सरकारले सुन्नैपर्छ खाडीको आवाज !

 भदौ १२, २०७७ शुक्रबार १५:५७:२३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

छविलाल ओली/झापा, हाल कतार

काठमाण्डौ – देशमा १० वर्ष भूमिगत आन्दोलन भयो । १६ हजार निर्दोष मान्छेले ज्यान गुमाए । कतिको सिउँदो पुछियो भने कति बालबच्चा टुहुरा भए । राजतन्त्र फालियो । लोकतान्त्रिक गणतन्त्र आयो ।

नेपालमा नागरिकका हक अधिकार सुनिश्चित होला, देशले दिगो शान्ति पाउला भनेर नागरिकले शान्तिको दीप पनि बाले । तर सोचे जस्तो केही भएन । धैरै नेताले देशलाई सिङ्गापुर बनाउँछु पनि भने । तर अहिले त्यसको ठिक विपरीत भयो ।

देशमा हत्याहिंसा, बलात्कार, भ्रष्टाचार, चोरी–डकैती, महङ्गी र बेरोजगारीले चरम सीमा नाघ्यो । सिटामोल नपाएर दूरदराजमा सुत्केरी मरिरहेका छन् । देशमा रोजगारी नपाएर युवाहरु विदेशिन बाध्य भएका छन् ।

बेरोजगारी र आर्थिक अवस्था कमजोर भएपछि घर धितो राखेरै भए पनि अर्काको देशमा गुलामी गर्न जानु अहिले म लगायत धेरै युवाहरुको दशा बनेको छ । ठूलाठूला सपना बोकेर खाडी आइयो । श्रीमतीको ओठमा हाँसो ल्याउँला, बुढा बाआमाको औषधि खाने पैसा पठाउँला र घरमा कर्कट पाता लगाँउला भनेर पराइ देशमा आइयो । तर अर्काको देशमा कहाँ सजिलो हुन्छ र ?

खाडीको तातो रापमा रगत र पसिना बेचेर जसोतसो घर खर्च त धान्न सकिला तर ऋणको ब्याज सम्झिँदा भने मनमा तुवाँलो छाउँछ । त्यसैमाथि कोरोना कहरले सपनाहरुलाई पनि बार लगाइदियो । सोचेको कुरा केही भएन । अहिले हामी कैयौँ नेपाली दाजुभाइ रेगिस्तानका ताता भित्ताहरूमा रोजगारी गुमाएर आधा पेट खाँदै भोलि के खाने भन्ने सल्लाह गर्दै बसेका छौं ।

यस्तै यस्तै पीर र व्यथाले ज्यान सुकेर लौरी जस्तै भएको छ । यस्तो विपत्तिको मुखमा सरकार दाउ छोपेर बसेको छ । कम्पनीले टिकट दिँदैन । अब त घर फर्कने पनि सपना भइदियो । नेपाल भन्ने देश थियो अरे भन्ने बेला भएको छ । आउँ भने महङ्गो टिकट । त्यसैमा अब त होटलको पैसा आफैंले तिर्नुपर्ने भयो रे । मासिक २० हजार रुपैयाँ कमाउनेले आफ्नै देशमा गएर दिनको दश हजार कसरी तिर्न सक्ला ?

सरकार विवेकहीन भएको छ । आफ्ना नागरिक देश विदेशमा भोकभोकै मर्दैछन्, तर सरकारलाई भने कोरोनाको गीत गाउनमै ठिक्क छ । परदेशमा हामीहरुको पीडा सुन्ने समय सरकारलाई छैन । न त चासो नै छ ।

तपाईको प्रतिक्रिया