म्यानपावर व्यवसायी हेम गुरुङद्वारा वैदेशिक रोजगार बोर्ड सदस्यमा बस्न अस्वीकार

 असार २३, २०७७ मंगलबार १६:५०:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – चौतर्फी विरोध भएपछि म्यानपावर व्यवसायी हेम गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्ने घोषणा गर्नुभएको छ ।

वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावरका सञ्चालक गुरुङलाई सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बोर्ड सदस्यका रुपमा दुई वर्षका लागि नियुक्त गर्नुभएको थियो । तर व्यवसायी गुरुङले मंगलबार मन्त्री यादवलाई पत्र पठाउँदै आफू बोर्ड सदस्यमा नबस्ने बताउनुभएको छ ।

पत्रमा बोर्डमा रहेर आफ्नो योग्यता र दक्षता अनुसारको परिणाममुखी कार्य गर्ने मन हुँदाहुँदै पनि कोरोनाको कारण वैदेशिक रोजगार क्षेत्रमा देखिएको जटिलता र आफ्नो व्यक्तिगत अस्वस्थ्यको कारण तत्काललाई बोर्ड सदस्यमा बस्न नसक्ने गुरुङले उल्लेख गर्नुभएको छ ।

लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा क्रियाशिल रहेको र यसअघि बोर्ड सदस्य भएर काम गरेको अनुभव भएकाले मन्त्री यादवले आफूलाई फेरि बोर्ड सदस्यमा नियुक्ती गरेको भए पनि अहिले यो पद अस्वीकार गरेको गुरुङको भनाइ छ । गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावरले कामदारलाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा छ।

मन्त्री यादवले गुरुङसँगै नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई पनि बोर्ड सदस्यमा नियुक्त गर्नुभएको छ । खड्का मलेसिया जाने कामदारमाथि ठगीको आरोप लागेका व्यक्ति हुन्।

मलेसिया जाने श्रमिकलाई राज्य संयन्त्र नै प्रयोग गरेर सिन्डिकेट गरेर ठगी गरेको अभियोगमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले खड्कामाथि कारबाही प्रक्रिया सुरु गर्नुभएको थियो ।

बायो मेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टेपजस्ता शीर्षकमा ठगी गरेको भन्दै २०७५ जेठमा श्रम मन्त्रालयले उनीसहित ४२ जनाविरुद्ध ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको थियो। तर पछि अदालतले उनलाई सफाइ दिएको थियो।

 

तपाईको प्रतिक्रिया