नियमित उडान खुले पनि कोटा तोक्दा समस्या, राजदूतहरु भन्छन् : उडान सङ्ख्या अपुग भयो

उडान सङ्ख्या कम हुँदा एअरलाइन्सको मनोमानी बढ्यो

 भदौ २३, २०७७ मंगलबार १७:१६:७ | सन्जिता देवकोटा

काठमाण्डौ – सरकारले विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीलाई सहजीकरण गर्न नियमित उडान खुलाए पनि उडान सङ्ख्यामा कोटा तोक्दा झन् समस्या भएको छ ।

नेपालीको मुख्य श्रम गन्तव्य यूएई र मलेसियामा नियमित उडान खुलेको छ । तर घर फर्कन खोज्ने नेपालीको सङ्ख्या धेरै र तय भएको उडान सङ्ख्या कम हुँदा टिकट नपाउने र एअरलाइन्सले पनि महंगो शुल्क तिर्नेलाई टिकट बेच्न थालेका छन् । समयमा घर फर्कन नपाउँदा श्रमिकहरु ओभरस्टेबापतको जरिवानामा पर्न थालेका छन् ।

यूएईमा त जरिवाना तिर्न नसक्दा टिकट काटेका श्रमिक पनि विमानस्थलमै अड्किएका छन् । खाडीका र मलेसियाका लागि नेपाली राजदूतहरुले सरकारले तोकेको उडान सङ्ख्या कम भएको बताएका छन् ।

श्रमिकको सयौं समस्याको एक मात्र समाधान उडान पर्याप्त भएमा हुने भन्दै राजदूतहरुले उडान सङ्ख्या बढाइदिन माग गरेका छन् । खाडीका अन्य देशमा कोरोनाको पीसीआर परीक्षण सहज नहुँदा चार्टर्ड उडानमार्फत नै नेपालीको स्वदेश फिर्ती भइरहेको छ । तर सरकारले पछिल्लो समय दैनिक विदेशबाट ल्याउने यात्रु र उडान सङ्ख्यामा कोटा तोक्दा विदेशबाट फर्कनै पर्ने अवस्थामा रहेकाहरुले घर फर्कन अझै महिनौं कुर्नुपर्ने भएको छ ।

त्यसैले पनि ठूला जहाज पठाउन र समस्यामा परेकाहरु घर नफर्किसक्दासम्म उडान सङ्ख्या बढाईदिन साउदी र कतारका लागि नेपाली राजदूतले पनि आग्रह गरेका छन् । 

उडान सङ्ख्या कम हुँदा एअरलाइन्सको मनोमानी बढ्यो

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश मलेसियाबाट अहिलेसम्म ९ हजार १ सय ८३ जना फर्किएका छन् । दूतावासका अनुसार अझै पनि झण्डै १० हजार जना तत्काल घर फर्कन कुरिरहेका छन् । नेपालीहरुको स्वदेश फिर्ती सहज होस् भनेर नै सरकारले मलेसियामा पनि नियमित उडान खुलाएको छ । तर नियमित उडान खुलेपछि पनि श्रमिकहरुलाई अर्को झण्झट थपिएको छ । 

नियमित उडान नखुल्दा दूतावासको सूचीअनुसार नेपालीहरु फर्कन्थे, भाडादर पनि सरकारले तोकेकै थियो । अझ मलिण्डो एअरले त सरकारले तोकेकोभन्दा कम शुल्कमा उडान भरिरहेको थियो । तर नियमित उडान खुलेपछि सरकारले मलेसियाबाट हुने उडानमा कोटा तोकिदियो । जसको कारण एअरलाइन्सले भाडादर पनि महङ्गो बनाए र जसको कारण घर फर्कने श्रमिकलाई झन समस्या भयो भन्नुहुन्छ, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे । 

मलेसियाबाट चार एअरलाइन्सले नेपालका लागि उडान भर्ने हुँदा सबैले हप्तामा चार उडान भरे सहज हुने उहाँ बताउनुहुन्छ । 

‘पहिले हप्तामा ३२ वटासम्म उडान हुन्थे, अहिले सेम्टेम्बर महिनाभरीमा २५ वटा उडान तोकिएको छ, यो पनि १३ बाट बढाएर २५ बनाइएको हो, त्यसैले नियमित उडानमा यो कोटा तोक्दा समस्या भयो,’ राजदूत पाण्डे भन्नुहुन्छ, ‘यही कारण एअरलाइन्सहरुको मोनोपोली बढ्यो ।’

उहाँका अनुसार मलेसियाबाट घर फर्कनैपर्ने नेपालीको सहज स्वदेश फिर्तीका लागि कम्तिमा पनि हप्तामा १६ वटा उडान हुनपर्छ । मलेसियाबाट चार एअरलाइन्सले नेपालका लागि उडान भर्ने हुँदा सबैले हप्तामा चार उडान भरे सहज हुने उहाँ बताउनुहुन्छ । 

दूतावासले त्यही अनुसार सम्बन्धित निकायमा उडान माग गरेको र अब सरकारको निर्णय कुरिरहेको पनि राजदूत पाण्डेले बताउनुभयो । मलेसियाबाट फर्कने सबै श्रमिक पीसीआर नेगेटिभ भएका यात्रु मात्र जाने भएकाले पनि श्रमिक लैजान कन्जुस्याईं गर्न नहुने उहाँको भनाइ छ । 

उडान कम हुँदा यूएईमा श्रमिकको जरिवाना बढ्यो 

खाडीकै अर्को देश यूएईबाट कोरोना महामारी सुरु भएपछि घर फर्कनका लागि झण्डै आधा लाख नेपालीले फारम भरे । जसमध्ये १६ हजार ३७६ जना स्वदेश आइसकेका छन् । अझै झण्डै ३५ हजार नेपाली घर फर्कने पालो कुरिरहेका छन् । यूएईमा पनि सरकारले नियमित उडान त खुलाएको छ । तर ३५ हजार नेपाली घर फर्कन कुरिरहेको देशमा एक महिनाका लागि जम्मा २८ उडान तय भएको छ । 

समयमा घर फर्कन नपाउँदा यूएईमा अहिले श्रमिकहरु ओभरस्टे (भिसा अवधिभन्दा बढी बस्नु) बापतको शुल्क तिर्न बाध्य भएका छन् । कतिपय श्रमिक टिकट हातमा लिएर विमानस्थल पुगेपछि जरिवाना बापतको रकम तिर्न नसक्दा जहाज चढ्न पाएका छैनन् । यूएईमै अलपत्र परेका छन् । 

राजदूत ढकाल भन्नुहुन्छ, ‘श्रमिकहरु जरिवाना तिर्न नसक्दा जान सकेका छैनन्, उनीहरु जान नसक्दा जति यहाँ बस्यो त्यति नै जरिवाना बापतको रकम बढ्छ, त्यसकारण अहिलेको एक मात्र उपाय भनेको उडान सङ्ख्या थप्नु नै हो ।’

यूएई, अमेरिका, यूरोपजस्ता देशको ट्रान्जिट पनि हो । यहाँबाट नेपाल आउने जहाजले ट्रान्जिट यात्रु पनि बोक्नु पर्छ । तर अहिले सरकारले नियमित उडान खुलाएर तोकेको उडान सङ्ख्या कम हुँदा समस्यामा रहेका र घर फर्कनै पर्ने श्रमिकहरु समयमा फर्कन नपाउने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल बताउनुहुन्छ । 

‘सामान्य अवस्थामा ८, १० हजार नेपालीको आवतजावत हुने यहाँबाट अहिले तोकिएको उडान कम छ, यसले समस्या भएको छ,’ राजदूत ढकाल भन्नुहुन्छ, ‘श्रमिकहरु जरिवाना तिर्न नसक्दा जान सकेका छैनन्, उनीहरु जान नसक्दा जति यहाँ बस्यो त्यति नै जरिवाना बापतको रकम बढ्छ, त्यसकारण अहिलेको एक मात्र उपाय भनेको उडान सङ्ख्या थप्नु नै हो ।’  

राजदूत ढकालका अनुसार दूतावासले उडान सङ्ख्या कम भएको सम्बन्धित निकायमा जानकारी गराएको छ र उडान सङ्ख्या थपिदिन माग पनि गरेको छ । 

अहिलेको समस्यालाई मध्यनजर गर्दै सरकारले उचित निर्णय गर्ने प्रतिक्षामा रहेको राजदूत ढकालले बताउनुभयो । 

उडान सङ्ख्या थप्नु नै अहिलेका तमाम समस्याको समाधान हो

अहिले समयमा घर फर्कन नपाउँदा विदेशमा श्रमिकले भोगेका समस्याको एक मात्र समाधान उडान सङ्ख्या थपेर समयमा घर फिर्ती गराउनु हो भन्नुहुन्छ, साउदीका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपुत पनि ।

साउदीबाट अहिलेसम्म ८ हजार ६४२ जना स्वदेश आइपुगेका छन् । अझै झण्डै १० हजार नेपाली घर फर्कने दिनको प्रतिक्षामा छन् । तर साउदीबाट नियमित उडान भने खुलेको छैन । पीसीआर परीक्षण सहज नहुँदा श्रमिकहरु अहिले पनि साउदीबाट चार्टर्ड उडानमार्फत नै घर फर्किइरहेका छन् ।

सरकारले सेप्टेम्बर महिनाभरका लागि जम्मा १५ वटा उडान साउदीका लागि तय गरेको छ । यो उडानमार्फत झण्डै तीन हजार मानिस फर्किए पनि अरु सात, आठ हजार जनाले त पर्खनै पर्ने अवस्था छ । त्यसमा पनि यही अवधिमा करार र भिसाको अवधि सकिनेहरु थपिन सक्छन् । 

राजदूत सिंह भन्नुहुन्छ, ‘सयौं सवाल र समस्याको एउटै समाधान उडान सङ्ख्या पर्याप्त थप्नु नै हो, हामी यहाँको व्यवस्थापन गर्छाैं, सरकारले उडानको व्यवस्था गर्नुपर्छ ।’

नेपालीहरु सरकारले तोकेको भाडादर तिरेर घर फर्कन तयार छन् । तर पनि टिकट पाएका छैनन् । जसका कारण विभिन्न समस्याहरु परदेशमा खेप्न बाध्य छन् । यसको एक मात्र समाधान भनेको सरकारले उडान सङ्ख्या बढाउनु पर्ने र तोकेको समयमा उडान हुनुपर्ने बताउनुहुन्छ, राजदूत डा.सिंह । 

‘कहिले प्राविधिक कारणले त कहिले के कारणले यही भएको उडान पनि समयमा नहुने समस्या छ,’ राजदूत डा. सिंह भन्नुहुन्छ,‘अहिले जतिपनि श्रमिकका गुनासो र समस्या छन् त्यो समयमा घर फर्कन नपाउँदा भएका हुन्, म निश्चित गर्छु सरकारले हामीलाई पर्याप्त उडान दिने हो भने श्रमिकको समस्या त्यसै कम हुँदै जान्छ, यो समस्या उडानकै कारण आएको हो ।’

खान, बस्न समस्या भएकालाई दूतावास र नेपाली समुदाय, एनआरएनएसँगको समन्वयमा व्यवस्था भइरहेको छ । साउदी सरकारले पछिल्लो समय अकामाका कारण अवैधानिक भएकालाई वैधानिक बनाएर बर्हिगमन भिसा दिइरहेको छ । त्यसका लागि दूतावासले सहजिकरण गरिरहेको छ । 

यसरी बहिर्गमन भिसा पाउनेहरु दुई महिनाभित्र साउदी छाड्नु पर्छ । तर उनीहरु पनि कहिलेकाहीँ समयमा टिकट नपाएमा फेरि अवैधानिक हुने जोखिम बढ्दै गएको छ । अहिले त तीन महिना हुँदा पनि साउदीले माफ गरेर पठाइरहेको अवस्था छ, तर यो अवस्था कहिलेसम्म होला भनेर भन्न नसकिने राजदूत सिंह बताउनुहुन्छ । 

साउदीमा रहेको नेपाली दूतावासले पनि उडान सङ्ख्या पर्याप्त नभएको भन्दै थप उडान सङ्ख्या दिन परराष्ट्र, पर्यटन मन्त्रालयदेखि सम्बन्धित निकायमा पत्र लेखेको छ । 

राजदूत सिंह भन्नुहुन्छ, ‘सयौं सवाल र समस्याको एउटै समाधान उडान सङ्ख्या पर्याप्त थप्नु नै हो, हामी यहाँको व्यवस्थापन गर्छाैं, सरकारले उडानको व्यवस्था गर्नुपर्छ ।’

पीसीआर परीक्षण गरेर जानेलाई कोटा नतोकौं 

कोरोना महामारी सुरु भएपछि कतारबाट नेपाल फर्कन पाउँ भन्दै दूतावासमा झण्डै १८ हजार जनाले निवेदन दिएका छन् । जसमध्ये सात हजार फर्किएका छन् । अझै ११ हजार जना त घर फर्कने जहाजको प्रतिक्षामा छन् । उनीहरुमध्येमा पनि पाँच हजार जनाको नाम कतारको ‘मिनिस्ट्रि अफ इन्टेरियर’बाट प्रमाणीकरण भएर आएको छ ।

उनीहरुलाई जतिसक्दो छिटो नेपाल पठाउनुपर्ने चुनौती छ दूतावासलाई । तर सेप्टेम्बर महिनाभरका लागि कतारका लागि जम्मा १४ उडान तय भएको छ । यी उडानमार्फत तीन हजार मानिस फर्कन पनि गाह्रो छ । कतारको हरेक क्षेत्र कोरोनाको कारण प्रभावित भएको छ, जहाँ नेपाली श्रमक काम गर्थे ।

राजदूत भारद्वाज भन्नुहुन्छ, ‘पहिले कतारमा पीसीआर परीक्षण सहज थिएन तर अहिले सहज छ, त्यसकारण पीसीआर परीक्षण गरेर जाने श्रमिकलाई कोटा तोकेर रोक्न हुँदैन ।’

कतिपय घर फर्कन सबै प्रक्रिया पूरा गरी चेकआउट मेमो समेत लिएर बसेका छन् । उनीहरुलाई कम्पनीमा बस्न समस्या हुन्छ । कतिपयको रोजगारी गुमेको छ  । यस्ता मानिसहरु समयमा घर फर्कन नपाउँदा सडकमा आउने अवस्था छ भन्नुहुन्छ कतारका लागि नेपालीराजदूत डा. नारदनाथ भारद्वाज । 

दूतावासको आवासगृह छैन । होटलमा नेपाली श्रमिक रकम तिरेर बस्न सक्दैनन् । घर आउन जहाज छैन । कतारको गर्मीमा बाहिर आधा घण्टा पनि टिक्न सकिंदैन । यस्तो अवस्थामा गर्ने के त ?

राजदूत भारद्वाज भन्नुहुन्छ, ‘पहिले कतारमा पीसीआर परीक्षण सहज थिएन तर अहिले सहज छ, त्यसकारण पीसीआर परीक्षण गरेर जाने श्रमिकलाई कोटा तोकेर रोक्न हुँदैन ।’

कतार सरकारले कोरोना नियन्त्रणका ल्याएको एप पनि प्रभावकारी भएको र पीसीआर परीक्षण गरे जाने सबै श्रमिक सुरक्षित नै हुने हुँदा कोटाको हदबन्दी लगाएर समस्यामा पर्न नहुने उहाँको भनाइ छ । 

‘पहिला पनि सङ्क्रमित गएका थिएनन्, अहिले त पनि यहाँबाट नेपाल जानेहरु सङ्क्रमित जाने होइनन्, त्यसैले उनीहरुहरु काठमाण्डौबाट घरै पठाउने भएपछि सरकारले उडान थप्न पर्छ,’ राजदूत भारदवाज भन्नुहुन्छ, ‘हामीले माग पनि गरेका छौं, अब के निर्णय हुन्छ थाहा छैन ।’

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • कुल बहादुर भोलन

    Sept. 8, 2020, 6:37 p.m.

    सरकारले अहिले केहि निश्चित देशमा नियमित अन्तर्राष्ट्रिय उडान खेलेको घोषणा गरेता पनि म जस्ता प्रवासी नेपालीको लागि आफ्नो जन्मभूमि फक॔नको लागि कागलाई बेल पाक्दा हष॔न बिस्मात भने झै भएको छ म दुबईबाट नेपाल फर्किनको लागि हवाईजहाजको टिकट नपाएर भौतारिनु पर्ने अवस्था छ।तसर्थ नेपाल सरकारले उडान संख्यालाई थप गरेर आफ्नो जन्मभूमि फर्किनको लागि सहज वातावरण निर्माण गरिदिएको लागि अनुरोध गन॔ चाहन्छु।

तपाईको प्रतिक्रिया