दशैँमा घर जाँदै हुनुहुन्छ ? सुरक्षित साथ दशैँ मनाउन यी उपाय अपनाउनुहोस्

 कात्तिक ५, २०७७ बुधबार १०:४७:५१ | डा. सागर राजभण्डारी

यो वर्ष दशैँ तिहार जति पनि चाडबाड छन्, यी चाडबाड विशेष तरिकाले मनाउनु पर्छ । पहिले जसरी मनाइन्थ्यो त्यसरी मनाउन हुँदैन । हाम्रो सानो लापरवाहीले ठूलो समस्या निम्तन सक्छ । अहिले कोरोना महामारीले संसारलाई नै पिरोलेको अवस्था छ ।

त्यसमाथि पनि अहिले काठमाण्डौमा सामुदायिक सङ्क्रमण भएको अवस्था छ । काठमाण्डौबाट आफ्नो जन्मस्थान जाने क्रम पनि बढेको छ । त्यसमा पनि यसरी काठमाण्डौबाट जिल्ला जाने मानिसमा पनि सङ्क्रमण देखिएको अवस्था छ । जिल्ला पुग्नेहरुको स्वाव सङ्कलन गर्दा पनि पोजेटिभ भएको, विभिन्न लक्षणहरु देखिएको भन्ने कुराहरु आइरहेको छ ।

त्यसकारण यो आवतजावत कन्ट्रोलभन्दा बाहिर भयो भने जसरी अहिले यहाँ काठमाण्डौमा सङ्क्रमण फैलिएको छ त्यसरी नै नफैलिएला भन्न सकिँदैन । त्यसकारण हामीले एकदमै बिचार पुर्‍याउनु पर्छ । 

विदेश, भारत या जुनसुकै ठाउँबाट आफ्नो जिल्ला जानुपर्ने भए पनि सचेत हुनुहोला भन्न चाहन्छु । 

यात्रा गर्दा यी कुरामा ध्यान दिऔं 

हामीले अहिले त यात्रा गर्दा मबाहेक अरु सबैजना सङ्क्रमित हो भनेर सोच्न आवश्यक छ । आफू सुरक्षित हुन के मा कसरी यात्रा गर्दैछु भनेर ध्यान दिनपर्छ । भौतिक दूरी एकदमै ख्याल गर्नु पर्छ ।

बसमा होस् या सानो गाडी, जे मा यात्रा गर्नुभए पनि झ्यालहरु खोल्ने गर्नपर्छ । मास्क लगाउने, सेनिटाइजरको् प्रयोग  गर्ने, सकिन्छ भने साबुनपानीले हात धुने गरौं । मास्क प्रयोग गर्दा पनि ध्यान दिऔं । कुन मास्क लगाएको छ त्यो मास्कको गुणस्तर कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

जति पनि गाडीको सिटहरु छ त्यसमा बस्दा पनि अलिकति  दूरी कायम गरौं । यदि आफ्नो परिवारका साथ दशैं मनाउन बाहिर जाँदै हुनुहुन्छ भने सकेसम्म आफ्नै साधनको प्रयोग गर्ने र सकेसम्म थोरै मानिस राखेर गाडी चढ्नु पर्छ। 
कोही सङ्क्रमित हुँदैमा उसलाई भेदभाव गर्ने पनि गर्न हुँदैन । अब हामी आफैं सुरक्षित भएर मबाहेक सबै सङ्क्रमित हुन् भनेर सोच्नु पर्छ । आफू सचेत भएमा सङ्क्रमणको डर पनि कम हुन्छ ।

घर पुगेपछि

म त घर पुगिहालें, मलाई लक्षण पनि छैन भनेर हेलचेक्र्याइँ पनि गर्न हुँदैन । पहिलेको जस्तो मनलाग्दी गर्न भएन । पिङ खेल्ने, साथीभाइ जम्मा हुने गर्न भएन । धेरै मानिस बसेर भिडभाड गर्‍यो भने फेरि पनि सङ्क्रमणको जोखिम हुन्छ । 

मन्दिरहरु नजाँदा पनि हुन्छ । टाढै बसेर भए पनि भगवानको दर्शन गर्न सकिन्छ । भागवानको दर्शन गर्न लाइन नै बस्नुपर्छ, टिका नै लगाउन पर्छ, भगवानलाई ढोग्नैपर्छ भन्ने पनि छैन । टाढै बस्ने गरौं । टाढैबाट ढोग्दा पनि भगवानले देख्नुहुन्छ ।

तपाईँहरु विभिन्न माध्यममार्फत घर पुग्नुभएको हुन्छ । तपाईँ जहाजमार्फत, रेलमार्फत, गाडीमा, सार्वजनिक बसमा आउनुभएको हुन सक्छ । तपाईँलाई यसरी घर पुग्दा जहाँ, जतिबेला पनि सङ्क्रमण हुन सक्छ । त्यसैले गइसकेपछि क्वरेण्टीनमा बसौं । परीक्षण भएको छ र नेगेटिभ रिपोर्ट नै छ भने पनि १० देखि १४ दिनसम्म सचेत हुनपर्छ । घरमै क्वरेण्टीनमा बस्दा एकदमै उपयुक्त हुन्छ ।

सरकारले लागू गरेका स्वास्थ्य मापदण्डको पालना गरौं । जता पायो त्यतै नहिँड्ने, भिडभाड नगर्ने गरौं ।

मेरो अनुरोध परिवारका सदस्यामा लामो समयदेखि औषधि खाइरहनुभएको छ, वृद्ध हुनुहुन्छ, बालबालिका छन् भने चाहिँ सचेत हुनुपर्छ । उनीहरुसँग दूरी कायम गर्नुपर्छ ।

हामीले भन्दा त सकेसम्म टिका पनि आफ्नो परिवारसँग मात्र लागाउनुहोस् भन्र्छौं । टिका लगाउँदा पनि सुरक्षाका उपायहरु अपनाउने गरौं । मास्क लगाउने, भाइजर लगाउने गर्नुपर्छ । हात धुने लगायतका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुहोस् ।

सकेसम्म हामीले कोसेली लिने दिने चाहिँ नगर्दा उपयुक्त हुन्छ । टिका लगाउन जानुभन्दा पनि योपालि यस्तै भयो भनेर बरु म्यासेन्जर, भाइवरजस्ता माध्यमको प्रयोग गर्न सकिन्छ । आशीर्वाद लिन भेट्नै पर्छ, छुनै पर्छ भन्ने छैन । माया र सदभाव जहाँ रहे पनि आफ्नो मानिसलाई दिन सकिन्छ ।

भिडभाडमा नजाने, पिङ् खेल्दा भिडभाड नगर्ने, सबैभन्दा दूरी कायम गर्नु पर्‍यो । २ मिटर चाहिँ दूरी कायम गर्नुपर्छ । खुल्ला चौरमा बस्ने, सूर्यको प्रकाश भएको ठाउँमा बस्ने, लगायतका उपाय अपनाउँदा सङ्क्रमणबाट केही भए पनि बच्न सकिन्छ ।

सरकारले जति पनि मापदण्ड तोकेको छ त्यसको कार्यान्वयन गर्ने यो अवसर हो । यो विषम परिस्थितिमा समुदाय र घर परिवपारलाई बचाउनु पर्छ । हाम्रो सानो योगदानले हुन्छ भने किन नगर्ने ? सबैलाई राम्रो हुन्छ भने गर्नु पर्छ । 
यो समयमा सबैलाई मेरो अनुरोध, यो दशैँ सुरक्षित भएर मनाऔं ।

गाउँठाउँमा हाम्रो बुवाआमालाई चाहिँ असर नपरोस् भनेर हाम्रो बुवाआमाको स्वास्थ्यका लागि पनि हामी सचेत हुन आवश्यक छ । सरकारले लागू गरेका सबै मापदण्ड पालना गरेर मात्र हामीले दशैँ मनाउनु पर्छ ।

(डा. राजभण्डारीसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)

डा. सागर राजभण्डारी

राजभण्डारी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया