाई खान,बस्नकै समस्या भइरहेको छ । अनि कति जना बिरामी पनि छौं हामीलाई मात्र उद्धार गरे पनि हुन्थ्यो भनिरहेका छन् । यस्तै कुवेतमा पनि आममाफीमा सहभागी भएर नेपाल फर्किने दिन कुरेर बसिरहेका छन् । उनीहरुलाई फर्काउनेबारे सरकारले के सोचिरहेको छ ?

हाम्रो जानकारीमा छ । पहिलो कुरा त त्यहाँ रहेका समस्याको बारेमा अरुसँग सम्पर्क हुन सकेन भने त्यहाँ रहेका कुटनीतिक प्रतिनिधिलाई सिधा सम्पर्क गर्ने । त्यहाँ भएन भने काठमाण्डौमा रहेको कल सेन्टर ११४१ नम्बरमा आफ्ना समस्याहरु रेकर्ड गराउने ।

र हामी आफै पनि यहाँबाट पहल गरिरहेका हुन्छौं । त्यसैले कल सेन्टरको सम्पूर्ण रेकर्डहरु हामी आफैंले पनि हेरिरहेका हुन्छौं । त्यसलाई हामी फलो गर्छौं । त्यसपछि स्थानीय कुटनीति लगायत हामीलाई पनि जानकारी भएपछि के गर्नुपर्छ हामी गरिहाल्छौं ।

हाम्रो प्राथमिकता भनेको नेपाली नै हो । तर नेपालको समस्या उनीहरुको पनि समस्या हो । उनीहरुको समस्या हाम्रो पनि समस्या हो । अब दुईटै समस्याको बीचमा तारतम्य नमिलाएर त्यसै हचुवाको भरमा केही गर्नु उचित हुँदैन । त्यसैले उहाँहरुलाई पनि उचित व्यवस्थापन गर्नु हाम्रो धर्म हो ।

जो बाहिर हुनुहुन्छ, उहाँहरुको सबै व्यवस्थापन गर्न हामी लागिरहेका छौं ।  आन्तरिक छलफल पनि त्यसैमा केन्द्रित गरेका छौं । व्यवस्थापकीय समयको हामी चाँजोपाँजो मिलाइरहेका छौं । 

पछिल्लोपटक कुवेत सरकारसँग हाम्रो कुरा भइरहेको छ । कुवेत सरकारको सदाशयताबाट अरु देशहरुका सबैलाई पठाइसके । तर नेपाली श्रमिकलाई प्राथमिकता दिएर राखिरहनुभएको छ । हामीहरु त्यो समयसन्दर्भ मिलाइसकेपछि उच्च प्राथमिकतामा राखेर हामी फर्काउँछौं ।

फर्काउने विषयमा तपाईंले तयारी गरिरहेका छौं भनेर भन्दै गर्दा कतिपय नेपालीको प्रश्न यस्तो पनि छ कि, हामी फर्किंदा टिकटको खर्च कसले गर्छ ? हामी आउनेबित्तिकै घर जान पाउँदैनौं होला भन्ने छ । खर्चको, बस्नको खानकोदेखि घरसम्म पुर्याउने व्यवस्था सरकारले गर्छ कि श्रमिक आफैंले खर्च व्यर्होर्नुपर्छ ?

यहाँबाट हामी दुई किसिमको व्यवस्थापन गर्छौं । यति कुरामा नेपालीहरु त्यस्तो गैरजिम्मेवार हँुदैनन् । नेपालको अवस्थादेखि सबै परिचित नै छन् । त्यसैले सक्ने जति हामी गर्नेछौं । सेल्फ क्वरेण्टीनमा बस्ने अवस्था पनि आउन सक्छ । त्यसमा सबैले मिलिजुली गर्नुपर्ने हुन्छ । सरकाले सबैको व्यवस्थापन गर्ने वातावरण बनाउन सक्दैन ।

अनि मन्त्रीज्यू, आईओएमको तथ्याँकअनुसार झण्डै २५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । सरकारकै तथ्याँक हेर्ने हो भने ५० लाखभन्दा माथि छ ।  सरकारको प्राथमिकता कस्ता नेपाली छन् ?  कि स्वदेश फर्कन खाेज्ने सबैलाई फर्काउने हाे ?

सबै होमवर्क भइरहेको छ ।  त्यसमा तपाईंले भनेको डाटामा भारतमा बसेका नेपाली पनि हुन् । भारतमा बसेका नेपालीहरुलाई जहाज पठाइरहनु पर्दैन ।  त्यहाँ लकडाउन खुलेपछि बिस्तारै त्यहाँबाट व्यवस्थापन रेलबाट, बसबाट भइहाल्छ । बाहिरबाट जहाजमा ल्याउनुपर्नेहरुमा उडान चल्न थालेपछि हामीले ल्याउने हो ।

लकडाउन नखुलेको अवस्थामा पनि चार्टड गरेर ल्याउनुपर्ने परिस्थिति पनि पर्न सक्छ । त्यसको तयारी हामी गरिरहेका छौं । मलाई लाग्छ सबैभन्दा पहिले कुवेतबाट साथीहरु ल्याउने अवस्था पनि आउन सक्छ ।

विदेशबाट फर्कनेलाई देशभित्रै रोजगारी सिर्जनाका लागि चाहिँ अहिले कस्तो गृहकार्य भइरहेको छ ?

नेपाल र नेपालीको लागि यो एउटा ठूलो अवसर हो । जो वैदैशिक रोजगारीमा सीप सिकेका छन्, उहाँहरुलाई म के भन्न चाहन्छु भने विदेशमा सिकेको सीप नेपालमै प्रयोग गर्नुस् ।

तपाईंहरु विदेशमा आफ्ना पाखुरा चलाएर जुन श्रम गर्नुभयो, बाहिरको लागि जुन काम गर्नुभयो, अब आफ्नै गाउँठाउँको लागि काम गर्नुस्, अब आफ्नै देशको प्रगतिको लागि श्रम गर्नुहोस् । ती सबै श्रमिकहरुको अनुभव र सीपको सदुपयोग गर्नमा हामी कार्ययोजना बनाइरहेका छौं ।

हामी अहोरात्र खटेर सिँगै सरकार त्यसैमा चिन्तित छ । त्यसैले हामी नै चिन्तित भइसकेपछि उहाँहरुले पनि चिन्ता लिन थाल्नुभयो भने थप हुन्छ । उहाँहरुले कुनै चिन्ता लिनुपर्दैन । हामी सबै चिन्ता लिइरहेका छौं ।

सहजताको लागि हामीहरु नीति र कार्यक्रम जुन सरकारको आउँदैछ, त्यहाँदेखि सम्बोधन सुरु गर्ने र व्यवहारिक रुपमा कार्यनीतिमा कसरी परिणत गर्ने भन्ने गृहकार्य भैरहेको छ । त्यसको लागि कृषि क्षेत्रमा कति लगाउने, निर्माण क्षेत्रमा कति लगाउने, त्यसको लागि एउटा लेबर बैंकको हामी व्यवस्थापन गर्दैछौं । लेबर

बैंकमा सबैको डाटा रेकर्ड भइसकेपछि हामी त्यसको वर्गीकरण गर्छौं र उनीहरुको दक्षताको आधारमा व्यवस्थापन गर्ने योजना बनाइरहेका छौं ।

त्यसोभए कोरोनाको यो महामारीपछि विदेशबाट फर्किने श्रमिकहरुको लागि सरकारले यो वर्षदेखि रोजगारी नयाँ योजना ल्याउँदैछ ? 

