जापानबाट फुर्वाको आग्रह : संस्कृतिको नाममा कोरोना फैलन सक्छ, सचेत बनौँ

 भदौ १, २०७७ सोमबार १५:५:५० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

फुर्वा शेर्पा / साेलुखुम्बु, हाल जापान

काठमाण्डौ – कोरोना महामारीका कारण हामीले धेरै किसिमका समस्याहरु एकैपटक भोेग्न बाध्य भएका छौं । अब हामीले महामारी भर्खरै फैलिने बेलामा झैं स्वास्थ्य सुरक्षा तथा सावधानी अपनाउनुपर्ने देखिएको छ ।

मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गरेर सबैले दैनिक गुजारा सञ्चालन गर्नुपर्छ । हामीले यस्ता मापदण्डहरु सुसूचित गराउनु पर्ने अवस्थालाई पार गरिसकेका छौं । अब यी कुराहरु स–साना नानीबाबुहरुले पनि बुझिसकेका छन् । समय बित्दै जाँदा हामीले झनै जटिल अवस्थाहरु भोगिरहेका छौं ।

महामारीले विश्व नै संकटमा परेको यो अवस्थामा महामारी नियन्त्रण गर्नु सरकारको मात्र नभइ तपाईं हामी सबैको दायित्व हो । हामी मानव समुदायको एउटै साझा घर पृथ्वी भएकोले सबै मिलेर महामारीलाई पृथ्वीबाट भगाउने कोशिस गर्नुपर्छ ।

यस्तो महामारीको बेला एक जनाको खेलाँचीले पुरै समुदाय तथा मानव जगतको अस्तित्वमाथि असर पर्न जान्छ । त्यसैले हामीले त्यस्ता क्रियाकलापहरु गर्नु हुँदैन । यही गतिमा विश्वमा कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै गएमा उपचार गर्नका लागि सीमित अस्पतालहरुलाई समस्या पर्छ । जसका कारण सङ्क्रमितहरुले अनाहकमै ज्यान गुमाउनेछन् र ज्यान गुमाएका सङ्क्रमितहरुको शव व्यवस्थापन गर्न झन् चुनौती हुनेछ । त्यसैले यही गतिमै महामारी फैलियो भने निकट भविष्यमा देखा पर्न सक्ने समस्या तथा चुनौतीको अहिलेदेखि नै मनन गर्न आवश्यक छ ।

चाहे नेपालमा होस् या नेपाल बाहिर रहेका नेपाली समुदायमा नै किन नहोस्, आफूलाई संकट परेपछि मात्र हारगुहार गर्ने हाम्रो प्रवृत्ति अझै कायमै छ । आफू रहेको देशले कोरोना नियन्त्रण गर्नका लागि दिएका सचेतना तथा आदेश, लगडाउन र आपतकालबाट हामी उम्किन खोजिरहेका छौं । सरकारका निर्देशन तथा मापदण्डको पालना गर्दै आफ्नो दैनिक गुजारा चलाउनुपर्ने कठिन मोडमा हामी आइसकेका छौं ।

यस्तो अवस्थामा पनि हामी हाम्रो धर्म संस्कृति तथा चाडपर्वहरुको नाममा भेला तथा जमघट गर्न भने छाडेका छैनौं । यस्ता कार्यक्रम समारोहमा जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको देखिन्छ । त्यसैमाथि तामझाम रमाइलो गर्ने, सामाजिक सञ्जालमा सेल्फी तथा लाइभ भिडियोहरु पोष्ट गर्ने जस्ता गतिविधिहरुले हामी नेपालीहरुको चेतनास्तरमाथि विश्व समुदायमै शंका पैदा गराउन थालेको छ । यस्तो सङ्क्रमणकालीन अवस्थामा पनि त्यस्ता गतिविधिहरु गर्दा स्वदेशमा मात्र होइन परदेशमा पनि नेपालीहरुको इज्जतमा असर पर्ने देखिन्छ ।

जुनसुकै देशमा पनि पछिल्लो समय व्यापार व्यवसाय गर्न, सामाजिक काम गर्न, हिंडडुल गर्न दिइएकै छ । यसको साथसाथै सङ्क्रमणलाई रोक्न तथा फैलिन नदिन केही मापदण्ड तथा नियमहरु पनि पक्कै बनेका छन् । हामी सबैले ती मापदण्ड तथा नियमहरु पालना गर्नैपर्छ । गलत सन्देश दिने खालको क्रियाकलाप गरेर हामी अरु सामु लाचार नबनौँ । स्वतन्त्रताको नाममा हामी जोखिमको नजरअन्दाज नगरौँ । अहिले कोरोना भन्दा पहिलेको जस्तो स्वतन्त्रता छैन, त्यसैले धैर्य गरौँ ।

कोरोना महामारीका कारण धेरै नेपालीहरुले ज्यान गुमाइसकेका छन् । सङ्क्रमितहरु बढेको बढ्यै छन् । रोकिने कुनै सङ्केत पनि देखिएको छैन । यस्तो अवस्थाले गर्दा नागरिकलाई मानसिक रुपमा समेत कमजोर बनाइसकेको छ । कोरोना सङ्क्रमणकालमा नेपाली समुदायमा हत्या, बलात्कार, घरेलु हिंसा लगायत आपराधिक घटनाहरु तथा आत्महत्याका घटना बढीरहेका छन् । त्यसैले यसमा हामी सबै सतर्क हुन आवश्यक छ ।

यस्तो बेला सत्यतथ्य सूचनाहरुको आदानप्रदान गर्नुपर्छ । एकअर्काप्रति सहयोगी भावना जगाएर सद्भाव कायम राख्दै महामारीसँग लड्नुपर्छ ।

तपाईको प्रतिक्रिया