परदेशी भूमिमा मैले त कोरोना जितें, तपाईँ पनि सक्नुहुन्छ, नआत्तिनुहोस्

 भदौ १०, २०७७ बुधबार १५:५४:२४ | मेरो कथा मेरो भोगाई

शंकर भुजेल, पोखरा/हाल यूएई, आबुधाबी ।

कमाउँला र भविष्यका लागि केही त गरौंला भन्ने ठानेर हो परदेश आएको । तर म यहाँ आइपुगेको तीन महिनामै कोरोना सङ्क्रमित भएँ ।

हुन त यो महामारीमा परदेशी भूमिका कोरोना सङ्क्रमित हुने म मात्र थिइनँ । तर आफूलाई पर्दा मलाई मात्र यस्तो भयो जस्तो लाग्दो रहेछ । अझ मलाई त कोरोना महामारी सुरु भएको केही समयमै सङ्क्रमण भएको थियो । मे ६ मा हो मेरो कोरोना परीक्षणका लागि स्वाब लिएको ।

रिपोट पोजेटिभ आयो । रिपोर्ट पेजेटिभ आएपछि क्वरेण्टीनमा लगेर राखियो । त्यहाँ म मात्र थिइनँ । नेपाली मात्र होइन अन्य देशका नागरिक पनि सङ्क्रमित भएका देखेँ । नेपाली दाजुभाइ पनि हुनुहुन्थ्यो । २१ दिन कोरोनासँग लड्दै क्वरेण्टीनमा बसियो । मनमा अनेक प्रश्नहरु उठ्थे । कुरा खेल्थे । तर मलै आफूलाई कमजोर हुन दिइनँ । 

यो कोरोनालाई जसरी पनि जित्न सक्छु भन्ने आत्माविश्वास थियो । २१ दिनपछि भने मेरो रिपोर्ट नेगेटिभ आयो । लामो समयसम्म संघर्ष गर्न प¥यो । घरी घरी पीर नलागेको होइन । नेपालमै भए त्यस्तो लाग्दैन थियो कि । परदेशमा मन नआत्तिएको पनि होइन । तर मन कमजोर बनाएर ज्यान गलाउन नहुने रहेछ । मैले यो परदेशी भूमिमा कोरोनालाई जितेरै छाडेँ ।

उज्यालोमार्फत म के भन्न चाहन्छु भने कोरोना लाग्यो भनेर देश तथा विदेशमा हुनुहुने तपाईँहरु नआत्तिनु होला । खानपानमा विषेश ध्यान दिनुहोस् । आफ्नो मन भुल्ने हरेक कुरा गर्नुहोस् । कोरोना लागेको मानिसको मनमा धेरै कुराहरु खेल्छन् । डर हुन्छ । तनाव हुन्छ । तर त्यसो भन्दैमा म त मर्छु कि क्या हो भनेर सोच्न हुँदैन ।

आफू तगडा छु भन्ने सोचाइ राख्नु पर्छ । जब मान्छेलाई परदेशको भूमिमा कोरोना लाग्छ, तब उसको मनमा प्रश्न र अत्यासले भरिन्छ । अति नै तनाव हुन्छ । निदाउन सकिन्न । म मरे भने मेरो लास पनि नेपाल जाँदैन जस्तो लाग्छ । यहाँ कसले मेरो दाहसंस्कार गर्छ होला भनेर मन आत्तिन्छ । परिवारले एक पटक मुख पनि हेर्न नपाउने हुन् कि झैं लाग्छ । कुकुरको मराइ हुने भो झैं लाग्छ ।

तर समय हो, मानिसलाई समयले नै दुःखसँग लड्न सिकाउँछ । म भन्छु मैले जे सोचेर आफूले आफूलाई तनावमा राखेर आफ्नो मन कमजोर बनाएँ, तपाईँ त्यसो नर्गनुहोस् । किनभने कोरोना लाग्दैमा मरिंदैन । परदेशी भूमिमा पीडा अनगिन्ती हुन्छन् । त्यसो भन्दैमा हार्न हुँदैन ।

आफू मरेर गए पनि परिवारलाई जीवनभरको चोट हुन्छ । मलाई कोरोना लाग्यो । तनाव भयो । कति कुरा जान्दाजान्दै त कति कुरा नजानेरै तनावमा परियो । अब त कोरोनाबाट भाग्ने ठाउँ छैन । त्यसैले कोरोनासँग लड्न तयार भएर बस्नुहोस् । संसारको जनु कुनामा हुनुहुन्छ, सुरक्षितसाथ रहनुहोस् । आफ्नो ख्याल गर्नुहोस् ।

तपाईको प्रतिक्रिया