समस्यामा परेका नेपालीसँग महंगो भाडा लिंदा मन पोलेको छैन सरकार ?

 असार २, २०७७ मंगलबार १२:३३:१७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

मातृका चाम्लिङ, खोटाङ/हाल मलेसिया ।

म मात्रै होइन हामी युवा कमाउँला जमाउँला भनेरै हो परदेश आएको। तर कोरोनाले संसारलाई नै बिचल्ली बनाइदियो । म पनि कमाएर केही गरौंला भनेर नै हो मलेसिया आएको । तर यहाँ सोचेभन्दा फरक परिस्थिति भइदियो कोरोनाले गर्दा।

यहाँ म मात्रै होइन होला यस्तो समस्या भोग्ने । संसारभरका मानिसलाई यतिबेला यस्तै साझा समस्या भइरहेको छ । खान, बस्न र उपचार नै नपाउने अवस्था आएको छ ।

मेरो साथीहरुलाई त झन् यो चार महिनादेखि लकडाउनका कारण काम र कमाइ नहुँदा भोकभोकै बस्नुपर्दाको पीडा पनि छ ।

हामी परदेशीको यो विपदका बेला आश र भरोसा भनेको दूतावास नै हुने रहेछ । तर नेपाली दूतावासले पनि फोन नउठाउँदा अर्को समस्या झेल्नु परेको छ । कोरोना सुरु भए यता हाम्रो काम र कमाइमा असर गर्‍यो । हामी घर फर्कनुपर्ने अवस्था आयो ।

तर यो बेला हामीलाई कसले सहयोग गर्ने । आफ्नै सरकारले हामी समस्यामा परेका नेपालीको उद्धारका लागि महंगो भाडा तोकिदियो । नेपाल फर्कनका लागि सामान्यतया ९ सय रिंगिटमा टिकट किनिरहेका थियौं । तर अहिले महिनौंदेखि बेरोजगार भएका हामीलाई १५ सय रिंगिटभन्दा माथिको टिकट लिनु भन्न सरकारले कसरी सकेको होला ?

सरकारले लैजाला, विदेशमा केही नभए पनि देशमा गएर केही गरौंला भन्ने थियो । तर अहिले आएर सरकारले हामी परदेशीलाई गरेको व्यवहारले चित्त दुखेको छ । घर फर्कने आश पनि मरेको छ । कोरोना जाँच पनि आफैंले गर्नुपर्ने । यातायात खर्च पनि आफैंले तिर्नु पर्ने । सरकारको मनमा के साँच्चै नेपालीले विदेशबाट यतिका रकम तिर्न सक्छन् भन्ने लागेको होला त ?

हामीले परदेशमा कमाएर घर मात्र होइन, देश पनि चलाएका थियौं नि सरकार । यो गुन किन बिर्सेको ? तिमीले त देशमा रोजगारी दिन नसकेर परदेश पठायौ। तर हामीले त अर्काको देशबाट भए पनि पसिना बगाएर रेमिट्यान्स पठायौं ।

अब टिकट काट्ने पैसा कहाँबाट ल्याउने थाहा छैन । मलाई सरकारलाई सोध्न मन छ : समस्यामा परेका नेपालीलाई यति महंगो भाडा तिर भन्दा सरकारको मन पोलेको छैन ?

1 Comments

  • एकेन्द्र थापा

    June 16, 2020, 1:12 p.m.

    अब आउने निर्वाचनमा पनि के पिको पार्टीलाइ तीन तिहाइले बिजयी गराउनु पर्छ, किनकी अहिलेको अबस्थामा पांच सय डलर खाडिमुलुकको भाडा तोक्छ भने, फेरि पनि सरकार बनायो भने हामी बिदेश आएका नेपाली यतै मरे हुन्छ /

तपाईको प्रतिक्रिया