वैदेशिक रोजगारीको ठगीमा संलग्न नै बोर्डको विज्ञ सदस्य

 असार २३, २०७७ मंगलबार ९:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यमा विवादित व्यक्ति नियुक्त भएको भन्दै आलोचना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले दुई जना विवादित व्यक्तिलाई बोर्डको सदस्यमा नियुक्त गरेपछि आलोचना सुरु भएको हो ।

बोर्ड सदस्यमा नियुक्त हुनेमा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का छन्। यसअघि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ठगी गरेको विषयमा गुरुङ र खड्का विवादमा मुछिँदै आएका थिए। गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावरले कामदारलाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा छ।

त्यस्तै स्वास्थ्य व्यवसायी खड्का मलेसिया जाने कामदारमाथि ठगेको आरोप लागेका व्यक्ति हुन्। मलेसिया जाने श्रमिकलाई राज्य संयन्त्र नै प्रयोग गरेर सिन्डिकेट गरेर ठगी गरेको अभियोगमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले खड्कामाथि कारबाही प्रक्रिया सुरु गर्नुभएको थियो ।

बायो मेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टेपजस्ता शीर्षकमा ठगी गरेको भन्दै २०७५ जेठमा श्रम मन्त्रालयले उनीसहित ४२ जनाविरुद्ध ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको थियो। तर पछि अदालतले उनलाई सफाइ दिएको थियो।

तपाईको प्रतिक्रिया