‘विदेश फापेन’, देश फर्किएर घुम्ती गोठमा भेडापालन

 जेठ २५, २०७८ मंगलबार १६:१३:३३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – शिरमा ढाका टोपी । पातलो ज्यानमा टिसर्ट अनि टिसर्टमाथि हाफ ज्याकेट । खुट्टामा गम बुट र साथमा बक्खु । उहाँ हुनुहुन्छ, दोर्दी गाउँपालिका ५ पाचोकका कुमार गुरुङ । 

बाउ–बाजेको घुम्ती गाईभैँसी गोठ, घुम्ती गोठमै लेक र बेसी गर्दै बित्यो उहाँको किशोरावस्था । उमेर बढ्दै गयो, सँगै जिम्मेवारी पनि थपिँदै गयो । घर–व्यवहारले च्याप्दै लगेपछि विदेश जाने, पैसा कमाउने इच्छा जाग्यो उहाँमा । घर–परिवारको सुख र खुसीको सपना मुटुभरि साँचेर परदेश लाग्नुभयो कुमार गुरुङ । 

सोचेजस्तो भएन विदेश, भेडाबाख्रा पाल्न फर्किए आफ्नै देश

कुमार परदेश त जानुभयो तर खाडीमा सोचेजस्तो काम र कमाइ भने भएन । परदेशको दुःख भन्दा त बरु गाउँमै फर्की घुम्ती गोठमा भेडाबाख्रा पाल्नु जाती लाग्यो उहाँलाई । 

‘विदेश त गइयो । विदेश फापेन’, उहाँले स्मरण गर्नुभयो, ‘परदेश त यस्तै भयो, अब गाउँ फर्की घुम्ती गोठमै भेडाबाख्रा पाल्छु भन्ने सोचेर विदेश गएको १० महिनामै गाउँ फर्की आएँ ।’

गाउँ फर्किएसँगै गुरुङले परिवारको सल्लाहमा बाउ–बाजेको बिँडो थाम्दै घुम्ती गोठमा भेडाबाख्रा पाल्ने सोच बनाउनुभयो । ‘जागिर, कमाइ थिएन । गुजारा त चलाउनैपर्‍याे’, इलमपोखरीमा रहेको बिसौनीमा भारी बिसाउँदै उहाँले भन्नुभयो’, ‘त्यसैले विदेशबाट फर्किएपछि घुम्ती भेडीगोठमा भेडाबाख्रा पाल्न थालेँ ।’ 

अहिले उहाँले घुम्ती गोठमै भेडाबाख्रा पाल्दै आउनुभएको छ । उहाँको गोठमा आफ्नो र अरुको गरी दुई सय हाराहारीमा भेडाबाख्रा पालिएको छ । 

गोठ सर्दा समस्या

भोक, तिर्खा, घामपानी, असिना पानी, हिउँ, हुरी बतासको बेवास्ता गर्दै गोठमा पालिएका भेडाबाख्राको बथान लिएर उहाँ बर्सेनी लेक र बेसी गरिरहनुहुन्छ । गोठ सर्दा निकै समस्या हुने उहाँ बताउनुहुन्छ ।
‘भेडाबाख्रा चराउँदै जाँदा कहाँ पुगिन्छ टुङ्गो हुँदैन । लेक र बेसी गरिरहनुपर्छ’, उहाँले भन्नुभयो ।

माथिल्लो क्षेत्र (लेक) मा पुग्दा वर्षा हुँदा, हिउँ पर्दा भेडाबाख्रा चराउन, दाउरा, पानीको जोहो गर्न निकै सकस हुने उहाँ बताउनुहुन्छ । ‘गोठ सर्दा दाउरा, पानी रातको समयमा उज्यालोको साह्रै समस्या हुन्छ’, उहाँले भन्नुभयो ।

घुम्ती गोठ : दुःख धेरै तर मनग्य आम्दानी

भेडी गोठमा सारै दुःख छ तर दुःख गरेअनुसारको कमाइ पनि राम्रै छ । विदेशमा गर्ने दुःख यतै गरेमा राम्रो आम्दानी गर्न सकिने, गुजारा चलाउन सकिने उहाँ बताउनुहुन्छ । ‘घुम्ती गोठका दुःख भनेर साध्य छैन तर विदेशमा गर्ने दुःख यहीँ गर्न सके, गोठमा गाईभैँसी, भेडाबाख्रा पाल्न सके कमाइ पनि राम्रै हुन्छ,’ उहाँले भन्नुभयो ।

उत्पादन सजिलै बिक्री

घुम्ती गोठबाट वार्षिक झण्डै दुई लाख हाराहारीमा आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । गोठका उत्पादन सजिलै बिक्री हुने कुमार गुरुङ बताउनुहुन्छ । ‘गोठमा उत्पादित दूध, घिउका साथै भेडा, खसीबोका सजिलै बिक्री हुन्छ । उत्पादन किन्नका लागि गोठमै आउँछन्’, उहाँले थप्नुभयो, ‘उत्पादन मात्रै हुनुपर्यो, उत्पादन नबिक्ला भन्ने चिन्ता नै हुँदैन । सजिलै बिक्छ उत्पादन ।’

घुम्ती गोठ हराउँदै

घुम्ती गोठमा पशुपालन गर्न सके यसैबाट गुजारा चलाउन सकिन्छ । तर अहिले विदेश जानेको सङ्ख्या बढ्दै गएकाले घुम्ती गोठमा पशु पाल्ने परम्परा हराउँदै गएको उहाँ बताउनुहुन्छ ।

‘पहिले विदेश नखुल्दा घुम्ती गोठमा गाईभैँसी, भेडाबाख्रा पाल्थे । खेतीपाती गर्थे’, उहाँले भन्नुभयो, ‘अहिले त विदेश खुल्यो । सबै उतैतिर लाग्छन्, खेतबारी बाँझै छन् । घुम्ती गोठ हराउँदै गयो नि !’ उहाँका अनुसार दुःख धेरै हुने भएकाले घुम्ती गोठ हराउँदै जान थालेका छन् । यसमा युवापुस्ताको खासै चासो छैन ।

‘युवापुस्ताको चासो नै छैन । पाको पुस्ताले मात्रै घुम्ती गोठमा पशु पालिरहेका छन्’, घण्टौँको उकालो बाटो हिँडेपछि हिमाल नजिकै रहेको खरमनी खर्कमा रहेको आफ्नो घुम्ती गोठमा पुगेपछि भारी बिसाउँदै उहाँले भन्नुभयो ।

थप सरकारी सहयोग आवश्यक

परम्परागत घुम्ती गोठलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सकेमा यसबाट राम्रो कमाइ गर्न सकिने गुरुङ बताउनुहुन्छ । 

घुम्ती गोठ सञ्चालनमा धेरै समस्या रहेको उहाँ सुनाउनुहुन्छ । गोठका लागि आवश्यक सोलार, त्रिपाल लगायतका सामग्री भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका साथै पालिकाले उपलब्ध गराउँदै आएको छ । 

‘सोलार त्रिपाल त पाइरहेका छौँ । सरकारले ठाउँ–ठाउँमा गोठ बनाइदिएमा सजिलो हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘घुम्ती गोठका लागि अझै सरकारी तवरबाट आवश्यक साथ र सहयोग जरुरी छ ।’   

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया