कोरोना महामारी : यस्तो छ खाडी र मलेसियाको खबर

 बैशाख २, २०७८ बिहिबार १७:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अघिल्लो वर्ष, २०२० को मार्चदेखि सुरु भएको कोरोना महामारीले गएको नोभेम्बरसम्म विश्वभरि एकप्रकारको त्रास बनाइराख्यो । त्यो समय सामाजिक, आर्थिक हिसाबले कमजोर रह्याे । कोरोनाको कहरकाबीच धेरैले रोजगारी गुमाए । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु पनि यसबाट आतंकित बने ।

बिस्तारै कोरोनाविरुद्धका खोपहरु आए । मानिसहरुमा केही आशाका किरण जागे । लामो समयसम्म लकडाउन भोगिरहेका देशहरुले लकडाउनलाई आफूअनुकूल खुकुलो पार्दै लगे । मानिसको जीवनशैली एक प्रकारले सामान्य हुँदै गयो । तर पछिल्लो समय युरोपेली देशबाट सुरु भएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)ले सामान्य अवस्थामा फर्केको कोरोना कहरलाई फेरि ब्युँताइदियो । यसले नेपालीहरुको वैदेशिक रोजगारीको गन्तव्य देश विशेष गरी मलेसिया र खाडीका देशमा पनि असर गरेको छ । त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरु यसबाट प्रभावित भएका छन् । ती देशहरुले आफ्ना नयाँ रणनीतिहरु तथा स्वास्थ्यका मापदण्डहरु अघि सारेका छन् । कति देशले उडान बन्द गरेका छन् भने कतिपय देशमा पहिलेजस्तै कम्पनी बन्द छन् । श्रमिक कोठाभित्र थन्किएका छन् । समग्रमा यी देशहरुको पछिल्लो अवस्था यस्ताे छ :

मलेसियामा जनवरी १३ देखि संकटकाल लागू भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि त्यहाँको सरकारले जनवरी १३ देखि संकटकाल घोषणा गरेको हो । ६ महिनाको लागि भनेर तोकिएको संकटकाल कोरोनाको अवस्था सामान्य भएपछि बीचमा पनि खोल्न सक्ने जनाइएको थियो । तर पछिल्लो समय लकडाउन खोल्ने नखोल्ने बारेमा केही पनि जानकारी नमिलेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । यो समयमा सतर्कता अपनाउन र मलेसिया सरकारले निर्देशन गरेका मापदण्डको पालना गर्न दूतावासले आग्रह गरको छ ।

मलेसियामा ३ लाख ६७ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । मलेसियामा संक्रमण दर बढीरहेको देखिन्छ । यस्तै संक्रमणमुक्त हुने दर पनि बढी नै छ । अहिलेसम्म मलेसियामा ३ लाख ४९ हजार बढी निको भइसकेका छन् । मलेसियामा अहिलेसम्म कोरोनाका कारण एक हजार ३ सय ६३ जनाले ज्यान गुमाइसकेका छन् ।

यूएईमा पनि पछिल्लो समय कोरोनाको नयाँ भ्येरियन्टको असर देखिएको छ । यूएईले लकडाउन भने गरेको छैन । व्यापारिक क्रियाकलापहरु सामान्य रुपमा चल्दै आएका छन् । तर स्वास्थ्यका मापदण्डहरु भने अनिवार्य गरिएको छ ।

यूएईले स्वदेशी तथा विदेशी नागरिकलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराएको छ । यूएई सरकारले कोरोना विरुद्धको भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा उपलब्ध छ । यूएईमा रहेका नेपाली नागरिकले पनि ती केन्द्रमा गएर भ्याक्सिन लगाउन सक्ने दूतावासले जनाएको छ ।

यस्तै अहिले रमजानको बेला यूएईमा नियम भने कडाइ गरिएको छ । एउटै परिवारका बाहेक अरुसँग बसेर खान खान पाइने छैन । यस्तै ईफ्तार टेन्ट राख्न नमिल्ने जनाइएको छ । यस्तै भण्डारा गर्न, चन्दा दिन पनि रोक लगाइएको छ ।

यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण पालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन यूएईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । 

यूएईमा चार लाख ८९ हजार ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको  छ भने अहिलेसम्म ४ लाख ७३ हजारभन्दा बढी संक्रमणमुक्त भइसकेका छन् । यूएईमा कोरोनाका कारण १५ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय यूएईमा कोरोना संक्रमणदर न्यून छ ।

साउदीले पनि कोरोनाको सङ्क्रमण बढेसँगै व्यापारिक गतिविधिमा रोक लगाएको छ । मल तथा रेस्टुरेन्टहरुमा मानिसहरुको संख्या सीमित गरिएको छ । साउदीमा पनि त्यहाँका नागरिक लगायत आप्रवासीहरुलाई कोरोनाको खोप प्रदान गरिँदै आएको छ । अहिलेसम्म ६५ लाख मानिसलाई खोप लगाइसकेको साउदी सरकारले जनाएको छ ।

साउदीले पूर्णतया लकडाउन भने लागू गरेको छैन । तर कोरोना नियन्त्रणको लागि मापदण्डहरुको कडा पालना गर्नुपर्ने नियम भने लगाएको छ । साउदीले कोरोना नियन्त्रणको लागि भनेर आफ्ना अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । मे १७ देखि मात्र उडान खुला गर्ने जनाएको छ ।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै साउदीमा क्लिनिकहरुले कोरोनासम्बन्धी उपचारको सेवा दिँदै आएका छन् । सबै क्लिनिकहरुलाई कोरोना परीक्षण केन्द्र तथा उपचार केन्द्र बनाइएका छन् । त्यहाँ गएर जो कसैले पनि पीसीआर परीक्षण गर्न सक्छन् । अहिलेसम्म लाखौँले सेवा लिइसकेका साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

साउदीमा अहिलेसम्म चार लाख एक हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ लाख ८५ हजारभन्दा बढी निको भइसकेका छन् भने ६ हजार ७ सय जनाको ज्यान गएको छ ।

कोरोनाको दोस्रो भ्येरियन्टको जोखिम बढेसँगै कतारमा पूर्ण लकडाउन सुरु भएको छ । सुरक्षाका मापदण्डमा पनि थप कडाइ गरेको छ । मार्च २६ देखि लागू गरेका मापदण्डमा कतारमा निजी तथा सरकारी क्षेत्रका बैठकहरुमा पाँच जनाभन्दा बढी उपस्थित हुन रोक लगाएको थियो । फेरि कोरोना नियन्त्रण बाहिर जान थालेपछि अप्रिल ७ देखि लकडाउनमा कडाइ गरेको छ । अहिले व्यापारिक भवनहरुमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरिएको छ ।

कतारमा रहेका सबै सार्वजनिक पार्क, सार्वजनिक समुद्री किनार, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु पनि बन्द हुने छन । यस्तै प्रकारका अन्य सार्वजनिक स्थलमा एकै परिवारका दुई जनाभन्दा बढी जान रोक छ । सिनेमा हल, ब्युटी पार्लर, रेस्टुरेन्टहरु पूर्ण बन्द गरिएका छन् । यस्तै कतारले निजी अस्पतालका इमर्जेन्सी सेवा बाहेकका सबै सेवा बन्द गर्न समेत निर्देशन दिएको छ ।

कुनै कामका लागि पनि घरबाट बाहिर निस्किँदा एटेराज एप्लिकेशन अनिवार्य मोबाइलमा राख्न कतार सरकारले निर्देशन दिएको छ । निर्देशनको पालना नगरेमा कडा कारबाही हुने भन्दै त्यहाँ रहेका नेपालीहरुलाई निर्देशनको पालना गर्न दूतावासले आग्रह गरेको छ ।

कतारमा अहिलेसम्म १ लाख ९२ हजार बढी कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये एक लाख ७१ भन्दा बढी निको भइसकेका छन् भने अहिलेसम्म कोरोना संक्रमित ३ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

ओमानमा इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानकाे अवभिभर अर्थात् अप्रिल १२ देखि मे १२ सम्म  लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाएको छ ।

यस्तै ओमानमा मस्जिदहरूमा जम्मा भएर गरिने प्रार्थनामा प्रतिबन्ध लगाएको छ । मस्जिद लगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला गर्न प्रतिबन्ध लगाएको छ । रमजानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुद लगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न पनि प्रतिबन्ध लगाएको ।

यस्तै ८ अप्रिलदेखि लागू हुने गरी ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूलाई मात्र ओमान प्रवेश खुला राखिएको छ भने अन्य विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । ओमानमा एक लाख ७६ हजार ६ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक लाख ५६ हजार आठसय जना निको भइसकेका छन् । यस्तै संक्रमित एक हजार ८ सय जनाको ज्यान गएको छ ।

कोरोना सङ्क्रमण बढेसँगै कुवेतमा अप्रिल २२ तारिखसम्मको लागि रात्रिकालीन कफ्र्यु लागू गरेको छ । बढ्दो संक्रमणलाई रोकथाम गर्न र यसबाट जोगिन स्थानीय सरकारको तर्फबाट स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका लागि अपनाउनुपर्ने उपायहरू पालना गर्न अनुरोध हुँदै आएको छ ।

त्यसैले बढ्दो संक्रमणबाट आफू पनि बच्न र अरूलाई पनि संक्रमित हुनबाट बचाउन सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, मास्क तथा पञ्जाको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न कुवेतमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

कुवेतमा दुई लाख ५१ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ३५ हजार निको भइसकेका छन् भने संक्रमित एक जार ४ सय २३ जनाको ज्यान गएको छ ।

बहराइनमा अहिले व्यापारिक क्रियाकलापहरुलाई केही खुकुलो गरिएको छ । अर्को सूचना नआएसम्मको लागि घरभित्र या बाहिर ३० जना भन्दा बढी भेला नहुन बहराइन सरकारले निर्देशन गरेको छ । सरकारी क्षेत्रमा पनि ७० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न दिइएको छ ।

बहराइनमा रमजानको बेला मस्जिद खोलिएका छन् तर कोरोनाको खोप लगाएका व्यक्तिलाई मात्र मस्जिदभित्र प्रवेश गर्न दिने नियम लगाइएको छ । मस्जिदभित्र गएर प्रार्थना गर्नको लागि कोरोनाको खोप लगाएको प्रमाणपत्र अथवा कोरोना निको भएको प्रमाणपत्र साथमा हुनुपर्नेछ ।

बहराइनमा स्वास्थ्य मापदण्ड अपनाएर व्यापारिक क्रियाकलाप सामान्य रुपमा नै चलिरहेका छन् । बहराइनमा अहिलेसम्म एक लाख ५९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ४८ हजार जना निको भइसकेका छन् भने ५ सय ६९ जनाले ज्यान गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया