विदेशबाट शव ल्याउन सुरु, परिवारले शव बुझ्न नसक्ने अवस्थामा बोर्डले नै घरसम्म पुर्‍याइदिने

 जेठ २४, २०७७ शनिबार १२:६:५६ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका शव साढे दुई महिनापछि ल्याउन थलिएको छ । यूएईबाट शुक्रबार घर फर्कने नेपाली आएको चार्टर्ड जहाजले एउटा शव ल्याएसँगै विदेशमै रोकिएका शव ल्याउने प्रक्रिया सुरु भएको हो ।

सरकारले चार्टर्ड जहाज भएका बेला विदेशमा रोकिएका शव पनि ल्याउने निर्णय गरेको थियो । शुक्रबार यूएईबाट घर फर्कने नेपाली बोकेर आएको एअर अरेबियाको जहाजले इलामका २९ वर्षीय राजु पञ्चकोटीको शव ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

शव घरसम्म बोर्डले पुर्‍याइदिने

विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्छ । त्यसका लागि परिवारले नै काठमाण्डौ आएर निःशुल्क शव ढुवानीका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । तर अहिले कोरोनाको कारण उपत्यका बाहिरबाट काठमाण्डौ आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म पुर्‍याइदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जनाकारी दिनुभयो । 

उहाँका अनुसार बोर्डले मृतकको आफन्तसँग समन्वय गर्नेछ । त्यसपछि शव बाहनका चालकले नै विमानस्थलमा शव बुझेर घरसम्म शव पुर्‍याइदिनेछन् । ‘विभिन्न जिल्लाबाट शव बुझ्न काठमाण्डौसम्म आउन सम्भव नहुन सक्छ, त्यसैले बोर्डको तर्फबाट शव बाहनका चालकले नै शव बुझ्नुहुन्छ र पूर्ण सुरक्षासहित परिवारले भनेको ठाउँसम्म पुर्‍याइदिनुहुन्छ’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘सम्बन्धित ठाउँमा पुगेपछि स्थानीय प्रहरीको रोहबरमा चालकले शव आफन्तलाई बुझाएर फर्कनुहुनेछ ।’ काठमाण्डौमा आफन्त हुनेले भने विमानस्थलमा गएर शव बुझ्न सक्छन् । निःशुल्क शव ढुवानी आवश्यक परेमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले एक दिनमा २० वटासम्म शव ढुवानी गर्न सक्नेगरी व्यवस्थापन गरेको छ । सामान्य अवस्थामा दिनमा १० वटासम्म शव ढुवानी गर्ने गरिएको थियो । तर अहिले साढे दुई महिनादेखि शव विदेशमै रोकिएकाले एक दिनमै आउने सङ्ख्या धेरै भए पनि त्यही अनुसार व्यवस्थापन गर्न शव ढुवानी गर्ने २० वटा गाडी तयारी अवस्थामा राखिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । 

सरकारले विदेशमा समस्यामा परेका श्रमिकको स्वदेश फिर्तीका लागि दिनमा १० वटासम्म उडान अनुमति दिने भनेको छ । जसअनुसार हरेक जहाजमार्फत दुईवटा शव आएमा पनि त्यसैदिन विमानस्थलबाट घर पठाउने गरी बोर्डको त्ययारी छ । जहाजमा दुईवटा मात्र कफिन अट्ने गरी ठाउँको व्यवस्थापन गरिएको हुन्छ । 

‘शव ढुवानी गर्ने गाडीको विवरण गृहलाई उपलब्ध गराएका छौं, चालकहरु पनि त्यही अनुसार तयार हुनुहुन्छ, उहाँहरुलाई पीपीईदेखि स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराइएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘शव नेपाल आएपछि परिवारले चिन्ता गर्नु पर्दैन, हामी सुरक्षितसाथ घरसम्म पुर्‍याइदिन्छौं ।’

२ सय ३८ नेपालीको शव गन्तव्य देशमै 

यो अवधिमा रोजगारीका लागि विदेश गएका र उतै ज्यान गुमाएका २ सय ३८ नेपालीको शव गन्तव्य देशमा नै रोकिएको छ ।  बोर्डका अनुसार शुक्रबारसम्म २ सय २६ पुरुष र १२ महिलाका गरी २ सय ३८ शव विदेशमै रोकिएका छन् । यसमध्ये २३ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको बोर्डको तथ्याँक छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको शव भने नेपाल ल्याउन सम्भव नभएको बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार गन्तव्य देशमै अन्त्येष्टि गर्नुपर्ने हुन्छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको शव गन्तव्य देशले पनि नेपाल पठाउँदैनन् । तर अन्य विभिन्न कारणले ज्यान गुमाएका मृतकका आफन्त भने महिनौंदेखि कुरिरहेका छन् । कतिपयले उतै अन्त्येष्टिका लागि अनुमति पनि दिएका छन् ।

बोर्डका अनुसार ८५ मृतकका परिवारले उतै अन्त्येष्टिको लागि सहमति दिएका छन् । अहिले महामारीको समयमा शव गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने मृतकका आफन्तलाई बोर्डले सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ थप दिने घोषणा पनि गरेको छ ।

 जहाज उडान र कुन देशबाट कहिले कति शव आउलान् भन्ने यकिन नभएको र व्यवसायिक उडान नखुल्दासम्म शव ल्याउन सहज नहुने भन्दै बोर्डले सम्भव भएसम्म गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिन परिवारसँग अनुरोध गरिरहेको छ । विदेशबाट घर फर्कने नेपाली आउने जहाजमा शव पनि आउनेछन् । तर समय लम्बिंदै जाँदा विदेशमा ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिलेको समयमा चार्टर्ड जहाजमार्फत शव आउँदैछ र परिवारलाई कम्पनीले जानकारी दिएको छ भने विमानस्थलदेखि घरसम्म पुर्‍याउने व्यवस्थापनका लागि बोर्डमा सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका लागि  दिनबन्धु सुवेदी, आशिष भण्डारी र मैया कँडेलको मोबाइल नम्बर ९८४१५०७८९८, ९८५५०३२२८८ र ९८५११८५१८६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया