खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल

 बैशाख २२, २०७८ बुधबार १३:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कटको संयोजनमा हिजो मंगलबार खाडी लगायतका देशमा रहेका नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा एक वेबिनार सम्पन्न भएको हो । 

वेबिनारमा पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा छलफल भएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले संयोजन गर्नुभएको कार्यक्रममा नेपाली दूतावास, रियादका राजदूत डा महेन्द्रप्रसाद सिंह राजपूत, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाज र यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको सहभागिता थियो । यस्तै इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकाको लागि नेपाली राजदूत डा निर्मलकुमार विश्वकर्मा र इजिप्टको लागि नेपाली उप-नियोग प्रमुख दिपक घिमिरे लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमका सहभागीहरूले आफू कार्यरत देशमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका  लागि ती देशहरुले चालेका प्रभावकारी कदमहरू तथा खोपको उपलब्धता र त्यसको प्रभावकारिताको सम्बन्धमा आआफ्ना अनुभवहरू साझा गर्नुभयो ।

साथै सहभागीहरूले नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न देशहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा त्यहाँ रहेका नेपाली समुदायमा पर्ने प्रभावको सम्बन्धमा पूर्व सूचना, तयारी, उद्धार तथा राहत सम्बन्धमा आआफ्नो भनाइ राख्नुभयो । 

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ठूलो संख्यामा नेपाली श्रमिक रहेका देशबाट स्वास्थ्य सतर्कताका मापदण्ड कडाइका साथ पालन गर्ने र गराउने गरी यथासक्य चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यस्तै राजदूत नारदनाथ भारद्वाज तथा अञ्जान शाक्यले कोरोनाको निगरानी गर्न तथा रोकथामका लागि विभिन्न देशहरूले प्रयोगमा ल्याएका मोबाइल एपहरू महामारी नियन्त्रणमा सान्दर्भिक तथा प्रभावकारी देखिएकाले नेपालले पनि त्यस्तै प्रकारको एपहरू विकास गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा राजदूत शर्मिला पराजुलीले कोरोना महामारी नियन्त्रणका लागि  प्रभावकारी उपायहरू अवलम्बन गर्दै अर्थतन्त्रलाई चलायमान बनाइ राख्न आर्थिक कूटनीति सञ्चालनको जिम्मेवारीलाई पनि साथसाथै अगाडि बढाउनु पर्न कुरामा जोड दिनुभयो ।
 

तपाईको प्रतिक्रिया