कोरोनाबाट बच्दै कतारमा काममा फर्किएको छु

 साउन ९, २०७७ शुक्रबार १७:१४:५५ | मेरो कथा मेरो भोगाई

वीरबल खड्का, धनकुटा पाख्रिबास/हाल कतार ।

कोरोनाले संसारलाई प्रभावित पारिरहेको छ । हामी परदेशी त झन यसबाट बच्ने कुरै भएन । विदेशी भूमि, फरक वातावरण र हावापानी । धेरै कठिनाई र समस्याहरुसँग जुधिरहेका छौं ।

विदेशी भूमिमा कोरोनाको महामारीका बेलामा कतिले अनेक समस्या भोग्न पर्‍यो त कतिको ज्यानै गयो । गर्दै आएको काम बन्द हुँदा अलपत्र पर्नु पर्‍यो । काम बन्द भयो भनेर दुःख मानेर पनि के गर्नु संसार नै बन्द भएको अवस्थामा । तर बाध्यता हामीजस्ता कमाएर घर चलाउन परदेशीनेलाई काम नहुँदा कति गाह्रो हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ ।

तर अहिले त विस्तारै खाडीका देशमा कामहरु चल्न थालेका छन् । म आफैं पनि कतारमा अहिले काम गरिरहेको छु । यस्तो महामारीको बीचमा पनि हामीहरु धेरैजसो अहिले नियमित रुपमा काम गरिरहेका छौं । भाइरसको महामारीको समय भएकाले होला के पो हुने हो ? सङ्क्रमण पो हुने हो कि भन्ने डर छ । 

तर डर र त्रासकै बीचमा पनि काम नगरी सुखै छैन । म आफैं पनि अहिले काम गरिरहेको छु । काम गर्न आएको मानिस काम नगरी बस्ने कुरै भएन । बाध्यता छ ।

यो महामारीका बेला परदेशमा एक्लै काम गर्न मन त कस्लाई लाग्छ र ? लकडाउन सबैले आफ्नो परिवारसँग समय बिताए । सँगै खाए, सँगै रमाए । त्यो देख्दा त हाम्रो पनि मन मान्दैन । तर यो परिस्थितिमा काम र दाम दुबै छ भने मनको भाकामा बहकिएर स्वदेश फर्कनु पनि उचित छैन ।

महामारीले थिलोथिलो भएको छ हाम्रो देश पनि । देश आफ्नो भए पनि अहिले दुःखमा परेका हामीलाई रोक्न सक्ने रोजगारीका अवसरहरु छैनन् । आफैं केही गरौं भन्दा पनि व्यवसाय गर्न अहिले परिस्थिति नै छैन । भन्न त भन्छौं हामी घर जान पाए यो गर्थें, त्यो गर्थें ।

तर गएपछि बाटोहरु भेटिंदैनन् र फेरि झोला बोकेर परदेश लाग्नुपर्ने अवस्था छ । दुई महिनाअघि कोरोनाले महामारीको रुप लिंदै गर्दा म पनि कसरी घर जानू होला भन्ने सोच्थें । काठमाण्डौसम्म पुग्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । बन्द भएको हवाई यातायात कहिले खुल्ला भन्ने पर्खाईमा बसेको म स्वयम आज यो मनस्थितिबाट पछि हटेको छु ।

बरु कोरोनाबाट बच्ने सुरक्षा विधि अपनाएर सङक्रमणबाट बच्दै विदेशमा भइरहेको काम गर्दैछु । फेरि काममा फर्कंदा मलाई अहिले कोरोना भाइरस सामान्य लाग्दै आएको छ । विदेशमै केही समय बस्ने मनस्थिति बढेर आएको छ । तसर्थ काम छ र डरले मात्र घर फर्कन मन लागेको हो भने कोरोनाबाट बच्ने उपाय अपनाउँदै काममा फर्कन म सुझाव दिन चाहन्छु ।

काममा जाँदा कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने, फेस मास्क, फेस सिल्ड, सर्जिकल पञ्जा साथै स्यानिटाईजरको नियमित प्रयोग, साबुन पानीले बारम्बार हात धुने गर्दा पनि जोखिमबाट बच्न सकिन्छ । म पनि अहिले कतारमा यिनै सुरक्षा कवजहरुको प्रयोग गरेर नियमित गर्ने आफ्नो ड्युटी गरि रहेको छु । यसरी नै आफूलाई उच्च आत्मबल लिएर काम गर्नुपर्छ भन्न चाहन्छु ।

हामी जस्तो रेमिट्यान्सले घर चलाउँदै आएकालाई घर चलाउन गाह्रो नै पर्छ । कोरोनाको डर त नेपालमा पनि छ र यहाँ पनि छ । नेपाल जाँदैमा कोरोना लाग्दैन भन्ने होइन र अर्को कुरा कोराना लाग्दैमा मरिन्छ भन्ने पनि होइन । अब कोरोनाको डरलाई जित्दै काम गर्नुपर्छ र उच्च मनोबलका साथ आफ्नो दैनिकीमा फर्कनुपर्छ ।

तपाईको प्रतिक्रिया