टिकट कम्पनीले दिएन, पासपोर्ट साथमा छैन, कहिलेसम्म आफ्नै खर्चमा बसौं ?

 असार ११, २०७७ बिहिबार ११:१४:२० | मेरो कथा मेरो भोगाई

गोबिन्द घिमिरे,अर्घाखाँची/हाल मलेसिया ।

म मलेसिया आएको तीन वर्ष भयो । तर यो तीन वर्षमा कहिल्यै भोग्न नपरेको सास्ती र समस्या यही कोरोना महामारी सुरु भएको तीन महिनामा भोग्न पर्‍यो । सामान्य अवस्थामा काम र कमाइ चल्दासम्म त ठिक रहेछ परदेश । तर जब सानो नै किन नहोस् समस्या भएपछि न परदेशी कम्पनीले सहयोग गर्दोरहेछ, न त हाम्रो दूतावासले नै । मैले अहिले भोगेको समस्या पनि यही हो ।

मेरो भिसा सकिन एक महिना बाँकी थियो । कम्पनीले सोध्यो, ‘घर जाने कि काम गर्ने ?’

मैले सोचेँ, तीन वर्ष काम गरिसकें अब घर जान्छु । त्यसैले कम्पनीलाई घर जान्छु भनें । मैले घर जान्छु भनेपछि कम्पनीले मलाई काम दिन छाड्यो । काम नभएपछि तीन महिनादेखि कोठामै बसिरहेको छु ।

कोठामा बस्दाको खर्च पनि आफ्नै निजी हो । कम्पनीले दिएको छैन । भयो के भने मेरो काम बन्द हुनु र कोरोना महामारीले उडानहरु बन्द हुनु एकैपटक जस्तो भयो । त्यसैले म चुपचाप बस्नु बाहेक बिकल्पै रहेन । तर पनि घर जान पाइन्छ भन्ने आश थियो ।

त्यही क्रममा समस्यामा पर्ने र घर फर्कन चाहनेले विवरण भर्न भनेर दूतावासले सूचना जारी गर्‍यो । मैले दूतावासको अनुरोध अनुसार नै तीन पटकसम्म फारम भरेँ । सरकारले तोकेको प्राथमिकता अनुसार घर फर्कनेको प्राथमिकताको सूचीमा मेरो नाम पनि निस्कियो । तर घर जान पाइने भइयो भनेर म खुशी हुन सकिनँ । मलाई झन समस्या भयो ।

सरकारले तोकेको र नेपालीलाई लैजान नेपालबाट आउने चार्टर्ड उडानको भाडाले मलाई समस्या पर्‍यो । मेरो नाम प्राथमिकतामा परेपछि कम्पनीसँग टिकटको बारेमा कुरा गरेँ । तर कम्पनीले महंगो भएकाले टिकट नदिने भन्यो । त्यसो भए मेरो पासपोर्ट र चेकआउट मेमो (घर फर्कने अनुमति) दिनुस् न त भनेँ । तर कम्पनीले हुँदैन भन्यो ।

दूतावास घर फर्कन चेकआउट मेमो र पासपोर्ट लिएर आउ भन्छ । कम्पनीले दिँदैन । दूतावासलाई भने, मलाई कम्पनीले यस्तो गर्‍यो, म आफ्नै पैसामा घर फर्कन चाहन्छु मेरो पासपोर्ट र चेकआउट मेमो निकालिदिनुस् । तर दूतावासले यो अवस्थामा सकिँदैन भन्छ ।

अहिले मलेसियाबाट नेपालीहरु घर गइरहेका छन् । तर म भने घरबाट पैसा मगाएर आफैं जान्छु भन्दा पनि पाएको छैन । दूतावासले त्यति सहयोग पनि गरेन । अहिले त दिनमा निकै पटक फोन गर्छु तर उठ्दैन । न काम छ न कमाइ । आफ्नै पैसाले पेट पाल्न परेको छ । घरबाट पैसा मगाएर फर्कन्छु भन्दा पनि साथमा पासपोर्ट छैन । यसरी कहिलेसम्म परदेशमा बसौं सरकार ?

तपाईको प्रतिक्रिया