भुलेर कोरोनाको कहर, फर्किए परदेशी दशैँमा घर

 कात्तिक ६, २०७७ बिहिबार १३:२८:४५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुईवटा टर्मिनल छन् । विदेश जानेहरु पुरानो टर्मिनल भएर जान्छन् । परदेशबाट फर्किनेहरु भने नयाँ नवनर्मित टर्मिनल भएर फर्किन्छन् । नवनिर्मित टर्मिनल जति सुन्दर छ, दशैँको उमङ्गले त्यसलाई झनै सुन्दर तुल्याएको छ । मुहारमा हँसिलो मुस्कान बोकेर स्वदेशको हावामा लामो स्वास फेर्दै घरदेश आएका परदेशीहरुको दृश्यले भन्छ, उनीहरुले नै दशैँको हर्षोल्लास बोकेर ल्याइदिएका छन् ।

उसो त विश्वका विभिन्न देशबाट फर्किनेहरु पनि यही मार्ग हुँदै आउने हुन् । तर ठूलो सुटकेस, सुटकेसमाथि गरुङ्गो झोला र सकेसम्म टिभी राखेर ट्रली गुडाउँदै आएको दृश्यले वैदेशिक रोजगारीबाट फर्किएका हुन् भनेर अड्कल गर्न सकिन्छ । सुटकेसमाथि कुन देशबाट आएको हो भनेर नाम पनि लेखेको हुन्छ । त्यसपछि त ठम्याउन झनै सजिलो । 

रोल्पाका सन्तोष थापा पनि यसैगरी टर्मिनलबाट बाहिर निस्किनुभयो । दुईटा सुटकेस, सुटकेसमाथि प्लास्टिकले बेरिएको एलसीडी टीभी राखिएको छ । ट्रली गुडाउँदै उहाँ ट्याक्सी भएतिर लम्किनुभयो । 

तीन वर्षपछि घर फर्किनुभएका सन्तोषले घरमा दशैँ नमनाएको भने ५ वर्ष भइसकेको छ । ७ वर्ष पहिले वैदेशिक रोजगारीमा यूएई पुग्नुभएका सन्तोषका धेरै दशैँ यूएईमै कटे ।  यसपटक भने दशैँको बेला स्वदेश फर्किनुभएको छ । दशैँको बेला घर आउन पाएकोमा उहाँ निकै खुशी हुनुहुन्छ ।

‘धेरै वर्षपछि दशैँको बेला घर आउन पाएको छु’, उहाँले आफ्नो खुशी हुँदै भन्नुभयो, ‘मनाउन त साथीभाइबीच परदेशमा पनि दशैँ मनाइन्थ्यो, तर घरमा मनाएजस्तो कहाँ हुन्छ र ।’

उहाँले अघिल्लो वर्षको दशैँमा घर आउन खोज्नुभएको थियो तर कम्पनीले बिदा नदिँदा आउन पाउनुभएन । यो वर्ष भने सन्तोष काम छोडेरै आउनुभएको छ । 

‘यस पटक क्यान्सिल हानेर आएको’, उहाँले कारण बताउनुभयो, ‘धेरै वर्ष बसियो परदेशमा अब आफ्नै देशमा केही गरौँ कि भन्ने सोच छ ।’

वैदेशिक रोजगारीमा विश्वका विभिन्न देशमा रहनुभएका नेपालीहरु दशैँतिहार मान्न घर जान पाए हुन्थ्यो भन्ने चाहन्छन् । तर कसैले कम्पनीबाट छुट्टी पाउँछन् भने कसैले पाउँदैनन् । अरुबेला बिदामा घर आउन पाए पनि दशैंको बेला घर आउन नपाएको वर्षौं वर्ष भइसकेको हुन्छ । त्यहीभएर पनि विमानस्थलमा झर्नेवित्तिकै सिधै घर पुग्न पाए हुन्थ्यो भन्ने धेरैलाई हतारो हुन्छ ।

सर्लाहीका सुनिलकुमार साह झन् १२ वर्षपछि दशैँको बेला घर आउनुभएको छ । उहाँले वैदेशिक रोजगारीको यात्रा थालेको २० वर्षभन्दा बढी भइसक्यो । वैदेशिक रोजगारीकै शिलशिलामा अफगानिस्तान, मलेसिया हुँदै साउदी पुग्नुभयो । अहिले उहाँ साउदीमा अटोमेसन कम्पनीमा काम गर्नुहुन्छ । दुई महिनाको बिदा लिएर घर फर्किनुभएका सुनिल दशैँमा परिवारसँग हुन पाउँदा मन खुशी हुनुहुन्छ ।

‘आउन जान जति खर्च भए पनि दशैँको बेला आफ्नो परिवारसँगै हुन पाइयो, परिवारको खुसी नै मेरो लागि ठूलो कुरा हो ।’

न त बुवाआमाबाट आफूले टीका लगाउन पाउनुभयो, न त आफूले नै छोराछोरीलाई दशैँमा टीका लगाइदिन पाउनुभयो । अब त अत्ति भयो, यो वर्ष त जसरी भए पनि दशैँ घरमै मनाउछु भनेर सुनिलकुमार छुट्टी मिलाएर घर आउनुभएको छ ।

के छ त दशैँको विशेष योजना भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘दुई महिनाको छुट्टी छ, गाउँघरमा दिन बितेको पत्तै हुन्न, यस्तै कटिहाल्छन् नि दिन ।’

कोरोनाको मार खेपेर आउनेहरु 

परदेशको बसाइ कसैलाई राम्रै भए पनि कसैलाई दुःखदायी हुन्छ । झन् पछिल्लो समय विश्वव्यापी फैलिएको कोरोनाको सिकार धेरै नेपाली श्रमिक पनि भए । कसैको रोजगारी गुम्यो, कसैले तलब पाएनन् । दशैँको मुखमा ज्यान मात्रै जोगाएर रित्तो हात घर फर्किनेहरु पनि धेरै छन् । 

सिन्धुलीका बिमल विश्वकर्मा पनि कोरोना जितेर घर फर्किनुभएको छ । पाँच वर्षअघि यूएई जानुभएका बिमल छुट्टीमा घर आउनुभएको हो । कोरोना सङ्क्रमण भएपछि उहाँ ४५ दिन अस्पतालमा बस्नुभयो । त्यतिबेला उहाँले घरपरिवारलाई निकै याद गर्नुभयो । परिवार, छोराछोरी सबैको याद र आफ्नो स्वास्थ्यको अवस्था हेरेर चिन्तित पनि बन्नुभयो । तर आत्मविश्वास र नियमित उपचारपछि उहाँ निको हुनुभयो । अहिले त्यही कोरोनाले दिएको पीडामा घरपरिवारको मायाको मल्हम लगाउन उहाँ स्वदेश फर्किनुभएको छ । 

‘कोरोनाको बेला निकै समस्या झेलियो, संक्रमित भएर पनि निको भइयो’, उहाँले भन्नुभयो, ‘धेरैपछि, त्यो पनि कोरोनाबाट निको भएर दशैँको बेला घर फर्किन पाएको छु, निकै खुशी लागेको छ ।’

अहिले जताततै कोरोनाको त्रास छ । मानिसहरु गाउँमा नयाँ मान्छे आउनेवित्तिकै कोरोना लिएर आयो भनेर तर्सिन्छन् । विदेशबाट आएकाहरुलाई त झन् अछुतको जस्तो व्यवहार गर्छन् । त्यसैमाथि बिमल आफै पनि संक्रमणबाट मुक्त भएर आउनुभएको छ । यस विषयमा उहाँको बुझाइ के छ त ? 

बिमल भन्नुहुन्छ, ‘सबैको आ आफ्नो बुझाइ हो, हामी पीसीआर गरेर प्रमाणसहित आएका छौ डराउनुपर्ने केही छैन ।’

यस्तै मानिसले मानिससँग डराउनुको साटो उसको कमजोरीमा साथ दिनुपर्ने उहाँको भनाइ छ ।

कसैको मात्र रहर होला नत्र त बाध्यताले नै हो विदेश डोर्याउने । गाउँघरमा रोजगारी नपाउनु । ऋणको भार थपिदै जानु । आफ्नो आर्थिक अवस्था र हुर्किदै गरेका छोराछोरीको भविष्य हेरेर चिन्तित हुनु । यस्तै यस्तै कारणले परदेश पस्नेहरु केही दुख गरेर, केही कमाएर स्वदेश फर्किन्छन् ।

दाङ्की खीमा बुढाथोकी १२ वर्ष साउदीमा काम गरेर फर्किनुभएको छ । वैदेशिक रोजगारीमा रहेका आफ्ना श्रीमान्को मलेसियामा ज्यान गएपछि उहाँ आफैले वैदेशिक रोजगारीको बाटो अंगाल्नुभएको हो । घरखर्च चलाउन र छोराछोरीको भविष्यको लागि भनेर उहाँ १२ वर्ष पहिले साउदी पुग्नुभयो । 

कोरोना महामारीको बेला कम्पनीको काम बन्द भयो । ६ महिना जसोतसो कटाउनुभयो । अहिले कम्पनीले नै टिकट काटिदियो र उहाँ घर फर्किनुभएको छ । परदेश लागेदेखि नै दशैँको बेला घरमा दशैँ मनाउन पाउनुभएन । यसपालि त मनाइन्छ कि भन्ने आशा थियो त्यो पनि भएन । 

‘ससुरा बित्नुभयो, योपालि पनि दशैँ नहुने भयो’, उहाँले भन्नुभयो, ‘दशैँको बेला छोराछोरी सँगै हुन पाउने भए, यो नै ठूलो कुरा हो, म यसैमा खुशी छु ।’

अबका दिनमा आफू वैदेशिक रोजगारीमा नजाने र जसोतसो गाउँघरमै व्यवसाय गर्ने सोच बनाएर आउनुभएको छ खीमा । भन्नुहुन्छ, ‘अर्काको देशमा जति बस्नु बसियो, अब छोराछोरीसँगै बस्न मन छ, कति टाढिएर बस्नु’, निकै भावुक सुनिनुभयो उहाँ ।

२५ हजार जति फर्किने अनुमान

खिमा, बिमल तथा सुनिल र सन्तोषजस्तै दैनिक सयौंको संख्यामा नेपाली श्रमिकहरु विदेशबाट फर्किरहेका छन् । दशैँको मुखैमा वैदेशिक रोजगारीबाट फर्किनेहरुको सङ्ख्या बढ्दो छ ।

कोही फेरि फर्किने गरी आएका छन् भने कोही काम छाडेर आएका छन् । यस्तै कोही कोरोनाका कारण रोजगारी गुमाएर फर्केका छन् । तर जे जसरी आए पनि दशैँको बेला घर फर्किन पाउँदा सबै खुशी देखिन्छन् । दशैँको उमङ्ग, त्यसैमाथि परिवारको साथ । यही आनन्दमा रमाउनको लागि सात समुन्द्र पारीबाट फर्किरहेका छन् परदेशी ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गएको १५ दिनमा मात्रै वैदेशिक रोजगारीबाट फर्किनेको सङ्ख्या २० हजार पुगेको छ । फर्किनेहरुको सङ्ख्या यस्तै रहने हो भने दशैँको दिनसम्म २५ हजार नाघ्ने विभागका निर्देशक कुमार दाहालले बताउनुभयो ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया