चाडबाडमा घर आउन नपाउँदा मन खल्लो हुन्छ

 असोज २९, २०७७ बिहिबार १६:२८:६ | मेरो कथा मेरो भोगाई

सचिन्द्र श्रेष्ठ, यूएई ।

चाडबाडमा घर आउन नपाउँदा परदेशीको मन, लाग्छ किन आएछु सात समुद्रपारी कमाउन धन । देशको बेथिती , राजनीतिक खिचातानी, पारिवारिक बिछोडले परदेशीको मन सधैं रुन्छ ।

यो हरेक परदेशीको दैनिकी नै भइहाल्यो । तर त्योभन्दा बढी त मन त्यतिबेला दुख्छ जब चाडबाड नजिकै आउँछ र आफ्नो गाउँघरको यादले सताउँछ । गाउँघरको सम्झनाले तरङ्गै ल्याउँछ । तर बाध्यता छ । किनभने यो वर्ष कोरोना महामारीको कारण मन बाँध्न परेको छ ।

कोरोनाले संसारलाई रुवाएको छ । हामी परदेशीले चाडबाड मनाउन पाइनँ भनेर दुःख मान्न पनि त भएन । योपालि न घरमा जान सकिन्छ न त यहाँ मनाउन । परदेशमा हुनेहरुले मात्र कहाँ हो र आफ्नै देशमा हुनेहरुले पनि त योपालि दशैं मनाउन घर जान नपाउने भएका छन् । ज्यान जहाँ रहे पनि मन त नेपालमै हुन्छ । तर पनि खल्लो लाग्दो रहेछ ।

यो साल नभए पनि अर्को साल मानौंला भनेर चित्त बुझाउन परेको छ । किनभने यो साल दशैं मनाउने चक्करमा ज्यानै रहेन भने के गर्नु ? अझ परदेशबाट देशसम्म जान कम्ता सास्ती छैन । घर जानसाथ पनि जोखिम छ । हामी गाउँघर जाँदा कोरोना सङ्क्रमणको जोखिम हुन्छ ।

दशैं परिवारसँगै नमानेको पनि धेरै वर्ष भयो । यो वर्ष चाहिँ घर आउँला भन्ने सोच थियो । तर अहिले कोरोनाबाट बच्नुभन्दा अर्को उपाय छैन । घर आउँदा मलाई र मेरो परिवारलाई सङ्क्रमण भयो भने अर्को समस्या निम्तन्छ । कोरोनाले यहाँ पनि ठूलो असर गरेको छ ।

मैले काम गर्ने कम्पनीमा कोरोनाको कारण समयमा तलब पाउन गाह्रो छ । बिदा त परको कुरा । अहिले त काम पाइएको छ भनेर चित्त बुझाउन पर्ने अवस्था छ । विदेशमा साथीभाइ छन् भने बरु साथीसँग मिलेर मनाउँदा बेस हुन्छ । परदेशमा साथी हुनु भनेको पनि परिवार हुनुभन्दा कम होइन ।

तर योपालि त परदेशको दशैं पनि पोहोरसाल जस्तो हुनेवाला छैन । विभिन्न जमघट, संघसंस्थाका कार्यक्रम यो साल हुने छैन । मन मारेरै भए पनि योपालि सबै कुरालाई थाती राखेर आफ्नो स्वास्थ्यलाई ख्याल राख्नु छ ।

परदेशमा होस् या नेपालमा भौतिक दूरी कायम गरौं, सतर्क रहौं, दशैंको बहानामा कसैको घरमा पनि दशा नआओस् । सबैलाई शुभकामना ।

तपाईको प्रतिक्रिया