हामी नयाँ नयाँ कार्यक्रम बनाउँदैछौं । नेपालीहरुलाई उच्च प्राथमिकतामा राखेर रोजगारीका अवसरहरु सिर्जना गर्छौं ।

तपाईँले यतिधेरै काम गरिहेको छु भन्नुभयो, तर धेरैले त श्रम मन्त्रीले केही गर्नुभएन भन्छन् नि त ?

अहिलेसम्म तपाईंसँग जे जति कुरा गर्यौं, त्यो सबै श्रमिक दाजुभाइ दिदीबहिनीहरुकै लागि हो । यो निजी कुरा होइन सरकारी कुरा हो । सरकारले बनाइरहेको योजनाहरु सबै उहाँहरुको हितको लागि हो । श्रम मन्त्री भनेको छुट्टै व्यक्ति हुँदैन । यो सरकारकै एउटा अंग हो । नेपाल सरकारको हैसियतले नेपाल सरकारको जिम्मेवारीमा श्रम मन्त्रालय पनि एउटा युनिट हो ।

यो जति पनि योजनाहरु बनिरहेको छ, त्यो  हामीहरुको पनि योगदान भएकाले श्रम मन्त्रीले केही पनि गरिरहेको छैन नभन्नुहोस् । अहिले जे जति भइरहेको छ त्यो श्रम मन्त्रालयमार्फत नै हुन्छ । 

त्यसो भएदेखि मन्त्रीज्यू अब श्रमिकहरु विदेशमा अन्यौलमा हुनुहुन्छ, डराइरहनुभएको छ त्यसका लागि हाम्रो सरकार छ भनेर ढुक्क भएर बस्दा हुन्छ ?

ढुक्क भएर बस्दा हुन्छ । हामीहरु उनीहरुकै व्यवस्थापनमा लागिरहेका छौं । हामी अहोरात्र खटेर सरकार नै त्यसैमा चिन्तित छ । त्यसैले हामी नै चिन्तित भइसकेपछि उहाँहरुले पनि चिन्ता लिन थाल्नुभयो भने थप हुन्छ । उहाँहरुले कुनै चिन्ता लिनुपर्दैन । हामी सबै चिन्ता लिइरहेका छौं ।

गन्तव्य देशमा रहनुभएका नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरु अप्ठ्यारोमा परिरहनुभएको छ, उहाँहरुले त्यो देशको निर्देशन पालना गर्ने, आइसोलेशनमा बस्ने, आफूलाई सङ्क्रमित हुनबाट जोगाउने हो ।

कुनै समस्या भयो भने हाम्रो कुटनीतिक निकायमा सम्पर्क गर्ने । त्यहाँ पनि भएन भने आफ्ना सम्पूर्ण समस्याहरु हाम्रो कल सेन्टरमा रेकर्ड गराउने, हामी त्यसको व्यवस्थापन गर्छौं । फेरि चिन्ता लिएर होइन उच्च मनोबल र साहसका साथ सबै नेपालीहरु बाहिर बस्नुस्, हामी व्यवस्थापनमा लागेका छौं भनेर म विश्वास दिलाउन चाहान्छु । 

(उहाँसँगकाे याे कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)

 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • Bhuwan Nepali

    May 5, 2020, 2:08 p.m.

    हेलो नेपाल ...खै के हो के हो ..नआतिनुस भन्दा भन्दै एक डेढ महिना भैसक्यो ....भएको पैसा सकिसक्यो ....सबै सक्यो ...के गर्ने ????

  • देब बहादुर सारू मगर

    May 5, 2020, 12:29 p.m.

    मेरो देशको सरकार के हेरेर बसेको छ खाली उद्दार गरछौ भनेको मात्र छ किन यस्तो खाडि लगायत विभिन्न देशमा अलपत्र परेका नेपाली खाना बस्नको ठेगान अनि जेल जिबन बितायकाछन ।यो सरकार के चाहन्छ महामारीको सिकार अथवा सिकार पछिको उद्दार बताइदिन परो ।

तपाईको प्रतिक्रिया