‘देश र घरपरिवारको माया नभएर खाडी आएका हैनौं’

 चैत २, २०७७ सोमबार १६:७:५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

तस्बिर : एएफपी

विक्रम सिंह बिष्ट/दार्चुला, हाल कुवेत ।

वैदेशिक रोजगारीका अनेक विषयलाई लिएर नेपालमा अनेक तर्क वितर्क चल्छन् । यस्ता तर्क वितर्क गरिरहँदा केही मानिसहरु आफूहरुलाई अथाह बौद्धिक ठान्छन् । उनीहरुलाई लाग्छ, आफूमा जत्तिको खुबी अरु कसैमा छैन । आफ्नो कारणले अरुको भावनालाई चोट पुगेको उनीहरुलाई मतलब नै हुँदैन ।

हो, कोही बौद्धिक होलान् । कोही नहोलान् । बौद्धिक व्यक्तिप्रति हामी परदेशीहरुको मनमा सधैँ सम्मान रहिरह्यो । तर केही आफूलाई उपल्लो तहको बौद्धिक ठान्नेहरुले अरुको आत्मसम्मानमा चोट पुर्‍याएको देख्दा भने हामीहरुको मन कुँडिएर आउँछ ।

लाखौं नेपाली नागरिक परदेशिएका छन् । परदेशमा उनीहरु सामान्य कामदारदेखि माथिल्लो ओहोदासम्म काम गरिरहेका छन् । कोही व्यवसाय पनि सञ्चालन गरिरहेको छन् ।

परदेशिनु कसैको रहर होइन । न त देशलाई घृणा गरेर नै कोही खाडीको तातो हावा खान गएका हुन् । नेपालको अर्थतन्त्र कमजोर हुनाले जीविकोपार्जन गर्नको लागि परदेश बाध्यता बनेको छ । एक नियति बनेको छ । कुरा काट्नेले त देशको माया नभएर गएको भन्लान् । तर देशको अर्थतन्त्र र फोहोरी राजनीतिले जीवन धान्न धाै-धौ हुँदा परदेशिनुको पीडा कमैले बोध गर्लान् ।  

हो यही प्रसंगकाबीच चल्छन्, बौद्धिक वर्गका अस्वस्थ तर्कहरु । नेपालमा बसेका केही थान बौद्धिक मान्छेहरुले परदेशिनुको वास्तविकता भन्दा पर गएर आफूलाई उत्कृष्ट देखाउने अंहकार झल्काउँछन् । उनीहरुले परदेशिएका नेपालीहरुले देशको बेइज्जत गरे भन्ने कूतर्क गर्छन् । ‘परदेशमा भाँडा माझे’ भन्छन्, ‘डण्डा बजाए’ जस्ता घृणित् आरोप लगाउँछन् ।

यसरी परदेशिएका नेपालीहरुलाई अनेक आरोप लगाउने, आत्मसम्मानमा चोट पुर्याउनेहरुले यो पनि बुझ्नुपर्छ कि, नेपाल चल्नको लागि विदेशी मुद्राको आवश्यकता पर्छ । त्यसको लागि अहिले नेपालमा के भइरहेको छ त ? हामीहरुजस्तै परदेशीहरुले पठाएको रेमिटेन्सबाहेक अरु के छ नेपालसँग विदेशी मुद्रा आर्जन गर्ने सशक्त बाटो ? न पर्यटन क्षेत्रले आर्थिक क्रान्ति ल्याउन सकेको छ, न ठूलो मात्रामा उद्योगधन्दा छन् । न त भएका खनिजहरुको उत्खनन् गरेर नै विदेशी मुद्रा आर्जन गर्न सकेको छ ।

विदेशी अनुदान, ऋण र केही भए पनि पर्यटन आदिबाट विदेशी मुद्रा देशमा भित्रिन्छ । नेपालको सन्दर्भमा निर्यात नगन्य मात्रामा छ । हरेक वर्ष वार्षिक अर्बौं घाटा व्यहोर्दै आएका छौँ ।

राज्य सञ्चालन गर्नको लागि सालाखाला सोह्र सत्र अर्ब रुपैयाँँको जरुरत पर्दछ । तर राजस्वबाट नौ अर्ब मात्रै असूल हुन्छ । अर्थतन्त्रको यस्तो दर्दनाक अवस्थामा लाखौं नागरिक परदेश नआएको अवस्था थियो भने आज धेरैको मुखमा एक गाँस अन्न लाग्दैन थियो । भोकमरी, हाहाकार भएर लुटपाट हुने, चोरी डकैती हुने, मान्छेहरु अराजक भएर राज्यलाई शान्ति सुव्यवस्था कायम गर्न हम्मेहम्मे पर्ने थियोे ।

वस्तुगत स्थितिलाई नबुझेरै प्याच्च जे आयो त्यही लेख्ने, बोल्नेहरुलाई हामी भन्न चाहन्छौँ, ‘अर्काको देशमा भाँडा माझ्नुमा हामीलाई गर्व अनुभूति हुन्छ, हामी हात फैलाएर बसेका छैनौं, खलखली पसिना बगाएर बसेका छौँ ।’

नेपालमा बसेर अरुको चाकडी गर्नुभन्दा, नेपालमा बसेर अरुको झोला बोक्नुभन्दा, नेपालमा बसेर सर्वसाधरण मानिसहरुलाई आफ्नो पहुँच तथा राजनीतिक शक्तिको धाक लगाएर हिरो पल्टिनुभन्दा आफ्नै बलबुतोमा आत्मसन्तुष्टिको साथ जीविकोपार्जन गर्नुमा मज्जा छ । यसैमा हामीलाई गर्व छ ।

हामी बिचौलिया काम गर्ने, कसैको गोट्टी बन्ने तथा चाप्लुसी गर्ने खुबी नभएर परदेशिएका हौँ । किनकि हामी अरुको सम्मान र इमान गर्ने मान्छे हौँ । हामी अरुलाई नीच देखाएर आफू उच्च कोटीको बन्न खोज्दैनौँ । त्यसैले हामी अर्काको देशमा जे काम भए पनि गर्छौँ ।

किसान ,मजदुरको अधिकारको लागि नेपालमा राजनीतिक उथलपुथल भएका छन् । आजको दिनमा नेपालले वैज्ञानिक समाजवादको बाटो लिने सपना समातेको छ । यस्तो उर्वर समयमा परदेश भाँसिएका मजदुर, किसानहरुलाई होच्याउने प्रवृत्ति देखाउनेहरुले कम्तिमा नेपालमा भएका राजनीतिक आन्दोलनहरुको अभिप्राय बुझ्नुपर्ने हो ।

विदेशमा भएका नेपालीहरुले नेपालमा भएका तथा घटेका समसामयिक विषयवस्तुमा बोल्दा लेख्दा, कथित् बौद्धिक वर्गहरुबाटै ‘अर्काको देशमा भाँडा माझ्न गएकाहरुले धेरै चर्चा गर्छन्’ भन्ने गरेको पनि सुनिन्छ । 

के अर्काको देशमा भाँडा माझ्ने नेपाली नागरिकलाई आफ्नो देशको बारेमा चिन्ता गर्ने अधिकार छैन ? के परदेशीलाई आफ्नो देशको समसामयिक विषयमा बोल्ने–लेख्ने अधिकार छैन ? के परदेशीएका नेपालीहरुले जसले जे भन्यो त्यसैमा हो मा हो मिलाउने हो ? आधा करोड परदेशिएकाहरुको अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्ने तपाईंहरुको यो कस्तो संकिर्ण सोचाइ हो ? 
 

1 Comments

तपाईको प्रतिक्रिया