यूएईबाट फर्किन चाहने झन्डै ४५ हजार, अहिलेसम्म फर्किए झन्डै ६ हजार

 असार २९, २०७७ सोमबार ७:२५:५६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब एमिरेट्स यूएईबाट नेपाल फर्किन चाहनेको सङ्ख्या ४५ हजार पुगेको छ । कोरोनाको कारण जागिर गुमाएका, रोजगारदाता भागेपछि अलपत्र परेका, अध्ययन तथा घुम्न आएका गरी झण्डै ४५ हजार जनाले स्वदेश फर्कनका लागि आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् ।

दूतावासले पछिल्लो पटक आइतबार तेस्रो चरणमा ३८ हजार ९ सय ९१ जनाको नामावली सार्वजनिक गरेको छ । यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो । दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १७ हजार ३ सय ७५ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको थियो ।

आबुधावीमा रहेको नेपाली दूतावासले आइतबार सूचना निकालेर अहिलेसम्म ५ हजार ८ सय ५९ जना नेपाल फर्किएको जनाएको छ । दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् ।

गएको अप्रिल २८ देखि नेपाल फर्किन चाहनेका लागि दूतावासले अनलाइन फारम भरेर आफ्नो विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको थियो । तर पछिल्लो समय यूएईको अवस्था सुधार हुँदै गएको र नेपालमा कोरोनाको सङ्क्रमण बढेकाले यसअघि फर्किन चाहनेले पनि अहिले नफर्किने निर्णय गर्न थालेको दूतावासले जनाएको छ ।

अहिलेसम्म ६ जनाको निःशुल्क उडान

अहिलेसम्म नेपाल फर्किनेहरुमा धेरै पैसा भएका र आफैं वा कम्पनीले टिकट काटिदिएर फर्किएकाहरु हुन् । फर्किनेमध्ये ६ जना मात्रै आफूले पैसा नतिरी नेपाल फर्किएका छन् । श्रम स्वीकृति भएका, करार अवधि नसकिएका तर पनि अति नै समस्यामा परेका र नेपाल फर्कने टिकट काट्ने कुनै उपाय नै नभएका ६ जनालाई दूतावासको पहलमा टिकटको जोहो गरेर नेपाल पठाएको दूतावासले जनाएको छ ।

कास्कीकी सुकमाया तामाङ, तेह्रथुमकी गीता फुयाँल रोइला, अर्घाखाँचीका प्रेमराज पाण्डे र रविन थापालाई निःशुल्क टिकट उपलब्ध गराइएको हो । पाण्डे र थापा लामो समयदेखि दुबईमा अस्पतालमा उपचाररत बिरामी हुन् । उनीहरुको उपचारबापतको मोटो रकम पनि दूतावासले अस्पतालसँग समन्वय गरेर मिनाह गरी नेपाल पठाउन टिकटको व्यवस्था गरेको हो ।

त्यस्तै श्रम स्वीकृति लिएर यूएई आएको पहिलो दिनदेखि नै नेपाली एजेण्टका कारण समस्यामा परेका रामपुर १२ कलैया बाराका शिव वचन शाह रौनियार र अजय महतोलाई पनि दूतावासले नेपालमा रहेको एक गैरसरकारी संस्थाको पहलमा टिकट काटिदिएको थियो ।

दूतावासको गेटमा बनाएको भिडियोका कारण सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा भाइरल भएका उनीहरु कोरोना परीक्षण गरेर बोर्डिङ पास पाएपछि पनि कानुनी प्रक्रिया पूरा नभएकोले अहिलेसम्म स्वदेश फर्किन सकेका छैनन्।

उनीहरुलाई यूएई ल्याएर एजेण्टको काम गरिरहेका नेपाली हरी बिष्टले १२ हजार दिर्हाममा बेचेको र त्यो १२ हजार दिर्हाम फिर्ता पाउनुपर्ने भन्दै कम्पनीले उनीहरु दुई जना विरुद्द मुद्दा हालेको पीडितको भनाइ छ । दुवै जनालाई अहिले एनआरएनए यूएईका उपाध्यक्ष पाशाङ शेर्पाले खाना र बस्नको व्यवस्था गरिरहनुभएको छ ।

यूएईबाट नेपालीको स्वदेश फिर्तीका लागि आउँदो हप्ता १५ देखि २२ जुलाईमा मात्रै थप १० उडानहरू हुने दूतावासले जनाएको छ ।  बुधबार एकै दिन ६ उडानमार्फत झण्डै १ हजार जना नेपालीहरू स्वदेश फर्काउने प्रयास भइरहेको दूतावासले जनाएको छ । 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया