दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

 चैत २२, २०७७ आइतबार १०:१:३२ | रासस
unn.prixa.net

काठमाण्डाै - दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।

यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाएर सूचना जारी गर्नुका साथै काेरियामा रहेकाे नेपाली राजदूतावासमा समेत पत्र काटेर त्यस नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ ।

न्याय मन्त्रालयको पत्रअनुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपालीहरूलाई त्यस कुरा जानकारी गराएको छ । विशेषगरी ईपीएस माध्यमद्वारा ई नाइन भिसामा आउने नेपाली श्रमिकको सुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो । 

यो नियम आउँदाे जुलाई १ तारिखदेखि लागू हुँदैछ । कोरियामा एफ फाइभ, एफ टू फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसाबाहेक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आउँदाे डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ ।

सन् २०२० मा मात्र १६ हजार १३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागू भएपछि दक्षिण कोरियामा रहेका विदेशीहरुलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ ।

विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ ।

तपाईको प्रतिक्रिया