साउदीमा अर्काको गाई फार्ममा काम, नेपाल फर्केर आफ्नै डेरी र गाई फार्म

 माघ ११, २०७७ आइतबार १४:४३:५८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – हुन त वैदेशिक रोजगारीमा जानुको उद्देश्य धन कमाउने नै हो । तर धन कमाउने सँगसँगै त्यहाँ विभिन्न सीप सिकिन्छ । नयाँ कामको नयाँ अनुभव बटुल्न पाइन्छ । परदेशबाट फर्केर आउँदा कसैले केही न केही नयाँ सीप सिकेरै आएका हुन्छन् । तर त्यो सीपको नेपालमा कसैले प्रयोग गर्छन् भने कसैले गर्दैनन् । 

कति त विदेशमा सिकेको सीपको नेपालमा प्रयोग गरेर उद्यमी पनि भएका छन् । यिनै मध्येका एक हुनुहुन्छ, इलाम माङ्सेबुङ–२ का राजु राई । विदेशको अनुभव प्रयोग गर्दै घरदेशमै जाँगर चलाएर राई स्थापित कृषक बन्नुभएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा विं सं. २०६५ सालमा राजु साउदी पुग्नु भयो । त्यहाँको अलमाई कम्पनीमा ६ वर्ष पसिना बगाउनु भयो । उहाँले त्यहाँ गाई फार्ममा काम गर्नुहुन्थ्यो । काम गर्दै जाँदा राजुले त्यहाँ गाई फार्मको बारेमा आधारभूत ज्ञान हासिल गर्नुभयो । त्यहाँ सिकेको सीप लिएर राजु २०७० सालमा नेपाल आउनु भयो । आर्थिक संकटमा परेर परदेशिनु उहाँका लागि एक अवसर जस्तै बन्न पुग्यो । अन्ततः २०७४ मा उहाँले १२ लाख रुपैयाँ लगानी गरेर ‘अनुग्रह गाईफार्म’ स्थापना गर्नु भयो । 

‘विदेश नगएको भए म कहाँ यो स्थानमा पुग्थेँ र ?, मैले जे गरेँ विदेश गएर ठीक गरेँ’, राजु भन्नुहुन्छ, ‘त्यहाँबाट सिकेको सीपले नै आज मैले गाईफार्म चलाइरहेको छु ।’

राजुले सुरुमा विराटनगर, काकडभिट्टा लगायतका ठाउँबाट ‘होलेस्टिन’ जातका गाई किन्नु भयो । पाँचवटा गाईबाट थालनी गरेको गाई फार्ममा अहिले १४ माऊ गाई र तीन भैँसी गरी १७ वटा गाईभैँसी छन् । ३० रोपनी जग्गा भाडामा लिनुभएको छ । यसका लागि वार्षिक एक लाख रुपैयाँ खर्च हुन्छ । अहिलेको उहाँको लगानी गाई फार्ममा मात्रै १८ लाख रुपैयाँ पुगेको छ । फार्मबाट प्रतिदिन एक सय २० लिटर दूध उत्पादन हुन्छ ।

बजार नपाएर दूध खेर नजाओस् भनेर उहाँ आफैले दुईवटा डेरी पनि खोल्नुभएकाे छ । आफैले गाउँलेबाट दूध संकलन गरेर डेरी सञ्चालन गर्नुभएकाे हाे । डेरी पनि खुलेपछि उहाँलाई उत्पादित दूध बिग्रेर जाने चिन्ता भएन । दूध नबिके पनिर, छुर्पि, दही, घ्यू बनाएर बेच्ने गर्न थाल्नुभयो । अहिले उहाँले आफ्नो डेरीमा हरेक दिन गाउँबाट पाँच सय लिटर दूध संकलन गर्नुहुन्छ । आफ्नो व्यवसाय सँगसँगै उहाँले गाउँका अरु कृषकहरुलाई पनि बजारको लागि सघाइरहनुभएको छ । उहाँको डेरीबाट उत्पादित सामान विराटनगर, चितवन, काठमाण्डौसम्म पनि पुग्ने गरेका छन् ।    

ढुवानीको समस्या

कच्ची सडक तथा यातायातको राम्रो व्यवस्था नहुनुले राजुलाई उत्पादित वस्तु ढुवानीमा केही समस्या हुने गरेको छ । 

‘आफ्नो गाडी नहुँदा ढुवानी खर्च मात्रै ४० हजार रुपैयाँ लाग्छ, व्यवस्थापन गर्न भने निक्कै गाह्रो छ,’ उहाँको यस्तै अर्काे समस्या पनि छ, 'ग्रामिण क्षेत्र भएकाले बिजुलीको सुविधाबाटसमेत वञ्चित बन्नु परेको छ ।'

ढुवानी सहज हुँदो हो त डेरी र गाई फार्ममा नयाँ प्रविधिको प्रयोग गर्ने मन छ राजुलाई । तर खर्च अभावका कारण मन भए पनि अभावैमा सञ्चालित छन्, गाई फार्म र डेरी । उल्टै कोरोनाको बेला घाटा बेहोर्नुपर्यो राजुले । कोरोना भाइरसका कारण नेपालमा बन्दाबन्दी भयो । उत्पादित सामानको बिक्री भएन । बिक्री भए जति पनि सबै उधारो । लकडाउनमा उधारो गएकाको अझै पनि रकम उठेकाे छैन । गुनासो पोख्दै उहाँ भन्नुहुन्छ, ‘छ लाख रुपैयाँ घाटा भयो ।’

गाउँमै पाँच जनालाई रोजगारी 

कतिका लागि परदेश दुःख गर्ने थलो मात्र बन्छ भने कतिका लागि भविष्यकाे नयाँ मार्ग बनिदिन्छ । सुन धितो राखेर त्यतिबेला परदेश गएकोमा अहिले कुनै पछुतो लाग्दैन राजुलाई । साउदीले नै राजुलाई गाईफार्म सञ्चालन गर्ने आँट दियो । उहाँ भन्नुहुन्छ, ‘नेपालमै बसेको भए गाई फार्म खोलेर अरुलाई रोजगारी दिन्छु भन्ने सोच्नु सपनाको कुरा हुन्थ्यो होला ।’

राजुले गाउँमै पाँच जनालाई रोजगारी दिनु भएको छ । जसमा दुई महिला र तीन पुरुष छन् । आफ्नै गाउँका दुई जना छन् भने तेह्रथुमका तीन जना छन् । जसमध्ये एक जना वैदेशिक रोजगारीबाट फर्किएका हुनुहुन्छ । काम गर्नेलाई उहाँले राम्रो तलब र सुविधासमेत उपलब्ध गराउनु भएको छ । महिनाको तलब बढीमा २० हजार कममा १७ हजार रुपैयाँ दिइएको छ । जसमा पाँच हजार रुपैयाँ उपचार खर्च छ । खान बस्न भने निःशुल्क गरिएको छ । कोरोनाको मारमा पनि तलब पाउनु, गाउँमै रोजगारी मिल्नु र काम अनुसारकै तलब पाएकोमा कामदारहरु पनि खुशी छन् ।

व्यवसायलाई फैलाउँदै लैजाने सोच

राजुलाई जिल्ला पशु सेवा कार्यलयले २०७५ सालमा सम्मान गर्यो । ‘उत्कृष्ट गाई फार्मका रुपमा सम्मानित बन्न पाउदा ओहो ! मैले केही गरेछु है भन्ने लाग्यो, एकदम खुशी भएँ नि’, उहाँ भन्नुहुन्छ । तर राजुलाई यतिमै सिमित रहन मन छैन । आफ्नो व्यवसायलाई फैलाउँदै लैजाने सोच बनाउनुभएको छ उहाँले ।

पछिल्लो समय राजुले सुँगुर फार्म समेत सञ्चालनमा ल्याउनु भएको छ । सुँगुर फार्ममा अहिले १० वटा सुँगुर छन् । तरकारी र फलफूल बाली पनि छ । कागती, सुन्तला, एभोकाडो, उन्नत जातका घाँस (सिओ थ्री, नेपियर, सुपरनेपियर, किम्बु) लगायतलाई उहाँले वैकल्पिक आय स्रोतका रुपमा खेती गरिरहनु भएको छ । यत्ति गर्दा समेत प्रविधि निकट नँया मेसिन जडान गर्न नसकेकाले थप व्यावसायिक बन्न नसकेको उहाँ गुनासो पोख्नुहुन्छ । 

‘समाजसेवी भनेर चिन्छन्, खुशी लाग्छ’

राजु गाईफार्म र डेरी सञ्चालकका रुपमा मात्रै नभएर समाजसेवीका रुपमा पनि चिनिनु हुन्छ । गाउँका विपन्न परिवारका चार जना नानीहरुलाई पालनपोषण र पढाइको जिम्मा आफैले लिनु भएको छ राजुले । 
‘उनीहरुका बुवाआमा छैनन् । त्यही भएर सहयोग गरेको हुँ’, राजुले भावुक हुँदै भन्नुभयो, ‘अनाथ बालबालिका देख्यो भने सकेको सहयोग गरौँ भन्ने हुन्छ, नदेखेझैं गरेर भाग्न मन लाग्दैन ।’

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया